बागलुङ, २ फागुन– उमेर बुढ्यौली भएपनि उनको मेहेनत तन्नेरी छ । सीप सयौं वर्षअघिको मल्लकालिन कलाकार जस्तै । उनको हातमा काष्ठकलाको मुख्य सीप छ । आफ्नो सीपमा उनी कहिल्यै घमण्ड गर्दैनन् । बाबुबाट सिकेको कला तीन भाइलाई पनि सिकाएका छन् । अहिले उनको पछिपछि तीनजना भाइले कुनै न कुनै काम गर्न सक्छन् ।
बागलुङ नगरपालिका वडा नं. ३ का ५८ वर्षिय भीमबहादुर बिकले बाबुबाजेको बिरासत १२ बर्षको उमेरबाटै धान्न थालेका थिए । त्यो कला परिस्कृत बन्दै गएको छ । ५८ बर्षको उमेरमा आइपुग्दा उनले बनाएका मठमन्दिर र मुर्तिहरुको गणनासमेत गर्न सक्दैनन् । ‘सयौं मुर्ति कुँदेको छु, काष्ठकलाबाट बनाएका टुंडाल हेर्न सयौं मानिस मन्दिरमै पुग्छन्’ बिकले भने, ‘पुर्खाको इतिहास सुनेपछि मलाई अन्य पेशामा जानै मन लागेन ।’
२०२५ सालतिर विद्यालय भर्ना भएर पढेकोले उनले सरकारी जागिर पनि खान सक्थे । तर पेशालाई नै रोजे । बाबु मोतीलाल पनि मुर्तिकार थिए । मोतीलाल मात्र हैन भीमबहादुरका ६ वटा पुस्ता काष्ठकलामा थिए । ‘हाम्रा पुस्ताले पाल्पाको ऋषिकेश मन्दिर बनाएपछि एक जनाको हात काटिएको थियो’ बिकले भने, ‘अन्यत्र गएर यस्तै कला बनाउन नसकोस् भनेर हात काटिएको रे ।’ पाल्पाका तत्कालिन राजा मणीमुकुन्द सेनले कालीगण्डकी स्नान गर्न जाँदा ऋषिकेशको मुर्ति भेटेर मन्दिर बनाउन लगाएको इतिहास छ । उक्त मन्दिरमा काठको काम र मुर्ति कुँद्न भीमबहादुरका ६ पुस्ता अघिका जिजुबाउ गएको किंवदन्ती छ ।
हात काटिएर फर्केका उनका जिजुबाबुले छोराछोरीलाई काष्ठकला सिकाएपछि निरन्तर उनीहरुको परिवार यो पेशामै रमाएको उनले बताए । ‘बुबाले दाइलाई सिकाउनु भएछ, अहिले दाइबाट हामीले सिक्दैछौं’ भीमबहादुरका कान्छो भाइ इन्द्रले भने, ‘उस्तै गर्न सकिएको छैन, तर केही गर्न सक्ने भयौं ।’ माइलो सूर्य र साइलो नरबहादुरले पनि कलाकारिता सिकेका छन् ।
मल्लकालिन टुंडाल जस्तै काठमा मुर्ति कुद्नेहरु अहिले राजधानीबाहेक अन्यत्र भेटिंदैनन् । तर उनीहरुले बनाएका कलाबाट मल्लकालकै झल्को दिन्छ । ‘बागलुङ, पर्वत र म्याग्दीका आर्कषक मठमन्दिरका काष्ठकला भीमबहादुर र उनका बाबु मोतीलालले बनाएका रहेछन्’ सामाजिक अगुवा देबबहादुर श्रेष्ठले भने, ‘अहिले पनि बजारका सामुमहाजनको घरमा ढोका कुँद्न उनकै खोजी हुन्छ ।’ गैरागाउँका विश्वकर्मा भनेपछि धेरैले अहिले पनि सम्मान गर्ने श्रेष्ठले बताए ।
देवीदेवताको मुर्ति, जंगली जनावर, कलस, धनुषबाँण, यौन लिलाजस्ता मुर्ति काठमा कुँद्न भीमबहादुरलाई कसैले भेट्दैन । हरेक टुंडालमा इतिहास लेखाउन सकिने उनले बताए । ‘कुनै जन्तुको चित्र मात्र हैन, त्यसको इतिहास बुझ्नुपर्छ’ उनले भने, ‘त्यसपछि मात्रै जीवन चक्रलाई आर्कषक बनाउन सकिन्छ ।’ ‘के कला भर्ने भनेर तयारी गर्न दुई दिन लाग्छ’ उनले भने, ‘काम थालेपछि सकेर मात्रै छाड्छु ।’ पछिल्लो समय मन्दिरका टुंडाल र बजारका घरमा काठका ढोका बनाइदिन उनको खोजी हुने गरेको छ । एउटा ढोकामा २ महिना लगाएर कला भर्दा १ लाख रुपैयाँसम्म पारिश्रमिक पाएको बिकले बताए ।
