यस वर्ष कोरोना गहिरोको प्रहारसंगै अप्रत्यासित रूपमा जाडो बढेको छ । बढ्डो जाडोको कारण बाथजन्य समस्याले पीडितहरूको लागि निकै कस्टकर भईरहेको छ ।
बाथरोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् । तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भने समान नै हो ।
रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा गिर्खाहरू देखा पर्ने, आँखा रातो हुने र दुख्ने तथा मुटु र फोक्सोलगायत शरीरका अन्य अंगहरू सुन्निने भई ज्यानै जोखिममा पर्न सक्छ । यो रोग लागेमा शरीरको रोगविरुद्ध लड्ने रोग प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले निमोनिया, छाला तथा मूत्रमार्गजस्ता अंगको संक्रमण बढी र जटिल रूपमा देखिने सम्भावना हुन्छ ।
सांसारभरिकै मानिसमा स्वास्थ्य समस्या एकपछि अर्को थपिँदै गएको पाइन्छ । पछिल्लो समय नसर्ने रोगको वृद्धिसँगै बाथ रोग पनि एक जटिल समस्याको रूपमा देखापरेको छ । यसमा पनि र्युमटोइड आर्थराईटिस भनेर चिनिँदै आएको बाथरोगको समस्याले अहिले धेरै मनिसहरू पीडित छन् । यस रोगबारे मानिसमा जानकारीको अभावले पनि रोगीहरू उपचारका लागि अलमलिरहेका देखिन्छन् । तसर्थ उपचार गर्नुभन्दा अघि यस रोगका बारेमा जान्नु जरुरी छ ।
र्युमटोइड आर्थराइटिस कस्तो रोग हो ?
र्युमटोइड आर्थराइटिस वयश्क तथा बढ्दो उमेरमा देखिने एक दीर्घ बाथरोग हो । कहिलेकाहीँ नगन्य मात्रामा स–साना बालबालिकामा पनि देखिन सक्छ । बाथरोग (आर्थराइटिस) भन्नाले शरीरका जोर्नी र यससंग सबन्धित अन्य अंग (हाड, मांसपेशी र यिनीहरूलाई एक–आपसमा जोडेर सम्बन्ध स्थापित गर्ने नशाहरू) दुख्ने, सुन्निने र जोर्नी अररो भई राम्रोसंग काम गर्न नसक्ने अवस्था बुझिन्छ ।
कसरी हुन्छ ?
विभिन्न खोज र अनुसन्धानका बाबजुद पनि यो रोगको यकिन कारण पत्ता लाग्न सकेको छैन । वैज्ञानिकहरूका अनुसार मानिसको वंशाणु र विभिन्न वातावरणीय तत्वहरूले यो रोग गराउनमा प्रमुख भूमिका खेलेका हुन्छन् ।
र्युमटोइड आर्थराइटिस जोर्नीलाई घेरेर राख्ने भित्री झिल्लीमा सुजन हुन्छ । यसले गर्दा केही महिनाभित्रै जोर्नी वरपरको कुरकुरे हाडनष्ट हुन गई जोर्नीको संरचना बिग्रन जान्छ । बालबालिकोमा भने बाथ बढदै गएर मुटु तथा फोक्सोमा असर पर्न सक्छ ।
कसरी चिन्ने ?
