महिलाहरुमा प्रजनन् अवधि अथवा सन्तान प्राप्त गर्ने समयको अन्तिम अन्तिममा र महिनावारी सुक्ने बेलामा एउटा परिवारप्रति कर्तव्यबोध, जिम्मेवारीको महशुस हुनुका साथै घरको प्रतिष्ठीत गृहिणीको रुपमा आफुलाई स्थापित हुन चाहेका हुन्छन् । आफनो दाम्पत्य जिवनको सम्पुर्ण इच्क्षा पुरा भईसकेका हुन्छन् भने कोही हजुरआमा हुने सपना पनि देखेका हुन्छन् । यसको साथसाथै यो अवस्थाका महिलाहरुको उमेर ४० वर्ष नाघिसकेका हुन्छ । यो उमेरमा उनीहरुले आफनो शरीरमा केही परिवर्तन भएकोे पनि महशुस गरेका हुन्छन् । शरीरमा भएको विभिन्न हर्मोनहरुको परिवर्तन चालिस वर्षको उमेरबाट शुरु हुन्छ । जसले गर्दा उनीहरुमा शारीरिक र मानसिक साथै अरु कुराहरुमा पनि परिवर्तनहरु हुन शुरु हुन्छ । जस्तैः–
महिनावारीमा परिवर्तन
प्रजनन् अवस्थामा नियमीत रुपमा भईरहेको महिनावारी ४० वर्ष पुगेपछि कसै कसैलाई छिटो–छिटो हुने, कसै–कसैलाई लामो समयसम्म भईरहने, अनियमीत रुपमा धेरै रगत बग्ने र कहिलेकाहीं हल्का र थोपा थोपा चुहिने र केही वर्षसम्म यही अवस्था रही ४५–५० वर्ष भएपछि महिनावारी आफै बन्द हुन्छ । कसै कसैको त पचास पचपन्न वर्षसम्म पनि महिनावारी भईराखेको हुन्छ । यो उमेरमा यदी अत्याधिक मात्रामा र लामो समयसम्म रगत बगेमा चिकित्सकको सल्लाह लिनुपर्दछ र प्रजनन अंग सम्बन्धी अन्य रोगहरु पनि हुन सक्दछ, समयमै पहिचान गरी उपचार गर्नुपर्दछ ।
शारीरिक बनावटमा केही परिवर्तन
शरीरमा भएको हर्मोन जसलाई oestrogen भनिन्छ । यसको कमी हुन गएमा बोसो पदार्थको मात्रा शरीरमा सन्तुलीत रुपमा वितरण नभएमा पेटको तल्लो भाग अथवा पेट बेलीमा जम्मा हुन पुग्दछ र अगाडीको पेट बढेको जस्तो देखिन्छ । यो अवस्थामा आलस्यपना बढ्ने र असन्तुलित खानपान गर्ने र नियमीत ब्यायाम नगर्नाले पनि मोटोपन पनि बढन सक्दछ ।
तापक्रम नियन्त्रण गर्ने केन्द्र, मुटु र रक्त सन्चार प्रणालीमा परिवर्तन आउने, शरीर गर्मी भएजस्तो चिडचिड पसिना आउने, हुने, राती निद्रा नपर्ने वा कम निद्रा पर्ने हुन सक्दछ । तापक्रम बढेजस्तो हुने कम्तीमा पनि एक मिनेटदेखी पाँच मिनेटसम्म रहन्छ । तापक्रम कहिलेकाहीँ त १० देखी १५ डिग्री सेल्सीयससम्म पनि बढेको हुन्छ र यो शरीरभरि फैलिन्छ । पसिना आउने क्रम शरीरको माथिल्लो भागबाट शुरु हुन्छ । तातोपना र पसिना आएको बेलामा मुटुको धड्कन बढ््न सक्दछ, ३० मिनेटपछि अवस्था सामान्य हुन्छ ।
मानसिक अवस्था वा निद्रामा अवरोध
शरीर तातो हुने र पसिना आउने भएकोले निद्रा कम लाग्ने, सानो सानो कुरामा रिसाउने, झन्झट मान्ने, Mood अस्थीर हुने, एकाग्रपन (concentration) हटने, सम्झन सक्ने क्षमतामा कमी साथै कहिलेकाहीँ त depression पनि हुन्छ ।
यौन सम्बन्धी समस्या
