बिगतका वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको हामी सबैले महसुस गरिरहेको छौँ । जाडो मौसम लागेसँगै यससँग सम्वन्धित स्वास्थ्य समस्या देखिन सुरु भैसकेको छ । एकातिर विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ले पनि जाडोमा अझै उग्र उप लिने हो कि भन्ने आशंका सबैमा छ । त्यसैले यो वर्षको जाडो मौसम मा अझै सतर्क हुन आवश्यक छ ।
विशेषत : गर्मी मौसममा भन्दा जाडो मौसममा बालबालिका र बृद्धबृद्धालाई चिसोका कारण स्वास्थ्यमा विभिन्न समस्याहरू देखा पर्ने गर्छन् । चिसोबाट जोगिन सकियो भने धेरै रोगहरूबाट तथ जडिल समस्याबाट बच्न सकिन्छ ।
चिसो मौसममा देखापर्ने प्रमुख स्वास्थ्य समस्याहरु :
फ्लु :
फ्लु इन्फ्लुएन्जा भाइरसबाट लाग्ने सरुवा रोग हो । यो ए, बी, सी र डी गरी ४ प्रकारका हुन्छन् । इन्फ्लुएन्जा डी खासगरि गाईवस्तुमामात्र सीमित देखिएको छ भने सी एकदम सामान्य हुने र महामारीको रूप लिँदैन भन्ने मान्यता रहेको पाइन्छ । तर, ए र बी भने हरेकफ्लुको सिजनमा देखिने गरेको पाइन्छ । नेपालमा मनसुन सिजन र जाडो महिनाको सुरुवात र अन्ततिर बढी मात्रामा देखिने गरेको पाइन्छ । स्वाइन फ्लु, हङकङ फ्लु र बर्ड फ्लु फ्लुको उदाहरण हो ।
संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा अर्को व्यक्तिमा संक्रमण हुन्छ । त्यस्तै, संक्रमित व्यक्तिले प्रयोग गरेको सरसामान अर्को व्यक्तिले प्रयोग गरेमा पनि सर्न सक्छ । भर्खरैको एक नयाँ अनुसन्धानले संक्रमित व्यक्तिले श्वासप्रश्वास मात्र गर्दा पनि फ्लु भाइरस सर्नेगरेको देखाएको छ ।
फ्लु फैलिसकेको अवस्थामा सकेसम्म सार्वजनिक स्थलहरूमा नजाने, नाक, मुख, आँखामा बारम्बार हात नलाने, संक्रमित व्यक्तिसँग अभिवादन गर्दा हात नमिलाउने, घर फर्केपछि राम्रोसँग हात मुख साबुनपानीले धुने गर्नुपर्छ । संक्रमित व्यक्तिले हाछ्यु गर्दा मुख छोपेरमात्र गर्नुपर्छ । आफू संक्रमित भएको अवस्थामा घरबाहिर नजाने र घरमा बस्दा पनि सकेसम्म घरका अन्य सदस्यभन्दा अलग्गै बसेमासंक्रमण सर्ने सम्भावना कम रहन्छ ।
श्वासप्रश्वाससम्बन्धि समस्या
दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । श्वास प्रश्वाससम्बन्धि रोग लाग्नुको मुख्य कारण वातावरण प्रदुषण, चुरोट बिँडीको अधिकतम सेवन, चिसो जस्ता मुख्य कारण रहेको छ । साथै बढ्दो सवारी साधनको प्रयोगबाट निस्कने धुवाँ, धुलो तथा भूकम्पपछि भत्केका संरचनाहरुबाट निस्केका धुलोको कणहरु पनि अर्को कारण रहेको विज्ञहरुको भनाई छ । श्वासप्रश्वाससम्बन्धि रोगहरु दम, ब्रोङकाइटिस, न्युमोनिया, सि.ओ. पि.डि. आदि हुन् । यस्ता समस्याबाट बच्न सम्भव भएसम्म धुलो, धुवाँ तथा प्रदुषणबाट टाढै बस्ने उचित हुन्छ । साथै धुँवा, धुलोमा सकभर नहिँड्न तथा हिँड्नै परेमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।
हाइपोथर्मिया :
हाइपोथर्मिया भन्नाले शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेनहाइट) भन्दा कम भएको अवस्थालाई बुझिन्छ । यसको लक्षण तापक्रम अनुसार फरक फरक हुन सक्छ । मन्द खालको हाइपोथर्मियामा जीउ काम्ने तथा दिमाग सुस्त भएर अलमल्ल पर्ने हुन्छ । मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ । कडा खालको हाइपोथर्मिया भएपछि बिरामीले बेहोसीमा लगाइरहेको कपडा खोल्न पनि सक्छ र मुटुको धड्कन बन्द हुने खतरा बढेर जान्छ । यदि यसको समयमा नै उपचार वा रोकथाम गरिएन भने ज्यान जाने खतरासम्म रहन्छ । आवश्यकता अनुसारको कपडा लगाएर हाइपोथर्मियाबाट बच्न सकिन्छ । ओसिलो वा सुख्खा हुँदा पनि शरीरको तापलाई जोगाएर न्यानो बनाउने हुनाले कटनका लुगाभन्दा सिन्थेटिक तथा ऊनबाट बनेका लुगाहरू उपयोगी हुन्छन् ।
हिउँले खानु :
