बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

उच्च रक्तचाप र रोकथामका घरेलु उपाय

उच्च रक्तचाप र रोकथामका घरेलु उपाय


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०७७, शुक्रबार

आजको भागदौड र तनावपुर्ण दिनचर्या, बेर्पबाह खानपान अनि आलस्यभरि जिवनचर्याको कारण मानिसहरू दिन प्रतिदिन अनेकौं रोगको शिकार भईरहेको छन् । जसमध्ये विश्वब्यापी रूपमा उच्च रक्तचाप पनि एक समस्या हो । उच्च रक्तचाप एक प्रकोपकै रूपमा विश्वभर दिन प्रतिदिन बढिरहेको छ । एक अध्ययनका अनुसार समग्रमा मानव जातिमा देखीने समस्यामध्ये ५०% समस्याहरू उच्च रक्तचापको कारणले नै हुने गरेको देखाईएको छ ।
सामान्यतया रक्त प्रवाह हुँदा रक्तनलीहरूको भित्तामा रगतले पार्ने असरलाई नै रक्तचाप भनिन्छ । यसलाई रबरको बन्धक प्रयोग गरेरनाप्न सकिन्छ, जसलाई पाखुरामा बेह्रेर रक्तचाप नाप्ने उपकरणमा जोडिएको हुन्छ । यसबाट दुई प्रकारको नाप निस्कन्छ । जस्तैः १२०/८०। अघिल्लो संख्यालाई सिस्टोलिक रक्तचाप भनिन्छ किनभने यसले मुटुको धड्कन (सिस्टोल) हुँदाको रगतको चापलाई देखाउँछ र दोस्रो संख्यालाई चाहिं डायास्टोलिक रक्तचाप भनिन्छ । किनभने यो मुटु आराम (डायास्टोल) अवस्थामा हुँदाको रक्तचाप हो । रक्तचाप पारोको मिलिमिटरमा नापिन्छ र रक्तचाप १४०/९० नाघेको खण्डमा त्यस्तो बिरामीलाई चिकित्सकीय भाषामा उच्च रक्तचाप भएका बिरामीहरू भनिन्छ ।
केले बढाउँछ रक्तचाप ?
जस्तैः तपाईं बिरूवामा पानी हाल्दै हुनुहुन्छ । तपाईंले बेगसित निस्किरहेको पानीको धारा खोल्नु हुँदा वा पच्का हान्ने वा पाइपलाई विस्तारै बन्द गर्नु हुँदा पानीको चाप बढ्छ । रक्तचापमा पनि त्यस्तै सिद्दान्तमा प्रवाहित हुन्छ । रगतको प्रवाह बढ्दा वा रक्तनलीहरूको प्वाल सानो हुँदा रगतको चाप बढ्छ ।
रक्तचाप बढ्नुका कुराहरू
कुनै व्यक्तिको उच्च रक्तचाप भएका पुर्बजहरू जस्तैः बाजेबजै, आमाबुबा छन् भने तिनलाई र तिनका भावी सन्ततीहरूलाई पनि योरोग लाग्ने सम्भावना धेरै हुन्छ । पृथक जुम्ल्याहा बच्चाहरूमा भन्दा दुरुस्तै देखिने जुम्ल्याहा बच्चाहरूमा उच्च रक्तचाप हुन सक्ने खतराको संकेत देखाएको छ । एउटा अध्ययनले देखाए अनुसार ‘धमनीय उच्च रक्तचाप जीनहरूको संरचनाले गर्दा हुन्छ’ र यसले नै उच्च रक्तचाप गराउने वंशानुगत तत्व छ कि छैन भनेर निक्यौल गर्छ । असामान्य ढंगमा रक्तचाप बढ्दै जाने खतरा उमेर ढल्कँदै जाँदा बढ्दै जान्छ र यो प्रायजसोः श्याम वर्णका पुरुषहरूमा हुन्छ भन्ने तथ्यहरू फेला परिरहेको छ ।
तपाईंले नियन्त्रण गर्न सक्ने तत्वहरू :
खानामा ध्यान दिनुहोस्ः नुनले (सोडियम) विशेष गरी मधुमेहका रोगी, गम्भीर उच्च रक्तचाप भएका मानिसहरू, वृद्ध तथा केही श्याम वर्णका मानिसहरूमा रक्तचाप बढाउन सक्छ । रक्तसञ्चार प्रणालीमा बोसोको मात्रा धेरै भएको खण्डमा रक्त नलीहरूका भित्री सतहहरूमा कोलेस्ट्रोल अर्थात् चिल्लो पदार्थहरू थुप्रिन सक्छ र यसले रक्तनलीका प्वालहरू (आथेरोस्क्लेरोसिस) बिस्तारै बन्द गरेर रक्तचाप बढाउँछ । आफ्नो शरीरको हुनुपर्ने तौलभन्दा ३० प्रतिशत बढी वजन हुने मानिसहरूलाई उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । अध्ययनहरूले देखाएअनुसार भोजनमा पोटासियम र क्याल्सियमको मात्रा बढाउँदा रक्तचाप कम हुन सक्छ ।
