बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पायल्स र समाधान

पायल्स र समाधान


  • कृष्ण कुमार सैजु
  • फाल्गुन २८ २०७७, शुक्रबार

भोगबिलाशी जीवनशैलीका र गरिस्ट खानपान कारण नेपालमा धेरै मानिस पायल्स रोगबाट पीडित हुने गरेको पाइन्छ । पायल्सले सबै उमेर समूहका व्यक्तिहरू संक्रमित हुने गरेको देखिएको छ ।
मानवलाई पुर्वकाल समयदेखि नै सताउदै आएको यो रोगबाट आज पनि विश्व जनसंख्याको करिब ७० प्रतिशत कुनै न कुनै उमेरमा संक्रमित हुने गरेको अनुमान छ । यसरी संक्रमित भएकामध्ये १० प्रतिशत रोग ठिक नभएर दीर्घरोगी हुने गरेको एक अध्यायनले दखाएको छ । ९० प्रतिशत रोगी सरसफाइ, खानपान र औषधिय प्रबन्धले ठिक भएका छन् । ठिक नहुनुको मुख्य कारणमध्ये बेलामा उपचार नपाउनु, रोगका बारेमा जानकारी नहुनु र हेरविचारमा कमी हुनु नै हो । नेपालका कतिपय व्यक्तिहरूले पायल्सको बारेमा बुझेको त के थाहा पनि हुँदैन । समस्याले सताइरहेको भएतापनि लाज र अज्ञानताको करन लुकाईरहेका हुन्छ ।
पायल्स मलद्वारसँग सम्बन्धित रोग हो । त्यसैले गर्दा धेरैजसो मानिसहरू यसको बारेमा खुलेर कुरा गर्न सक्दैनन् । पायल्स, बबासीर, हेमोरोइड्स, अर्ष तथा मूलब्यादी जस्ता नामबाट परिचित यो रोगअन्तर्गत मलद्वार तथा मलाशयका भित्ताहरूमा स्थित रक्तनलीहरू विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृंखलाबद्ध समस्याहरू पर्ने गर्छन् । योग, आर्युवेद, युनानी र परम्परागत चाइनीज चिकित्सा (टीसीएम)जस्ता हजारौं साल पुराना चिकित्सा प्रणालीका वैद्यकीय ग्रन्थहरू लगायत धार्मिक ग्रन्थहरूमा समेत यो रोगलाई अत्यन्त कष्टकारक रोगको रूपमा सूचीकृत गरिएको छ ।
मानिसहरूको भिन्न जीवनशैली र खानपानको कारणले गर्दा यो रोग धेरैलाई लाग्ने गरेको छ । यस रोगलाई साधारण समस्या हो भनेर हेलचेक्रयाइँ गरेको खण्डमा बिरामीले विभिन्न समस्या भोग्नुपर्नेमा निश्चित हुन्छ । रक्तनलीहरू च्यापिनाले असह्य पिडा हुने, नलीहरू कडा भएर रक्तसञ्चार रोकिनाले घाउ पनि हुन्छ । पायल्स भएको रोगीहरूमध्ये मलद्वारबाट कसैको पिप बग्ने, अंगुरजस्तो झुप्पो पलाउने र रातै भएर सुन्निने हुन्छ । यो रोगका व्यक्तिहरूलाई कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन । ठूलो आन्द्राको अन्तिम भागको रुपमा रहेको मलद्वारको भित्तामा अशुद्ध रगत भएको स–साना रक्तनलीहरू मलद्वारको भित्री तहमा रहेको हुन्छन् । यो रोग लागेपछि मलाशय तथा गुदद्वराका भित्ताहरूमा अवस्थित रक्त शिराहरू सुन्निने, शिरा र धमनीहरूको मिलन विन्दु फुल्ने, तन्कने र वरिपरीका तन्तुहरूसहित तलतिर खस्ने हुन्छ् ।
पाइल्सका प्रकार