यो समस्या विशेषगरी हिउँ पर्ने ठाउँतिर देखिन्छ । शरीरको कुनै पनि अंग धेरै लामो समयसम्म हिँउ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ । यसमा शरीरका मुल भागबाट टाढा रहेका अङ्गहरु खासगरी हात खुट्टाका औलाहरु, अनुहार, नाक,कान आदिहिउले खान सक्दछ। त्यसैले शरिरलाई हिउँ वा चिसो वस्तुबाट जोगाउनु नै राम्रो हुन्छ । यदि धेरै नै नराम्रोसँग हिउँले खाएमा उक्त ठाउँलाई चिरेर नै फाल्नुपर्ने अवस्था पनि आउन सक्छ ।
रुघाखोकी :
जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी बढी लाग्छ । रुघाखोकीमात्रै होइन रुघाखोकीसँगै एलर्जी पनि हुन्छ ।
रुघाखोकीबाट बच्न बाटोमा हिँड्दासमेत धुलोबाट जोगिनेगरी मास्क लगाएर हिँड्नु पर्छ । साधारणखाले रुघा छ भने घरेलु उपायले नियन्त्रण गर्न सकिन्छ । भाइरलको संक्रमण फैलिएको बेलामा विद्यालयमा जाँदा र अन्यत्र हिँड्दा जोगिनु पर्छ । साधारण खाले रुघाखोकीलाई घरमै उपचार गर्न सकिन्छ । तर। रुघाखोकीसँगै नाकबाट पहेलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीको समस्या आउने, कानमा पनि समस्या छ भने होसियारी अपनाउनुपर्छ । किनकि नाक, कान र घाँटीले एकआपसमा असर पारिरहेका हुन्छन् । बालबालिकाको हकमा त अझै ध्यान दिनुपर्छ ।
जोर्नीको दुखाई :
जाडो बढेसँगै कतिपयको जोर्नीको दुखाई पनि बढ्न सुरु हुन्छ । चिसोको पारोसँगै दुखाई पनि बढ्ने भएपछि बिरामीलाई चिसो समय नआइदिए जस्तो लाग्छ । बाहिरी तापमानमा उचावचढाव आएसँगै त्यसले मानिसको शरीरमा सिधै असर गर्छ । तापमानमा कमी आएका कारण जोर्नीहरूको नसा संकुचन हुन्छ र त्यस भागमा रगतको तापक्रम घट्छ । जसका कारण जोर्नीहरू कडा र पीडादायी हुन्छन् ।
चिकित्सकका अनुसार चिसो मौसममा हाम्रो मुटुको वरिपरि रगतको तापमान कायम गर्नु आवश्यक हुन्छ । तापमान सही नभए यसले शरीरका अन्य भागमा रगतको आपूर्ति घटाइदिन्छ । जब छाला चिसो हुन्छ तब दुखाइको असर बढी महश्स हुन्छ । मेडिकल भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ ।
मुटुसम्बन्धि समस्या :
कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा हृदयाघात हुन्छ । समयमै पुनः रक्तप्रवाह नभएमा उक्त कोरोनरी आर्टरीबाट रक्तसञ्चार हुने मुटुको मांसपेशी मरेर जान्छ । यस्तो भएमा असर परेको मुटुको उक्त भागले काम गर्न छाड्छ र मुटु सधैंका लागि कमजोर हुन जान्छ । हृदयघात चिसो समयमा देखिने जटिल तथा प्राणघातक रोग हो । हार्डवर्ड मेडिकल स्कूलको अनुसार चिसोले रागतका नसा खुम्चने तथा साँघुरो हुने गर्दछ जसले गर्दा हृदयाघातको जोखिमलाई बढाउँछ । हृदयाघातबाट बच्न चिसोबाट बच्ने,तौल नियन्त्रण गर्ने, चिल्लो बोसोभएको खानेकुरा नखाने, नियमित शारीरिक ब्यायाम गर्ने गर्नु पर्दछ ।
कार्वन मनोअक्साइड पोईजनिङ :
यो जाडोयाममा मानिसको लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण झ्यालढोका सबै बन्द पारेर आगो ताप्ने चलन छ । तर, कतैबाट हावा नै नछिर्ने गरि बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बन डाइअक्साइड वा कार्बन मोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ वा मृत्यु नै पनि हुन सक्छ । जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्रगर्नु राम्रो हुन्छ ।
छालामा सुख्खापन
जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो । छालाका लागि जाडो अनुकूल समय होइन । यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ । जब बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको भन्दा कम हुन्छ तब हाम्रो शरीरको ताप वातावरणले तान्न थाल्छ । यसले गर्दा हाम्रो शरीरबाट पानीको मात्रा छिन्न भइरहेको हुन्छ र छाला सुख्खा हुन्छ ।यस्तोमा सबैभन्दा बढी एक्सपोज हुने भागहरू जस्तोः अनुहार हात लगायतका भाग बढी सुख्खा हुन्छन् । जाडो याममा केही सावधानी अपनाउने हो भने छाला सुख्खा हुनबाट जोगाउन सकिन्छ । जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ, खानपानमा विशेष ध्यान दिनुपर्छ,हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुख्खा छालाको समस्या समाधान हुन्छ, छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ, बढी सुख्खा भएमा मोइस्चराइजर क्रिम प्रयोग गर्न सकिन्छ ।
