बागलुङ, १९ फागुन– अमेरिकामा बसेर काम गरिरहेका डा. हेमराज रेग्मीले दुई दशकअघि हरिचौरको न्यु लाइफ आवासिय माविमा पढ्थे । उनी विदेशमा पुगेर पेशामा जोडिएपछि गाउँका बालबालिकालाई छात्रवृत्ति दिने काममा सहयोग गर्न थालेका छन् ।
पछिल्लो सात वर्षदेखि उनले ६ जना बालबालिकालाई निशुल्क पढाएका छन् । कक्षा १२ सम्म ती बालबालिका पढाउन आवस्यक पर्ने रकम उनले पठाउने गरेको पूर्वविद्यार्थी फमबहादुर खत्रीले बताए । बालबालिकालाई शिक्षण शुल्क, पोशाक, पुस्तक, स्टेशनरीलगायतका सबै सहयोग गरेका छन् । उनको सहयोगबाट दलीत, जनजाती र बिपन्न परिवारका बालबालिकाले संस्थागत बिद्यालयमा पढ्ने अबसर पाएका छन् । उनले छात्रवृत्ति दिएका सबै बालबालिका गलकोट नगरपालिका वडा नं. ६ को न्यु लाइफ आवासिय माबिमै अध्ययन गर्छन् ।
हरिचौरकै जयबहादुर बुढाथोकीले छात्रावाससहितको खर्च व्यहोरेर तीनजना बालबालिका पढाएका छन् । रेग्मी र खत्रीले वार्षिक ४ लाख र बुढाथोकीले ६ लाखबढी रकम छात्रवृत्तीमा खर्चेको बताए ।
क्यानडामा बसेका राजन खत्रीले पनि गलकोटकै ५ जना बालबालिकालाई नियमित पढाएका छन् । गलकोट नगरपालिका वडा नं. ५ का खत्रीले पनि सबै बालबालिकालाई कक्षा १२ सम्म निशुल्क पढाउने लक्ष राखेका छन् । विद्यालयले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका छनौट गरेर दिएपछि छात्रवृत्ति दिएको प्रअ बिरबहादुर बोहराले बताए ।
‘नियमित सहयोग आएकोले बालबालिका र उनीहरुको अभिभावकलाई हामीले कुनै शुल्क माग्नु परेको छैन’ बोहराले भने, ‘विद्यालयमा पनि स्वास्थ्य सामग्रीहरु सहयोग गरिरहनुभएको छ ।’ प्रवासबाटै २० जनाबढी बालबालिकालाई छात्रवृत्ति प्राप्त भएको उनले बताए ।
उक्त विद्यालयको २०५१ सालदेखि एसएलसी उत्तीर्ण भएका ७ सय ६ जनामध्ये झण्डै ४ सयबढी जापान छन् । तीबाहेक धेरैजसो अमेरिका र अष्ट्रेलियामा पुगेका छन् । अन्यले पनि भारत र नेपालका मुख्य शहरमा उत्कृष्ठ डाक्टर, इन्जिनियर र व्यवसायी बनेर स्थापित भैसकेको तथ्यांक छ ।





