बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

महिलाको पाठेघरमा मासु पलाउने रोग

महिलाको पाठेघरमा मासु पलाउने रोग


  • प्रा.डा. गिरधारी शर्मा
  • माघ २३ २०७७, शुक्रबार

करीब दश दिनअघि साहारा हस्पिटल प्रा.लि. बागलुङ बसपार्कमा एक २९ बर्षीय महिला र उनका श्रीमान विवाह भएको धरै बर्ष हुँदा पनि सन्तान नभएकाले उक्त समस्याको पहिचान साथै उपचारको खोजीको लागि मसंग सरसल्लाह र सुझावको लागि आएका थिए । मैले जाँच वा परीक्षण गर्दा पाठेघरमा मासु पलाएको जस्तै ठुलो पाठेघर भेटियो र भिडियो एक्स–रे गर्दा पनि बहुसंख्यक मासुका डल्लाहरु छन् भन्ने कुरा देखियो । उक्त भिडियो एक्स–रेको रिपोर्टलाई अझै सुनिश्चित गर्नको लागि सि.टी. स्क्यान गर्न पठाईयो र सि.टी.को रिपोर्ट पनि एउटै खालको आयो । उनीहरुले ५ बर्ष पहिले पनि सोही समस्याले गर्दा भारतको देहरादुनमा तीनवटा ठुलै मासुका डल्लाहरु शल्यक्रियाद्धारा फालिसकेका रहेछन् । अहिले पनि हामीहरुले मासुका डल्ला धेरै भएकाले पुनः शल्यक्रिया गर्ने निर्णय गरियो । शल्यक्रिया गर्नु अगाडी गर्नुपर्ने सबै परीक्षण गरी शल्यक्रियाको तयारी गरियो । यसै क्रममा प्रक्रियागत रुपमा पेट खोल्नु पर्ने हुन्छ र खोलियो । जसमा बहुसख्ंयक मासुका डल्लाहरु पाठेघरमा यद्धपी विद्यमान थिए । मासुका डल्लाहरु निकाल्दै गयौं, निकाल्दै गयौं, जसमा डल्लाको सख्ंया २० पुग्यो र यसको नाप गर्दा सबैभन्दा सानो २ सेमीको र सबैभन्दा ठुलो ८ सेमीको थियो । हामीले सानोभन्दा सानो डल्लाहरु निकाल्ने प्रयास गरियो र शल्यक्रिया सम्पन्न भयो । उनको शल्यक्रियापछि अस्पतालको बसाई सामान्य रह्यो र उनी आठौं दिनमा टाँका निकाल्न आउँदा पनि घरमा कुनै समस्या नभएको बताईन् । यो उमेरमा र यती धेरै सख्ंयामा मासुका डल्लाहरु कमै महिलाको पाठेघरमा पलाउँछ ।
अब यसको बारेमा विस्तृत रुपमा जानकारी दिन आवस्यक ठान्दछु
यो एउटा ३० देखी ४५ वर्षसम्मका महिलाहरुलाई देखीने क्यान्सरको संभावना कम रहेको पाठेघरमा हुने मासुको डल्ला हो । यो समस्या यो उमेरमा २० प्रतिशत महिलाहरुमा देखिन्छ । यस्ता खालका डल्ला भएका महिलाहरु सबैलाई रोगको लक्षण देखीनै पर्छ भन्ने छैन र एकदम पेट दुखेर, अत्याधिक रक्तश्राप भएर अस्पतालमै भर्ना गर्नुपर्ने मात्र ३ प्रतिशत हुन्छन् । यो प्रायः गरेर बच्चाबच्ची नभएका महिलाहरुमा देखीन्छ र सन्तान नभएको कारण पत्ता लगाउने क्रममा यस्ता समस्याको पहिचान हुन्छ । तर यो बच्चाबच्ची भएकाहरुमा पनि देखीन्छ ।
