स्याङ्जा, २७ पुस– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले जनता माँझ जाने निर्णय लोकतान्त्रिक विधि भएको बताएकी छन् । गृहजिल्ला स्याङ्जामा राष्ट्रिय युवा संघले आयोजना गरेको बृहत युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन ।
पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टीअध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका पदलोलुप नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको मन्त्री अर्यालको भनाइ थियो । उनले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत बताइन । मन्त्री अर्यालले भनिन, ‘पार्टी एकता भएपछी विचारको बहस, छलफल शून्य भयो । पद, सेवासुविधाको छलफल चल्न थाल्यो । विचारबाट निर्देशित भएको पार्टी पद, पावरमागएर अल्झिएपछि अहिलेको यो अवस्थामा आउनपुग्यो ।
आम जनताले आशा भरोसा र विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रैका ठूला नेताहरुले राष्ट्रपतीलाई महाअधियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको मन्त्री अर्यालको भनाइ थियो । ‘राष्ट्रपतीलाई महाअभियोग लगाउनेगरी सांसदहरुको हस्ताक्षर संकलन गरियो । यस्तो बिचित्रको दृश्य आफ्नै पार्टीभित्र देख्नुप¥यो । त्यसैले बाध्य भएर प्रधानमन्त्रीले यसप्रकारको कदम चाल्नुभएको हो ।’
सरकारले राष्ट्रिय एकता कायम गर्दै विगतमा विभिन्न कारणले गुमेको नेपालको जमिन फिर्ता लिने कार्य अगाडी बढाएपछी आफ्नै पार्टी नेतृृत्वको सरकार असफल बनाउन आफ्नै पार्टीबाट योजना बनेको समेत मन्त्री अर्यालले बताइन । जिल्लाको गल्याङ, चापाकोट, जिल्ला सदरमुकाम स्याङ्जा लगायतका ठाउँमा भएका कार्यक्रममा चार दर्जन बढी युवाहरू नेकपामा प्रवेश गरेको नेकपा ओली समुहले जनाएको छ ।





