स्याङ्जा, १६ मंसिर– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा विकास हुने बताएकी छन् । सोमबार गल्याङ–१ मालुङ्गा, वालिङ र भिरकोटमा अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले भनिन्, ‘पहुँचको आधारमा निवेदन चढाएको आधारमा विकास हुँदैन । जहाँ आवश्यकता छ त्यहाँ विकास हुन्छ ।’
वर्तमान सरकार नमुना सरकारको रुपमा अगाडि बढेको भन्दै उनले विगतभन्दा अहिलेको सरकार विकासको गतिमा हिँडेको बताइन् । विकासको वर्गीकरण गरेर संघ, प्रदेश र स्थानीय तिनै सरकार बीचको समन्वयमा विकास हुने उनको भनाइ थियो। ‘सरकार तीव्र विकासको गतिमा हिँडेको छ । यो हामीले मात्र भनेका हौइनौँ यो त अन्तर्राष्ट्रिय मूल्यांकनले नै भनेको छ’, उनले भनिन् ।
आज स्वास्थ्य क्षेत्रमा ऐतिहासिक दिन भएको भन्दै मन्त्री अर्यालले देशभर एकैचोटि ३९६ वटा अस्पतालको शिलान्यास हुनु ऐतिहासिक घटना भएको बताइन् । उनले भनिन्, ‘आज एकैदिन ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास भएको छ । स्वास्थ्य क्षेत्रमा यति ठूलो संख्यामा अस्पताल बन्न लाग्नु स्वास्थ्य क्षेत्रको क्रान्ति हो ।’