र्युमटोइड आर्थराइटिस नेपाली समाजमा जिउ र जोर्नी दुख्ने समस्याको एक प्रमुख कारण हो । रोगको शुरू अवस्थामा हातगोडाका जोर्नीहरू (विशेष गरी औंलाहरू, नाडी, कुहिना, कुम, घुँडा र गोलीगाँठा) दुख्ने सुन्निने र अररो हुन्छन् । बिहानपख र दिन ढल्दै गएपछि हातगोड र जोर्नीहरू कक्रक्क हुनाले चियाको गिलास समाउन, टाँक लगाउन, धारा खोल्न, ढोकाको चुकुखोल्न तथा राती सिरक तान्नसमेत अप्ठेरो हुने गर्दछ । रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा गिर्खाहरू देखा पर्ने, आँखा रातो हुने र दुख्ने तथा मुटु र फोक्सोलगायत शरीरका अन्य अंगहरूमा सुजन भई ज्यानै जोखिममा पर्न सक्छ ।
यसका दीर्घकालीन असरहरू
समयमै सही उपचार नभएमा र्युमटोइड आर्थराइटिस बढ्दै गई हातगोडाका जोर्नीहरू बिग्रने, बांगिएर कुरूप हुने तथा जाम हुने सम्भावना हुन्छ । कसै–कसैमा भने रोग लामो समयसम्म हराएर पुनः बल्झिन सक्छ, दुःखाइ पनि केही समयको अन्तरालमा घट्ने–बढ्ने भइरहन सक्छ ।
र्युमटोइर्ड फ्याक्टर के हो ?
र्युमटोइड फ्याक्टर सामान्यतया र्युमटोइड आर्थराइटिसका बिरामीको रगतमा पाइने आफ्नै शरीरको प्रतिरोधात्मक शक्तिविरुद्ध उत्पन्न भएको एक किसिमको प्रोटिन हो । यो रोगबाट ग्रसितमध्ये करिब दुई तिहाई बिरामीको रगतमा देखिने यस्तो प्रोटिन कहिलेकाहीं स्वस्थ मानिस, तथा बाथबाहेकका अन्य रोगीहरूमा पनि देखिन सक्छ । त्यसैले र्युमटोइड फ्याक्टर पोजिटिभ देखिएमा नहुने भन्ने हुँदैन । रोगको निदानमा सहयोगी मात्र हुने यो जाँच पटक–पटक गरिरहनु जरुरी पनि हुँदैन ।
यसको उपचार कसरी गरिन्छ ?
मधुमेह उच्च रक्तचाप तथा मुटुको रोग जस्तै र्युमटोइड आर्थराइटिस पनि पूर्णरूपमा निको पार्न नसकिने एक दीर्घ रोग हो । जोर्नीको सुजन कम गरी यसलाई बिग्रनबाट जोगाउनु तथा बिरामीको कार्यक्षमता एवं उत्पादनशीलतामा ह्रास आउन नदिनु यसको उपचारको मुख्य उद्देश्य हो । र्युमटोइड आर्थराइटिसको उपचारमा विभिन्न औषधिहरू, फिजियोथेरापी तथा अन्य कतिपय घरेलु प्रविधिहरूको एक्युपंचर, बस्ती रएक्कुप्रेसरसमेत प्रयोग गरिन्छ । कतिपय अवस्थामा जोर्नीको शल्यचिकित्साको पनि आवश्यकता पर्न सक्दछ ।
र्युमटोइड आर्थराइटिस उपचारमा मुख्यतः रोगलाई नियन्त्रण गर्ने र सुजन कम गर्ने औषधिहरू प्रयोग गरिन्छ । एकाध जोर्नीमा मात्र रोगले च्यापेको खण्डमा त्यो जोर्नीमा सोझै स्टेरोइड औषधिको सुई दिएर पनि सुजन कम गर्न सकिन्छ । सुजन कम गर्ने तथा रोगलाई नियन्त्रणमा राखेर सम्भाव्य जटिलताबाट जोगाउने विभिन्न औषधिहरू विज्ञ चिकित्सकको सल्लाह र निगरानीमा रोगको कडापन र प्रकृति हेरी लामो समयसम्म र सम्भवतः जीवनभर पनि सेवन गर्नुपर्ने हुन सक्छ । उपचारको क्रममा आएको सुधार हेर्न तथा औषधिको हानिकारक असर