धूम्रपान गर्दा आथेरोस्क्लेरोसिस, मधुमेह, हृदयघात तथा मस्तिष्कघात जस्ता खतराहरू हुन सक्छन् । फलतः धूम्रपान र उच्च रक्तचाप दुवै मिलेर मुटु तथा रक्त नलीसम्बन्धी खतरनाक रोगहरू निम्त्याउन सक्छ । प्रमाण अलि विरोधाभासपूर्ण भएपनि कफी, चिया र कोला पेय पदार्थहरूमा पाइने क्याफिन र मानसिक तथा शारीरिक तनाउले पनि उच्च रक्तचापलाई बढाउँछ । साथै, मादक पेय पदार्थहरू अचाक्ली वा सधैं सेवन गर्ने बानी अनि शारीरिक व्यायाम छैन भने पनि रक्तचाप बढ्न सक्छ ।
स्वास्थ्यकर जीवन शैली
उच्च रक्तचाप भएपछि मात्र उपचार गर्नु ठूलो भूल हुनेछ । सानो उमेरदेखि नै स्वास्थ्यकर जीवन शैलीबारे चासो लिनुपर्छ । अहिले नै राम्ररी हेरविचार गरेको खण्डमा भविष्यमा स्वस्थ जीवन बिताउन सकिन्छ ।
मोटो मानिसहरूका लागि चिल्लो कम भएका सन्तुलित भोजन खाने, छोटो समयमै तौल कम पार्ने कथित ‘चमत्कारी’ भोजन सेवन नगर्नेबरु उचित शारीरिक व्यायाम गर्ने कार्यक्रम कायम राख्न पर्छ । नुनको सम्बन्धमा चाहिं दिनको छ ग्रामभन्दा कम वा एक चिया चम्चा मात्रनुन प्रयोग गर्न उच्चित हुन्छ । यसको अर्थ, खाना पकाउँदा नुनको मात्रा कम गर्ने र टिनमा प्याक गरिएका खानाहरू, पाकिसकेका चिसो खानाहरू (सलामी, हाम, ससेज र अन्य) अनि सेकेका खानाहरू खान कम गर्नु हो । खाना खाने बेला नुन थप्ने नगरेर अनि प्याकेटका खानाहरूमा नुनको मात्रा कति छ कि छैन भनेर खोलमा हेरेर पनि नुन कम गर्न सकिन्छ ।
खानामा पोटासियमको मात्रालाई बढाउन पनि सकिन्छ । किनभने यसले ‘रक्तचाप कम’ गर्न सहयोग गर्छ । त्यस कारण स्वास्थ्यकर भोजनमा सिमी, गाढा हरियो सागसब्जी, केरा, खर्बुजा, गाजर, चुकन्दर, गोलभेडा र सुन्तलाजस्ता ‘सोडियमको मात्रा कम र पोटासियमको मात्रा बढी पाइने खाना’ समावेश हुनुपर्छ । मादक पेय पदार्थहरू पनि ठिक्क मात्रामा मात्रै सेवन गर्नु महत्वपूर्ण छ । उच्च रक्तचाप भएका पुरुषहरूले हरेक दिन ३० मिलिलिटरभन्दा बढी र आइमाईहरू वा कम तौल भएका व्यक्तिहरूले १५ मिलिलिटरभन्दा बढी र जन्य पेय पदार्थ पिउनु हुँदैन ।
नियमित रूपमा शारीरिक व्यायाम गर्नाले रक्तचाप कम हुन्छ र त्यसले धमनीको रक्तचाप हुने खतरादेखि जोगाउँछ । लगभग ३० देखि४५ मिनेट हिंड्ने, साइकल चलाउने र पौडी खेल्नेजस्ता सामान्य एरोबिक व्यायाम हप्ताको तीनदेखि पाँचपल्ट गर्नु लाभप्रद हुन्छ । अझ स्वास्थ्यकर जीवन शैलीसित सम्बन्धित अन्य तत्वहरूमा धूम्रपान त्याग्नु, रगतमा चिल्लोपना बढ्न नदिनु (कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स) र मधुमेह नियन्त्रणमा राख्नु, क्याल्सियम र म्याग्नेसियम प्रशस्त मात्रामा लिनु र शारीरिक तथा मानसिक तनाव नियन्त्रण गर्नु पनि अति महत्वपुर्ण छ । नाक बन्द हुँदा लगाइने झोल औषधी, सोडियम बढी मात्रामा पाइने एन्टासिड, भोक कम गर्ने औषधी अनि टाउको दुख्दा दिइने क्याफिनयुक्त पेनकिलर औषधीले पनि रक्तचापलाई बढाउन मद्दत पुर्याउन सक्छ । त्यसैले यस्ता औषधीहरू प्रयोग गर्दा विचार पु¥याउनु पर्छ ।
