बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘अनि गीतसंगीत छाडें’

‘अनि गीतसंगीत छाडें’

उनले भने, ‘राज्यबाट पुराना गीत र संगीतको संरक्षणमा कदम चालेमात्रै कला बचाउन सकिएला, नत्र कलाको नाउँमा होहल्ला मात्रै बाँकी रहन्छ ।’


  • ढोरपाटन डेस्क
  • फाल्गुन १८ २०७७, मंगलबार

बागलुङ, १८ फागुन– गीतसंगीतको माया नभएको होइन । अहिले पनि बिहान उठेर उनले एक घण्टा सुरसाधना भने गर्छन् । केही गीत र भजन गाउँछन् । त्यो केबल आत्म सन्तुष्टीका लागि मात्रै हो । नित्यकर्म सकेपछि उनलाई पसल खोल्ने हतारो हुन्छ । अहिले उनको संगीत पाठशाला छैन । न त कुनै कक्षा लिन धाउनुपर्छ । २० वर्षसम्म धौलागिरी र काठमाण्डौका मञ्च गीतसंगीतले रंगाएका कलाकार अहिले कपडा व्यापारीमा फेरिएका छन् । ५५ वर्षका शुभराम भारी संगीत पेशाबाट पलायन जस्तै छन् ।
संगीतकार अम्बर गुरुङको अभाव हुन नदिने गरी उनले बागलुङ, पर्वत र म्याग्दीका मञ्च तताएको उनका समकक्षीहरु बताउँछन् । आधुनिक गीतका पारखीलाई मनोरञ्जन दिन उनीहरुको समूहनै थियो । धौलागिरीका हरेक मञ्चमा उनीहरुको खोजीसमेत हुन्थ्यो । २०४४ देखि २०५६ सम्म भारीले सक्रिय संगीतको साधना गरे । २०६४ सालसम्म पनि उनले गीत संगीतमा सक्रियता देखाएका थिए । सयौंको मन जितेका संगीतकार भारीले राजधानी केन्द्रीत अस्वस्थ्य प्रतिष्पर्धामा जान नसकेको बताउँछन् । भन्छन्, ‘रित्तो खल्ती र साधनाले मात्रै नहुने रहेछ, अस्वस्थ्य प्रतिष्पर्धा गरेर कमाउन मैले सकिन ।’
उनका संगीत समकक्षी जीवन आचार्य र बसन्त केसीले पनि गीत संगीतलाई चटक्कै छाडेका छन् । आचार्य अहिले बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष छन् । उनले पनि पेशा छाडेर राजनीतिमा होमिएको बताए । ‘धेरै संघर्ष गरियो, सोझो रुपमा पेशामा लाग्ने र अस्वस्थ्य प्रतिष्पर्धा गर्नेले टिक्न नसक्ने रहेछ’ भारीले भने, ‘राजधानीमा बस्ने, नेता र धनाढ्यको चाकरी गरेमात्रै संगीतमा टिक्न सकिने रहेछ ।’ पछिल्लो समयमा चलेका स्टेजमा चर्को स्वरमा गाउने गीतलाई मात्र पैसा तिर्ने प्रवृत्ति बढेको उनले बताए । बागलुङमै हुने मेला महोत्सवमा लाखौं खर्चेर कलाकार ल्याउनेले भारीलाई सम्झन छाडेका छन् । मेलाको बेला पनि भारी कपडा बेचेरै बसेका भेटिन्छन् ।
सुरसाधना गर्ने, आधुनिक गीतमा मेहेनत गर्ने जमाना हराएको उनको चिन्ता छ । ‘अब मेहेनत गरेको गीत होइन, मञ्चमा उक्लेर हल्लाखल्ला गर्नेले पैसा कमाउँछ’ उनले भने, ‘राज्यबाट पुराना गीत र संगीतको संरक्षणमा कदम चालेमात्रै कला बचाउन सकिएला, नत्र कलाको नाउँमा होहल्ला मात्रै बाँकी रहन्छ ।’ संगीत साधना गर्नेलाई रोजगारी र पारिश्रमिकको व्यवस्था नभए अधिकांस कलाकार पलायन हुने उनले बताए । भारीबाट संगीत सिकेका बिबि अनुरागी अहिले चर्चित संगीतकार दहरिएका छन् । उनले भने राजधानी केन्द्रीत संगीत साधनामा लागेका छन् । रामजी नेपाली विश्वका १ सय ९२ देशका राष्ट्रिय गीत गाउने र विश्व यात्रामा निस्केका छन् । अहिलेसम्म उनले ६५ देशको गीत गाइसकेका छन् । दुर्गा काजी र निसा सुनारहरु छिटफुट रुपमा संगीत क्षेत्रमा देखिन्छन् ।
भारी लाइभ संगीतका ज्ञाता हुन् । उनको मनपर्ने साधन हारमोनियम हो । तबला र मादल पनि उनले बजाउँछन् । ‘उनलाई धौलागिरीको अम्बर गुरुङसमेत भनेर चिनिन्थ्यो’ आचार्यले भने, ‘१२ वर्षसम्म बागलुङमा संचालन भएको नारायण गोपाल संगीत साँझ र स्मृति दिवशको उनी मुख्य कलाकार थिए ।’ नारायण गोपालकी पत्नि पेमला, रामकृष्ण ढकाल, लोचन भट्टराईसमेत संगीत सुन्न र गाउन बागलुङ आउने गर्थे । संगीत साँझमा बागलुङकै शाक्य जेठासहित श्यामलाल श्रेष्ठ र इश्वर अमात्यले पनि गीत गाउँथे ।
भारीले ‘छड्के नजर’ दोहोरीसहित सालैज्यो, सिरफूलजस्ता जीवन्त गीतहरुको एल्बम निकालेका थिए । बागलुङ कालिका, खान्छ माछी लेउजस्ता दोहोरी अहिले पनि धेरेको ओठमा कण्ठै छन् । भारीका ६ वटा बुद्ध भजनका एल्बम पनि प्रकाशित छन् । ‘जे जति मेहेनत गरेर संगीत साधना गरिन्छ त्यसको मूल्यनै छैन, बाँच्नका लागि पनि अन्य पेशामा पलायन हुनैपर्छ’ भारीले भने, ‘सोखको रुपमा आएकाले मात्रै संगीत क्षेत्रमा टिक्न सकेका छन् ।’ उनले राज्यले गीत संगीतक्षेत्रको संरक्षण गर्न नसकेको टिप्पणी गरे । ‘छिमेकी भारतमा कलाकार र गीत संगीतको कत्रो सम्मान छ, नेपालमा केही भएन’, उनले भने, ‘कलाकार हौं भनेर बाँच्न सक्ने वातावरण नबनेसम्म नेपालको मौलिक कला र संस्कृतिपनि लोप हुने खतरा छ ।’ एकपटक नेपाली गीतसंगीतको उत्थान गर्ने अभियान चाहिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->