एवं रोगका जटिलताहरू मूल्यांकन गर्नका लागि नियमित रूपमा स्वास्थ्य परीक्षण तथा रगत जाँचको आवश्यकता पर्दछ । धेरै दुखेका तथा सुन्निएका जोर्नीहरूलाई पर्याप्त आरामको जरुरत पर्दछ । नियमित रूपमा मनतातो पानीले सेकेर पनि दुखाइ र अररोपन कम गर्न सकिन्छ । तर, जोर्नी जाम हुनबाट जोगाउनका लागि जोर्नीको दुःखाइ र सुजन कम हुनेवित्तिकै जोर्नी चलाउन र पर्याप्त उचित ब्यायाम गर्न थाल्नु पर्दछ । खानेकुरा र यसको सम्बन्ध
र्युमटोइड आर्थराइटिस बिरामीलाई यथेष्ट मात्रामा क्यालोरी, प्रोटिन र भिटामिनयुक्त स्वस्थकर तथा सन्तुलित भोजनको आवश्यकता पर्दछ । शरीरमा रोगको दीर्घ प्रभाव तथा औषधिको सम्भावित हानिकारक असरहरूबाट जोगिन पनि यस्तो खाना अत्यावश्यक हुन्छ । हाम्रो समाजमा विभिन्न खानेकुराहरूले यो रोग बढाउने विश्वास गरिन्छ, तर यसमा कुनै वैज्ञानिक आधार भेटिएको छैन । धुम्रपानले र्युमटोइड आर्थराइटिस बढाउन सक्ने, औषधिको प्रभावकारिता घटाउन सक्ने तथा विभिन्न हानिकारक असरसमेत निम्त्याउन सक्ने भएकाले यसबाट टाढै रहनु पर्दछ । त्यस्तै, जाँडरक्सीको सेवनले औषधिको हानिकारक असरलाई बढाउन सक्ने भएकाले यसबाट पनि जोगिनु जरुरी छ । नेपाली समाजमा स्याल तथा चिप्लेकिराको मासु खाएर, स्यालको मासुबाट तयार पारिएको रक्सी सेवन गरेर, बिजुलीको तेल तथा रक्सीले जोर्नी सेकेर वा विभिन्न जडीबुटीको प्रयोगबाट बाथरोगीलाई फाइदा पुग्ने विश्वास गरिन्छ, जसमा कुनै वैज्ञानिक आधार भने छैन । प्राकृतिक चिकित्सा, एक्युपन्चर, एक्युप्रेसरलगायतका विभिन्न वैकल्पिक उपचार पद्धतिले जोर्नीको दुःखाइबाट राहत दिन्छ तर पुर्णरुपमा नियन्त्रण गर्न भने गाह्रो हुन्छ ।
१. तपाईंले के गर्नु जरुरी छ ?
धुम्रपान बन्दः धुम्रपानले बाथका रोगहरू उब्जाउने भएकाले रोगलाई बढाउने मात्र नभई औषधिको प्रभावकारितमा ह्रास ल्याउने र हानिकारक असरहरू समेत बढाउन सक्ने भएकाले यसलाई तुरुन्त बन्द गर्नुपर्दछ ।
मद्यपान बन्दः सल्फासालाजिन सेवन गर्ने व्यक्तिले मद्यपान गरेमा कलेजोमा थप हानिकारक असर पर्न सक्ने भएकाले मद्यपानबाट टाढैरहनु आवश्यक हुन्छ ।
नियमित रगत परीक्षणः सल्फासालाजिनले कलेजो तथा रगतमा असर पारेको छैन भनी यकिन हुन चिकित्सकको सल्लाहमा केही महिनाको अन्तरमा रगतको जाँच गर्न आवश्यक छ ।
गर्भाधान तथा बच्चालाई स्तनपानः सल्फासालाजिनले गर्भमा रहेका बच्चालाई हानी गर्न सक्ने भएकाले गर्भ रहेको अवस्थामा वा गर्भवती हुने निर्णय लिएको अवस्थामा यो औषधी सेवन गर्नु हुँदैन । सल्फासालाजिन सेवन गरिरहेको अवस्थामा सन्तान जन्माउने विचारमा हुनुहुन्छ भने पुरुष वा महिला जोसुकैले चिकित्सकको सल्लाहमा केही महिनाअघि नै औषधि रोक्नुपर्दछ । साथै सल्फासालाजिन प्रयोग गर्नेसुत्केरी महिलाले स्तनपान गराउनु हुँदैन ।