शरीरमा विद्यमान हर्मोनहरुको असमानताले यो अवस्थामा योनीमार्गमा सुख्खापन आउने, यौन चाहनामा कमी आउने, यौन सम्पर्कको समयमा दुखाई आदी हुन्छ । यौनक्रिया एउटा शारीरिक र मानसिक स्वस्थताको प्रतिबिम्ब पनि हो र मानिसमा शारीरिक र मानसिक रुपमा अस्वस्थ भएमा यौन शक्तिमा कमी आउने र इच्छामा पनि कमी आउँछ । पिडादायी यौनक्रीडाले गर्दा लिङ्ग उत्तेजना नहुने र महिलामा पनि जोस र जाँगर नआउन सक्दछ ।
हाडजोर्नी सम्बन्धी समस्या
महिनावारी सुक्ने बेलामा oestrogen भन्ने हर्मोनको कमीले गर्दा हाडको density घट्दै जाने र पातलो हुने भएकोले सानोतिनो चोटपटकले पनि भाँच्चिने वा fracture हुने हुन्छ । यस्तो खालको fracture उपचारको क्रममा पनि ढिलो निको हुने र पटक पटक भाँच्चिरहने पनि हुन्छ । यस्तो अवस्थालाई अंग्रेजीमा osteoporosis भनिन्छ । यस्तो हर्मोनको कमीले महिलामा ठुलो ठुलो जोर्नी कमजोर हुने र दख्ने हिड्न अप्ठ्यारो हुने हुन्छ । यस्तो समस्या पुरुषलाई भन्दा महिलालाई छिटो असर गर्ने, हात र खुट्टाका ठुला जोर्नीहरुमा असर गर्दछ ।
महिलाको प्रजनन् प्रणालीमा देखिने असर
Oestrogen हर्मोनको कमीको असर योनीमार्ग, पिसाप नली, पिसासथैलीमा पनि पर्दछ जसले गर्दा पिसाब बारम्बार चुहिरहने, योनाङ्गको छाला सुखा हुने र चिलाईरहने हुन्छ । पाठेघर र योनिमार्ग सहयोग वा support गर्ने सरंचनाहरु Oestrogen भन्ने हर्मोनको कमी हुने भएकोले कमजोर हुन्छ र आङ्ग खस्ने समस्या देखिन्छ ।
पिसाब सम्बन्धी समस्या
छिटो छिटो पिसाप लाग्ने, पिसाप फेर्न आत्तिने कसै कसैलाई त खोक्दा, बल पर्ने काम गर्दा पिसाप चुहिने साथै बारम्बार पिसापको सक्रंमण भईरहने आदी समस्याहरु पनि देखिन सक्दछन् ।
मुटु सम्बन्धी समस्या
उमेरमा मुटु सम्बन्धी रोगको खतरा बढ्नुको मुख्य कारणहरुमध्ये उच्च रक्तचाप, मोटोपना, मधुमेह, चिल्लो पदार्थको असन्तुलता, आलस्यपना, मध्यपान र धुम्रपानको सेवन आदी ।
अन्य समस्याहरु
अत्यधिक र असन्तुलित मात्रामा चिल्लो पदार्थको शरीरमा जम्मा हुँदा तौलवृद्धि हुँदा मोटोपन देखीने हुन्छ । असन्तुलित आहार र ब्यायामको कमीले गर्दा अझै मोटोपनलाई बढवा दिन्छ । छालामा पनि परिवर्तन देखिन्छ । जस्तैः छालामा कालो कालो दागहरु देखीने, छाला चाउरी पर्ने र चिलाउने आदी । दाँत झर्ने, थुक कम आउने, खाएको कुराहरुको स्वाद कम आउने हुन्छ । स्तनको आकार र मात्रामा पनि कमी आउन सक्दछ तर कसै कसैको त अत्यधिक बोसो जम्मा हुन गई स्तनको आकारमा वृद्धि पनि हुन सक्दछ ।
यो अवस्थामा देखिने समस्याहरुको अग्रिम पहिचान
पाठेघरको नियमित परिक्षण गर्ने
पाठेघरको र पाठेघर वरिपरिका अङ्गहरुमा क्यान्सर भएको वा मासु पलाएको थाहा पाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सरको अग्रिम जानकारीको लागि पाठेघरको मुखको पानी जाँच गर्ने -Pap smear_, VIA, COLPOSCOPY साथै अणांशय र पाठेघरमा मासु पलाएमा भिडियो एक्सरेको माध्यमबाट पत्ता लगाउन सकिन्छ ।