यसको उत्पत्ति पाठेघरमा कसरी भयो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । यो रोग बच्चा पाउने उमेरका महिलाहरुलाई बिशेष गरेर ३० देखी ४५ बर्ष सम्मकालाई बढी देखीन्छ । यो बिशेष oestrogen  नामक रसायनिक पदार्थ Hormone मा भर पर्दछ । किनभने यो बच्चा पाउने उमेरमा हुन्छ, पिल्स खाएको बेलामा र गर्भवती भएको बेलामा यसको आकार र नापमा वृद्धि हुन्छ अनि महिनावारी सुक्ने बेलामा यसको वृद्धि हुँदैन र आकार र नापमा पनि घटदै जान्छ ।
यो समस्या बच्चाबच्ची नभएकाहरुमा देखीएतापनि छिट्टै विवाह गर्ने, धेरै बच्चा पाउनेहरुमा पनि देखीएको छ । पाठेघरमा यो मासुको डल्लाहरु देखिएपछि निम्न समस्याहरु देखीन सक्छन् । लक्षणहरु देखीनको लागि टयूमरको नपाईमा वृद्वि र टयूमरको सख्ंयामा भर पर्दछ । यो तीन प्रकारका हुन्छन् । जस्तैः पाठेघरको बाहिर पट्टीको भागमा, मासु भित्रको र पाठेघरको भित्री भागमा हुने ट्युमर जसमध्ये पाठेघरको भित्री भागमा भएको ट्यूमरले बढी समस्या ल्याउँछ ।
महिनावारी सम्बन्धी
अत्याधिक रक्तश्राप हूने– पाठेघरमा मासु पलाएकाहरुमा ३०% लाई यो समस्या देखीन्छ । महिनावारी अनियमीत हुने जस्तैः महिनामा दुई, तीन पटक पनि हुने, धेरै प्याड फेर्न पर्ने र रक्तश्राप यती धेरै हुने की रक्त अल्पता भएर रक्तदान (Blood Donation) पनि गर्न परेको धेरै नै उदाहरणहरु छन् । साथै महिनावारी हुँदा अत्याधिक दुखाई पनि हुने गर्दछ र यसको लागि सुईबाट नदुख्ने औषधी पनि दिन पर्ने हून सक्दछ ।
निसन्तानपन
यो समस्या पनि टयूमर भएकामध्ये ३०% महिलाहरुलाई हुन्छ । यो हुनुको कारणहरुमा पाठेघरको भित्री भागको सतहमा विकृति आउँछ र बनिसकेको भ्रुण पनि टाँसिन पाउंदैन । साथै शुक्रकिट पनि राम्रोसंग माथीसम्म पुग्न पाउदैन ।
पाठेघर सामान्यतया यौन क्रियाकलापमा खुम्चने र फुक्ने क्रम रहन्छ तर पाठेघरमा मासु पलायो भने यो खुम्चने र फुक्ने क्रियाकलापमन असर गर्दछ र शुक्रकिट पुग्न पर्ने ठाउँमा पुग्न सक्दैन र बच्चा हुन सक्दैन ।
पाठेघरको भित्री भाग जुन महिनावारी अनुसार पातलो र बाक्लो हुन्छ यही भागमा घाउ भईदिने र उक्त भित्री भाग पातलोको पातलो भई रहने हुन्छ र शुक्रकिट माथी जान पाउँदैन र यदी शुक्रकिट तथा अण्डा मिली भ्रुण बनिहाल्यो भने पनि पाठेघरको भित्री भागमा आई बच्चा बनी हुर्कन पाउँदैन ।
कहिलेकाहीं टयूमर पाठेघर र डिम्बबाहिनी नलीको दोसाँधमा देखीयो भने उक्त नली बन्द भईदिन्छ र शुक्रकिट तथा अण्डाको मिलन हुन पाउँदैन । साथै ट्यूमरले गर्दा डिम्बबाहिनी नलीको लम्बाई पनि बढछ र उक्त नलीका बिभिन्न प्रकारका संक्रमणहरु हुने सम्भावना बढदछ ।