फोलिक एसिडः सल्फासालाजिनले आन्द्राबाट फोलिक एसिड सोसिनमा व्यवधान पुर्याउने भएकाले यो सेवन गर्ने बिरामीले प्रशस्त मात्रामा फोलिकएसिड भएका खानेकुराहरू (सागसब्जी, माछा, मासु, फलफू आदि) वा फोलिक एसिड ट्याबलेटको सेवन गर्नुपर्दछ ।
प्रशस्त मात्रामा झोलपदार्थ खानेः सल्फासालाजिनका अवयवहरू मृगौलामा थेग्रिएर असर नगरुन् भन्ने उद्देश्यले यो औषधि प्रयोग गर्ने बिरामीले प्रशस्त मात्रामा झोलपदार्थ खानुपर्छ । साथै औषधि इनटेरिक कोटेड ट्याबलेटको रूपमा छ भने यसलाई सिंगै निल्नुपर्छ । भाँचेर, फुटाएर वा पिसेर सेवन गर्नुहुँदैन ।
२. औषधिको हानीकारक असरः
सामान्य असरहरूः वाकवाकी लाग्ने, बान्ता हुन सक्ने, खानामा अरूचि हुने, टाउको दुख्न सक्ने । औषधि खाएको केही दिनसम्म रहनसक्ने यी सामान्य असरहरू औषधि खाँदै जाँदा विस्तारै ठीक भएर जान्छन् ।
एलर्जीः कसै–कसैमा यसको प्रयोगले छाला चिलाउने, डाबर आउने, घाममा बस्दा छाला डढ्ने, छालामा विभिन्न किसिमका खटिरा आउने हुन सक्छ । यस्तो भएमा चिकित्सकको सिफारिसमा औषधि बन्द गर्नुपर्ने हुन्छ ।
अन्य असरहरूः सल्फासालाजिनको प्रयोगले अत्यन्त बिरलै रूपमा रगत कम हुने तथा कलेजोमा असर पर्न सक्दछ । कहिलेकाहीं यो औषधिको प्रयोगले पुरुषमा विर्य पातलो हुन सक्छ । तर, सामान्यतया औषधि रोके २ देखि ३ महिनापछि यो आफैं ठीक भएर जान्छ ।
अरू औषधिसंग अन्तर असरः सल्फासालाजिनको अरू केही औषधिसँग अन्तर असर हुन सक्ने भएकाले एन्टासिड, आरन, फोलिकएसिड तथा क्याल्सियमजस्ता औषधि सल्फासालाजिन खाएको ४ घण्टाभित्र नखानुहोस् । थप जानकारीका लागि अस्पताल, क्लिनिक वा औषधि पसलमा सम्पर्क राख्नुहोस् ।
३. औषधि कहिले रोक्नुपर्ने हुन्छ ?
सन्तान जन्माउने विचार आएमा । औषधिको एलर्जी वा अन्य हानीकारक असरहरू भएको शंका लागेमा । आन्द्रामा अवरोधआई दिसा तथा मूत्रनलीमा अवरोध आई पिसाब रोकिएको अवस्थामा । सिकिस्त बिरामी भएको खण्डमा ।
लेफ्लुनोमाइडः एक जानकारी
१) लेफ्लुनोमाइड कस्तो औषधि हो ?
लेफ्लुनोमाइड विभिन्न किसिमका बाथको उपचारमा प्रयोग हुने औषधि हो । यो औषधि सेवन गर्दा तपाईंले चिकित्सकको सम्पर्कमा रहेर नियमित रूपमा रगत परीक्षण गराउनुपर्दछ ।
हरेक दिन खानेः लेफ्लुनोमाइड चिकित्सकको सिफारिसमा हरेक दिन वा एक दिन बिराएर नियमित रूपमा सेवन गर्नुपर्दछ । सामान्यतया यसको डोज १० देखि २० मिलिग्राम प्रतिदिन हुन्छ । यसलाई घरमा राख्दा चिसो तर सुख्खा ठाउँमा सुरक्षित राख्नुहोस् ।
धैर्य गर्नुहोस्ः लेफ्लुनोमाइडले विस्तारै काम गर्दछ र रोगविरुद्ध यसको सकारात्मक असर देखिन सामान्यतया ६ देखि ८ हप्ता लाग्नसक्छ, त्यसैले हतार नगर्नुहोस् ।
२) बाथरोगीले के गर्नु जरुरी छ ?