चालिस वर्षभन्दा माथिका महिलाहरुमा अत्याधिक रगत बगेमा पाठेघरको सफाई पनि गर्नु पर्दछ र पाठेघरभित्रको पत्रको क्यान्सर भए नभएको थाहा पाउने ।
स्तन क्यान्सर भए नभएको पहिले नै थाहा पाउन आफैले स्तन परिक्षण गर्ने र मेमोग्राफी एक्सरे पनि गर्नु पर्दछ र गिर्खा देखिएमा वा स्तनको आकारमा फरक आएमा स्तनभित्र भएको गिर्खाबाट पानी निकाली कोषिका लेबलमा जाँच गरी क्यान्सर cells भएनभएको थाहा पाउन सकिन्छ ।
महिनावारी सुक्ने बेलामा शरीरमा भएको हर्मोनमा परिवर्तन आउने भएकोले विभिन्न शारीरिक र मानसिक अवस्थामा पनि केही समस्याहरु देखनि सक्ने कुरा माथी नै उल्लेख भईसकेका छन् । यसको लागि अगाडी नै केहि हर्मोनहरु जस्तै oestrogen, progesterone, leutinizing hormone / follicular stimulating hormone हरुको परीक्षण गरेर पनि थाहा पाउन सकिन्छ ।
तपशिल जाँच गर्दा खराब देखिएमा मुटुको रोग र मधुमेहको बढी सम्भावना देखिन्छ
– कम्मर ३५ इन्चभन्दा ठुलो भएमा
– रक्तचाप १३०/९० भन्दा माथी भएमा
– रगतमा चिनीको मात्रा खाली पेटमा १०० भन्दा माथी भएमा
– रगतमा ट्राईगल्ीसराईड १५० भन्दा माथी भएमा
– रगतमा एचडीएल ५० भन्दा कम भएमा
यो समस्याहरुबाट बच्ने उपायहरु
– धुम्रपान, मद्यपान, क्याफीन भएको पदार्थ कम सेवन गर्ने ।
– क्याल्सियम बढी पाउने खाद्यपदार्थ खाने जस्तैः अण्डा, दुध र दुधबाट बनेको पदार्थ, सुन्तलाको रस, गाढा हरियो तरकारी आदी सेवन गर्ने ।
– बिहानको सुनौलो घाममा १५–३० मिनेटसम्म घुम्ने ।
– चिसो पानीको सेवन गर्ने, ठण्डा कोठामा बस्ने बानी बसाल्ने, तातो र पिरो खाद्यबस्तुको सेवन कम गर्ने ।
– नियमित कम्तीमा ३० मिनेट कसरत वा योग गर्ने ।
– प्रत्येक दिन आधा गिलास सोया दुध खाने बानी बसाल्ने ।
– प्रत्येक दिन कम्तीमा आठ गिलास पानी पिउने बानी बसाल्ने ।
– आवस्यक पर्दा सम्बन्धित चिकित्सकसंग जाँच पहिचान गरी राय सल्लाह लिने गर्नुपर्छ ।
– पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण ३० देखी ६५ वर्ष शम्मका महिलाहरुले प्रत्येक ३ वर्षमा गर्नु पर्दछ ।
– यदि शारीरिक र मानसिक समस्या आई नै सकेको छ भने सम्बन्धित बिशेषज्ञसंग आवस्यक जाँच पहिचान गरी आधुनिक औषधी वा Hormone Replacement Therapy (HRT) प्रयोग गरी समस्याको समाधान गर्न सकिन्छ । यो बेलामा सुर्तीजन्य पदार्थ, मद्यपान धेरै चिल्लो पिरो भएको पदार्थहरुको सेवन कम गर्ने सधैं तनाव मुक्त रहने । महिनावारी सुक्ने बेला वरिपरिको समयमा आउन सक्ने समस्याहरुबारे सजग र संवेनसिल भएर माथी उल्लेखित कुराहरुलाई अध्ययन र मनन् गरी चिकित्सकहरुको उचित सल्लाह अनूसार आप्नो जिवन शैलीलाई नियमीत गराउन सक्यौ भने आफनो शारीरिक अवस्था सधै स्वस्थ भई आफनो परिवार सुखी र समृद्व भई एउटा सभ्य र विकसित समाजको परिकल्पना गर्न सकिन्छ ।