यदी यसको आकार र नापमा बृद्धी भएमा पेटभित्र भएका मृगौला, आन्द्रा, कलेजो साथै अन्य अंगहरुमा दबाव वा  pressure दिई यसको कार्यमा दखल पु¥याउदछ । जसले गर्दा पिसाब नलीमा पानी भरिने (hydronephrosis), संक्रमण हुने आदी हन्छन् ।
चिकित्सकद्धारा परिक्षण गर्दा यदी अत्याधिक रक्तश्राप भएको छभने रक्तअल्पता देखीन्छ, ब्लडप्रेसर पनि घट्न सक्दछ । सानो सानो टयूमर प्रजनन अंगको परिक्षण पश्चातनै थाहा हुन्छ, अलि ठुलो भएपछि मात्र पेट छामेपछि थाहा हुन्छ ।
यसरी मासु पलाएको शंका लागेमा पहिले भिडियो एक्सरे गर्ने, ट्युमरको सख्ंया, आकार र नाप साथै यसका प्रकार र पाठेघरको कुन–कुन ठाउँमा छ भन्ने कुरा पनि थाहा हुन्छ । यो रिपोर्टलाई सुनिश्चित गर्न सी टी स्क्यान अथवा एम आर आई पनि गर्नु पर्दछ । रक्तअल्पता र अरु खराबी पत्ता लगाउनको लागि रगतको जाँच गर्नु पर्दछ । कहिलेकाहीं पेटबाट हेर्ने दुरबीनको hysteroscopy) प्रयोग साथै पाठेघरभित्रै पनि दुरबिन (Laparoscopy) आदीका प्रयोगबाट पनि यो ट्यूमरको पहिचान गर्न सकिन्छ ।
जटीलताहरु
रोग पत्ता लगाउन ढिला भएमा वा उपचारमा ढिलासुस्ती भएमा निसन्तानपन, संक्रमण, गर्भवती भएको छ भने गर्भपतन हुने, मासुको डल्ला बिग्रने, कुहिने र बिभिन्न खराबीहरु देखीन्छ । यो ट्यूमरबाट क्यान्सर हुने सम्भावना अत्यन्तै न्यून छ, उपचार नपाएमा ०.१% मात्रै हो ।
उपचार
यो समस्याको उपचार लक्षण भएको र लक्षण नभएको अवस्था अनुसार हुन्छ । उक्त महिलाको उमेर, सन्तान पुगेको, नपुगेको, ट्यूमरको साईज र आकार र यसको सख्ंया र यसले पारेको असरहरुमा भर पर्दछ ।
लक्षण नदेखीएको अवस्था
यो समस्याबाट क्यान्सर हूने शम्भावना १००० जना यस्तो खालको ट्यूमर भएकाहरुमध्ये एक जनालाई मात्र हुन सक्दछ । त्यसकारण निम्न लिखीत अवस्थामा मेडीकल र सर्जीकल उपचार नगरी समस्या लक्षणयूक्त र जटील नहुँदासम्म पर्ख र हेर (monitoring) वा अनुगमन (follow up ) गर्नु पर्दछ ।
– टयूमरको साईज १२ हप्ताभन्दा कम अथवा पेट छाम्दा नभेटिने ।
– रोगको पहिचान सही हुनु पर्दछ ।
– अनुगमन अथवा follow up सम्भव हुनु पर्दछ ।
तर तपसीलका अवस्थामा केही लक्षण नदेखीए पनि उपचार गर्नु पर्दछ जस्तैः–
– ट्यूमरको साईज १२ हप्ता वा पेट छाम्दा डल्ला भेटिने भएमा
– रोगको निदान वा पहिचान हुन नसकेमा
– अनुगमन वा follow up सम्भव नभएमा
– पाठेघरको भित्री भागमा भएमा
– निसन्तानपन भएमा
– बारम्बार गर्भपतन भई राखेमा
– ट्यूमर पाठेघरको सबैभन्दा तलको भागमा भएमा
लक्षण भएका ट्यूमरको उपचार
यसको पनि पहिलाको उमेर, बच्चाको चाहना, ट्यूमरको सख्ंया र यसको आकारमा भर पर्दछ ।