नोरोभाइरस अर्थात विन्टर डायरिया
नोरोभाइरस एक प्रकारको बान्ता गराउने भाइरस हो । खासगरी जाडो यो जाडो मौसममा देखिन्छ । जाडो महिनामा जति पनि झाडाबान्ताको प्रकोप हुन्छ त्यसको कारण नोरोभाइरस हो जसले विन्टर डायरिया गराउँछ । यसको बारेमा नेपालमा प्रयोगशाला जाँचनहुने भएकोलेपनि नोरोभाइरसका बारेमा सर्वसाधारणदेखि नीति निर्मातासम्म अन्यौलता देखिएको छ ।
यो संक्रमित व्यक्तिसँग नजिकको संसर्गबाट सर्ने (मानिस बाट मानिसमा छुदा सर्ने) संक्रमित खानेकुरा उपभोग गर्दा, संक्रमित समान, बस्तु वा सतह छुदा आदिबाट सजिलै सर्ने गर्दछ । यसबाट बच्न खानेकुरा बनाउँनु अघि राम्ररी हात धुने, संक्रमित व्यक्ति लक्षण देखिन छाडे पनि कम्तिमा पनि २ दिनसम्म काम वा विद्यालयमा नजाने, सकेसम्म एकअर्काले एउटै कपडा वा सामानको प्रयोग नगर्ने, राम्ररी पकाएको खानेकुरा मात्र खाने, संक्रमितव्यक्तिको बान्ता वा त्यो व्यक्ति शौचालय गएपछि राम्ररी हात नधोई भुइँ, वा कुनै सतहमा छोएको भए त्यसलाई साबुन पानीले राम्ररीसफा गर्ने ।
कसरी स्वस्थ रहने त ?
पर्याप्त न्यानो कपडा लगाउनुपर्छ । टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनुहुदैन । विशेषगरी बाहिर निस्कदा सचेत रहनुपर्छ ।
बिहान पर्याप्त शारिरीक ब्यायाम गर्नुपर्छ ।जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ। तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ । चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ। पर्याप्त तातो पानी पिउन आबश्यक छ । चिसो मौसममा हामीपानी कम पिउने गर्दछौँ । जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ । र, बिहान बेलुका हिडडुल गर्दा न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।चिसोमा सारुवा रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्छ। नियमित साबुन पानीले हात धुने र शरीर फुर्तिलो राख्न बेला बेलामा नुहाउनुपर्छ । चिसो पानीभन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ । यस्तै चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड लगाउनुपर्छ ।
जाडोमा सबैभन्दा बढी श्वासप्रश्वाससम्बन्धी समस्या देखापर्छ । यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ । हाच्छिउँ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरू प्रयोग गर्नुपर्छ । संक्रमण भएको छ भने मास्क लगाएर हिड्न आवश्यक छ । मुटुका बिरामीहरुले जाडोमा बाधा पर्ने गरी शारीरिक काम गर्नु हुदैन । बिहान बेलुका बढी जाडो हुने भएकोले बिहान बेलुका घरभित्रै बस्नुपर्छ ।स्वस्थ खानपानमा ध्यान दिन आवश्यक छ । फलफूलतथा तरकारी, भिटामिन सि, जिन्कजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरु लगाउनुपर्छ । साथै छालाको सुरक्षामा ध्यान दिन आवश्यक छ । चिसोले छालालाई सोसेर सुख्खा बनाईदिन्छ ।
कम्तीमा ६ घण्टा सुत्नुपर्छ । अन्यथा शरीरमा रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ ।
जाडोको समयमा जाडो भुल्न धुम्रपान तथा मध्यपान गर्ने प्रचलन छ । यी पक्षले कुनैपनि हालतमा शरीरलाई फाइदा नहुने भएकाले यस्ताकुलत तत्काल छोड्नु राम्रो हुन्छ। धुम्रपानले फोक्सो विगार्ने र मदिराले कलेजो लगायतका अंगलाई विगार्ने भएकोले धुम्रपान तथामध्यपानबाट टाढै रहनुपर्छ । जाडोका कारण झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ । त्यसले कार्वन मोनोअक्साइड कोठाभरी फैंलिदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिए जस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्युसम्म हुनसक्ने जोखिम पनिहुन्छ ।