आधुनिक शैलीका ढलान घर बनेपनि आर्कषक ढोका राख्ने चाहना हुनेले उनलाई बोलाउने गरेका छन् । कलात्मक ढोका बनाउन सालको अग्राख चाहिन्छ । कच्चा काठमा उनले कला भर्दैनन् । ‘कुकाठ प¥यो भने कोर्दैमा बिग्रन्छ । छिनो लगाउँदा कति वर्ष टिक्ने काठ हो चिन्न सक्छु’ उनले भने, ‘सालका अग्राख भयो भने सयौं वर्षसम्म कला बाँच्छ ।’ बाबुबाजेको पालादेखिनै उनीहरुको कलाबारे धेरैले प्रशंसा गर्थे, अहिले पनि भीमबहादुरको कलाबाट सबै दंग छन्’ बागलुङ नगरपालिका वडा नं. १ का ८४ वर्षिय दुर्गाबहादुर आचार्यले भने, ‘मेरो कान्छाबुबाले पनि भीमबहादुरका बाबु बोलाएर घरमा टुंडालहरु बनाउनुभएको थियो ।’ मुर्तिकलामै मेहेनत गरेर सिकेकोले बाँचुन्जेल यही पेशा गर्ने बिकको चाहना छ । मुर्तिकलामा आफ्नो जीवनलाई सार्थक बनाउन चाहेको उनले बताए । ‘मैले बनाएको मुर्तिले वर्षौसम्म सम्मान पायो भने मेरो सफलता त्यही हो’ उनले भने, ‘समाजका सय जनामा ५ देखि १० जना मात्र मुर्तिकलाको महत्व बुझ्नेछन् ।’
उनको कला सिक्न फर्निचरका सिकर्मी पनि चाहना राख्छन् । ‘हाम्रो फर्निचर व्यवसायमा काम गरेका धेरै युवाले भीमबहादुरलाई भेटेर बुटा कुँद्ने सीप सिकेका छन्’ बानपा ३ का तारानाथ शर्माले भने, ‘कहिले त ज्याला दिएर एकदुई दिन फर्निचर उद्योगमै बोलाएर सिकेका छन् ।’ भीमबहादुरले बागलुङ कालीका भगवती मन्दिरमा पनि मुर्ति बनाएको कालीका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । ‘२०४८ सालमा गरिएको पुननिर्माणको क्रममा काठका मुर्ति र टुंडाल उनले कुँदेको रेकर्ड भेटिएको हो’ खड्काले भने, ‘अहिले केही सत्तलहरु पुननिर्माण गर्दैछु, भीमबहादुरलाई नै बोलाएको छु ।’ व्यस्त हुने भएकोले भीमबहादुरको समय पाउन कुर्नुपर्ने उनले बताए ।
कालीगण्डकी किनारको खनियाघाटको शिवालय मन्दिर, म्याग्दीको महारानी मन्दिर र पौवा, मुस्ताङको टुकुचेका थकालीका घरमा कुँदीएका कला, मल्लाज दरवारका मुर्तिलगायत दर्जनौं मठमन्दिरमा उनले कला भरेको बताए । भीमबहादुर र भगत सर्वजीतको पुख्र्यौली एउटै हो । भगतले २००७ सालको क्रान्तिमा बीपी कोइरालालाई साथ दिएका थिए । जातीय बिभेद हटाउन उनको ठूलो भूमिका थियो । कलाकारिता जानेकोले भीमबहादुरले पनि उस्तो बिभेद खेप्नु नपरेको बताए । ‘सबैको घरका झ्यालढोकाको काम गर्ने भएर होला सबैले मलाई सम्मान गरे’ उनले भने, ‘बिभेद खेप्नु परेन ।’ भीमबहादुरको जन्मस्थल गैरागाउँ र मुलपानीमा बिभेद भने हटेको छैन । नगरपालिकाले गैरागाउँमा संग्राहलय निर्माण थालेको छ । उक्त संग्राहलयमा पनि तत्कालिन मुर्तिकला समेत रहने नगरप्रमुख जनकराज पौडेलले बताए ।
यहाँको रात्माटामा बिकले कमल जैसी मन्दिर बनाएका छन् । भर्खर निर्माण सम्पन्न भएको भवनमा पनि मल्लकालिन टुंडाल कुँदीएका छन् । ढोकामा गणेश, महादेव, बिष्णु तथा कलस कुँदेका छन् । ढोकामा देवीदेवताको मुर्ति राख्दा घरमा रोग नलाग्ने, लक्षित भित्रने उनले बताए । घरहरुमा आँखीझ्याल पनि उनले बनाएका छन् । ‘महंगो पर्ने भएकोले सबैले सक्दैनन्, खर्च गर्न चाहनलेले पक्की घर भएपनि झ्यालढोका बनाउन खोज्छन्’ उनले भने, ‘खर्चका हिसाबले महंगो परेपनि एउटा मुर्ति तयार पार्दा जीवन धन्य भएको पाउँछु ।’ बागलुङ नगरपालिका ९ स्थित तित्याङको मनकामना मन्दिर बनाउँदा उनको कौशललाई नगरपालिकाले पुरस्कृतसमेत गरेको थियो ।