मेडीकल उपचार
सानो सानो डल्लाहरु छ रगत बगेको छैन भने र शल्यक्रिया गर्न नपर्ने अवस्थाको छ भने मेडीकल्ली पनि उपचार गरिन्छ । साथै ट्यूमर धेरै ठुलो छ र शल्यक्रिया गर्न अफ्ठ्यारो छ भने यसको आकार सानो बनाई शल्यक्रिया गर्न सहजीकरणको लागि पनि औषधीको प्रयोग गर्न सकिन्छ । मेडिकल उपचारमा खाने पिलस, रक्तश्राप कम गर्ने औषधी, ट्यूमरको आकार कम गर्ने हर्मोनल औषधी आदीको प्रयोग चिकित्सकको सल्लाह अनुसारनै गर्नु पर्दछ ।
शल्यक्रिया गर्नुपर्ने भएमा अवस्था र आवस्यकता अनुसार मासुको डल्ला मात्र पनि निकाल्न सकिन्छ र उमेर ४० बर्ष पुगेको छन्, सन्तान पूरा भएको छ र उक्त ट्यूमर राखेमा अरु समस्या वा जटिलता आउन सक्दछ भने पुरै पाठेघर र दुबै पट्टीको अण्डाशय नै फाल्न पर्ने हुन सक्दछ ।
शल्यक्रिया पेट खोलेर पनि गर्न सकिन्छ, पेटभित्र पठाउने र हेर्ने दुरबिनबाट (laporoscopy) साथै पाठेघरभित्रै दुरबीन पठाएर पनि पाठेघरमा भएका मासुका डल्ला निकाल्न सकिन्छ । हालमा विदेशतिर गर्दै आएका अत्याधुनिक प्रबिधी रोबोटीकद्धारा शल्यक्रिया पनि गरेको पाईन्छ तर नेपालमा आईसकेको छैन र आउने क्रममा छ ।
तपसिल बमोजिमका खानाहरुले उक्त ट्युमर बढाउन सहयोग गर्दछ
– बंगुरको मासु र रातो मासु तथा अथवा प्रशोधित गरेको मासुका परिकार ।
– प्रशोधित कार्बाेहाइेट जस्तैः सेतो पास्ता, सेतो पाउरोटी, सेतो भात, केक तथा कुकीजहरु ।
– मदिरा र धुम्रपानको सेवन ।
– बोसोयुक्त पदार्थ ।
– चिनी र मिठाईयुक्त पदार्थहरु ।
– धेरै नुनीलो पदार्थहरु ।
– सोडा तथा अन्य गुलियो पेय पदार्थहरु ।
– अत्याधिक क्यालोरी भएका खानेकुराहरु ।

 

तपसील बमोजीमका खानेकुराहरुले ट्यूमर कम गर्न सहयोग गर्दछ ।
– ताजा तथा पकाईएका तरकारी जस्तैः हरियो सागपात, सलाद, ब्रोकाउली आदी ।
– बिभन्न प्रकारका ताजा फलफुल ।
– गेडागुडीहरु ।
– माछा बिशेष गरेर सालमोन र टुना ।
– सेतो मासु जस्तैः कुखुरा र टर्की ।
– कम चिल्लो भएको दुध वा तर काटिएको दुध, चिज र अन्य खानेकुराहरु जसमा भिटामीनको मात्रा प्रसस्त हुन्छ ।
– फाईबर तथा पोटासीएमयुक्त खानेकुराहरु जस्तैः गहुँ, जौ, फापर, आलु, केरा, टमाटर, एभोकाडो आदी ।
– हरियो चिया र प्रसस्त मात्रामा सफा पानी ।
खानाको साथसाथै अन्य ध्यान दिनुपर्ने कुराहरु
– नियमित ब्यायाम, योग, ध्यान, चिन्तारहितको जिवनशैली
– पर्याप्त मात्रामा निद्रा वा सुत्ने बानी गर्ने
– यदी तौल बढी भएमा कम गर्ने
– उक्त रक्तचाप नियन्त्रण गर्ने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->