तपाईं पनि धमनीको उच्च रक्तचापबाट पीडित हुनुहुन्छ भने, तपाईंको भोजन तथा आनीबानीबारे व्यक्तिगत आवश्यकताअनुसार तपाईंको डाक्टरसितै सल्लाह लिनुभएर दिनचर्या परिवर्तन गर्दा बेस हुनेछ । तथापि, परिस्थिति जस्तोसुकै भएतापनि सुरुदेखि नै स्वास्थ्यकर जीवनशैली अपनाउनु उच्च रक्तचाप भएका मानिसहरूका लागि मात्र होइन परिवारका सबै सदस्यहरूका लागि लाभदायिक हुनेछ । तपाईं पनि ? सबै मानिसहरूले स्वास्थ्यकर जीवन पाएर ‘कुनै पनि ब्याक्तिले म बिरामी परें’ भन्नुनपर्ने समय नआउन्जेल आफ्नो रक्तचापलाई नियन्त्रणमा राख्नुहोस् ।
उपचारको छनौट गर्नु व्यक्तिगत निर्णयको कुरा भएकोले ब्यूँझनुहोस् ! निकट भबिस्यमै ठुलो क्षतिबाट पिडित हुनुभन्दा समयमै सचेत हुनु उपयुक्त हुन्छ । तपाईं धमनीय रक्तचाप वा मुटु, कलेजो वा मृगौलाका रोगी हुनुहुन्छ र औषधोपचार गर्दै हुनुहुन्छ भने दिनहुँ कति मात्रामा सोडियम रपोटासियम लिनुपर्छ भनेर आफ्नो चिकित्सकसित सल्लाह माग्नुहोस् ।
उच्च रक्तचाप नियन्त्रण गर्न मदत गर्ने केही तरिकाहरू :
– वजन घटाउनुहोस्
– खानामा नुनको मात्रा घटाउनुहोस्
– पोटासियम प्रशस्त मात्रामा पाइने भोजन धेरै खानुहोस्
– मद्यपान कम गर्नुहोस्
– नियमित तवरमा व्यायाम गर्नुहोस्
– तनाव कम गर्नुहोस्
– समय समयमा फुर्सद मिलाएर घुमफिर गर्ने गर्नुहोस्
– चिल्लो, पिरो, अमिलो, भुटेको, तारेको, फ्रिजमा भन्डारण गरिएका खाद्यपदार्थ, आदी नियमित तथा धेरै प्रयोग नगर्नुहोस्
– क्याल्सियम तथा म्याग्नेसियम भएको भोजन
– रेशायुक्त शाकाहारी भोजन
– तनाउ कम गर्ने उपचार विधि
– नियमित योगा
– प्रतिदिन ३० मिनेट जति दुबो तथा हरियो घाँसेमैदान मा हिन्डुल गर्नुहोस्
यसैसित सम्बन्धित कदमहरूः
– धुम्रपान गर्न छोड्नुहोस्
– कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्नुहोस्
– मधुमेहलाई नियन्त्रणमा राख्नुहोस्
– रक्तचाप बढाउन सक्ने औषधीहरू प्रयोग गर्न छोड्नुहोस्
– नियमित जाँच गराई रहनुहोस्
– प्रतिदिन समय मिलायर ३–५ लि. स्वच्छ पानी पिउनुहोस्
– दिनचर्याको निश्चित समय बनाउनुहोस्
रोग लागेर उपचार गरिरहनुभन्दा रोग लाग्नै नदिन बुद्दीमानी हो । हर कोहीले आफुलाई रोग लागोस् भन्ने त कसैले सोँच्दैन होईन ? त्यसैले नियमित रूपमा व्यायाम गर्दा अनि पुरानो शैलीको दिनचर्यालाई परित्याग गरी स्वस्थ्यकर भोजनलाई आत्मा साथ गर्दा उच्च रक्तचाप रोकथाम तथा नियन्त्रण गर्न मदत मिल्छ । उच्च रक्तचाप नियन्त्रनको लागि निम पत्ता मिश्रित ग्रिन टीको नियमित सेवनले एकदमै फाईदा पु¥याउँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->