मद्यपान बन्दः लेफ्लुनोमाइड सेवन गर्ने व्यक्तिले मध्यपान गरेमा कलेजोमा थप हानिकारक असर पर्न सक्दछ ।
धुम्रपान बन्दः धुम्रपानले बाथका रोगहरू उब्जाउन सघाउने, भएको रोगलाई बढाउने मात्र नभई औषधिको प्रभावकारितामा ह्रास ल्याउने र हानिकारक असरसमेत बढाउने भएकाले यसलाई तुरुन्त बन्द गर्नुपर्दछ ।
नियमित रूपमा रगत परीक्षणः लेफ्लुनोमाइडले कलेजो तथा रगतमा असर पारेका छैन भनी यकिन हुन चिकित्सको सल्लाहमा केहीमहिनाको अन्तरमा रगतको जाँच गर्नु जरुरी छ ।
गर्भाधान तथा बच्चालाई स्तनपानः लेफ्लुनोमाइडले गर्भमा रहेको बच्चालाई हानी गर्न सक्ने भएकाले गर्भ रहेको अवस्थामा यो औषधि सेवन गर्नुहुँदैन । साथै यो औषधि सेवन गर्ने सुत्केरी महिलाले स्तनपान गराउनु हुँदैन ।
इन्फेक्सन (संक्रमण)ः
लेफ्लुनोमाइडले रोगसँग लड्न सक्ने शरीरको प्रतिरक्षा क्षमतामा कमी ल्याउन सक्ने भएकाले ज्वरो आएमा वा इन्फेक्सनको शंका लागेमा केही समयका लागि औषधि बन्द गर्नुपर्ने हुन सक्छ । परामर्शका लागि क्लिनिक वा अस्पतालमा सम्पर्क राख्नुहोस् ।
औषधिको हानिकारक असरः
सामान्य रूपमा देखिनेः वाकवाकी लाग्ने, बान्ता हुन सक्ने, पेटमा गडबडी हुने, दिसा पातलो हुने । कपाल झर्न सक्ने । गालामा खटिरा आउनसक्ने ।
बिरलै देखिनेः रक्तचाप बढ्न सक्ने । कलेजोमा असर पर्न सक्ने । रक्त कोषहरूको संख्या घट्न सक्ने ।
रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, शरीरमा रगतको कमी हुने, हातगोडामा गिर्खाहरू देखा पर्ने, आँखा रातो हुने र दुख्ने तथा मुटु र फोक्सोलगायत शरीरका अन्य अंगहरूमा सुजन भई ज्यानै जोखिममा पर्न सक्छ । यो रोगमा शरीरको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्तिमा ह्रास आउने भएकाले निमोनिया, छाला तथा मूत्रमार्ग जस्ता अंगको इन्फेक्सन बढी र जटिल रूपमा देखिने सम्भावना हुन्छ ।
बाथ रोगको लागी स्टिम बाथ र साउना बाथः
स्टिम बाथ र साउना बाथ यो एक बिशेष प्रकारको प्राचिन, प्रत्यक्ष असरदार र प्रभावकारी उपचार पद्दती हो जुन चिन र पश्चिमी देशहरूमा अहिले एक प्रकारको शौखको रूपमा विकास भईरहेको छ तर यो एक उपचार पद्दति हो । स्टिम बाथ र साउना बाथले बाथ रोगीलाइ पुर्ण रूपमा आराम प्रदान गर्छ । स्टिम बाथ र साउना बाथले जोर्नी खुकुलो बनाउँछ, दुखाई कम गर्छ, शरीरिक तथा मानसिक थकावट कम गर्छ, रक्तसंचारलाई सहज बनाउँछ र सबैखालको बाथरोगबाट राहात प्रदान गर्छ ।