यो रोगलाई उत्पत्ति तथा क्षेत्रका आधारमा आन्तरिक, बाह्य र संयुक्त पाइल्स गरेर तीन समूहमा बाँडिएको पाइन्छ । मलद्वारमा अवस्थित प्याक्टिनेट लाइनभन्दा तलबाट उब्जिएको पाइल्स भए बाह्य, माथिबाट उब्जिएको भए आन्तरिक र दुवै क्षेत्रबाट उब्जिएको भए संयुक्त पाइल्स भनिन्छ । पाइल्सलाई क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ गरेर चार श्रेणीमा पनि विभक्त गरिएको छ ।
प्रथम श्रेणीको पाइल्समा शिराहरू सुन्निएर सानो डल्लो बनी मलाशयमा नै रहने तर बाहिर नआउने हुन्छ । द्वितीय श्रेणीको पाइल्समा सुन्निएका नशाहरू मल त्याग गर्दा मात्र बाहिर आउने गर्दछ तर मल त्यागपछि पुनः आफ्नै स्थानमा जाने गर्दछ । तृतीय श्रेणीको पाइल्समा शिराहरूको डल्लो बाहिर आउने तर आफै यथास्थानमा नजाने, हातको सहाराले भित्र पसाएमा मात्र भित्र जाने गर्दछ । चौथो श्रेणीको पाइल्समा सुन्निएको नशाका डल्लाहरू निरन्तर मलद्वारा बाहिरनै रहिरहने गर्दछ ।
आन्तरिक पायल्स
आन्तरिक पाईल्सलाई रक्तश्रावी पाइल्स पनि भनिन्छ । रक्तश्रावी पाइल्स हुँदा रोगीलाई धेरै दुख्दैन तर नशाहरू फुटेर एक्कासी रक्तश्राव हुन्छ । रक्तश्राव पनि सामान्य, मध्यम र तिव्र गरी तीन प्रकारले हुने गरेको छ । सामान्य रक्तश्राव हुँदा रगत दिसासँग लागेर मात्र आँउछ । मध्यम रक्तश्राव हुँदा रगतका थोपाथोपा टप्किने गरी रक्तश्राव हुने हुन्छ भने तिव्र रक्तश्रावमा रगत सिर्का हालेर बाहिर आँउछ ।
बाह्य पाइल्स
बाह्य पाइल्स हुँदा रोगीलाई अत्यधिक पीडा हुन्छ तर रक्तश्राव भने धेरै हुँदैन । दिसा कडा भए रक्तश्राव पनि हुन सक्छ । यो पाइल्सलामो समयसम्म निको नभए गुदद्वाराको वरिपरी क्र्याक (फिसर) आउने, घाउ हुने र घाउ बढ्दै गएर घाउको मुख अन्तै गएर खुल्ने (फिस्टुला) हुने, घाउ पाक्ने पिप बग्ने र घाउको नयाँ मुखबाट दिसा निस्कने र अन्तत्वगत्वा गुद्द्वार खस्ने र मलाशयको क्यान्सरसम्म हुनसक्ने सम्भवना रहन्छ ।
लक्षणहरू
यो रोग सुरु हुँदा मलाशय तथा गुदद्वारमा भारीपन बढ्ने, चिलाउने, दिसा नसकिने र अलि अलि दुख्ने जस्ता लक्षणहरू देखा पर्दछन् । रोग बढ्दै गएमा मलाशयका रक्त नलीहरू सुन्निने, फुट्ने भई अकस्मात रक्तश्राव हुने गर्दछ । सुन्निएका रक्त नलीहरू र वरिपरीका तन्तुहरू तल खस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पाजस्तो मासुका डल्ला–डल्लीहरू गुदद्वार वरिपरी देखिने गर्दछन् । बाह्य पाइल्स भएको भए अत्यन्त पीडा हुने दिसा अड्केको आभाष हुने उठ्न, बस्न, हिँडडुल गर्न गाह्रो हुने, मल त्यागपछि पनि पेट सफा नभएको जस्तो हुने, मासी पर्ने, मलद्वार वरिपरी चिलाउने र दिसा बस्दा दुख्ने जस्ता लक्षणहरू पनि यो रोगमा देखा पर्दछन् ।
पायल्स हुने कारण
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान नै हो । लगातार कब्जियत भइरहनु, दिसा गर्दा कन्नुपर्ने, आउँ पर्नु, धेरै पखाला लाग्नु, खानपिनमा रेसादार खानाको कमि, हरियो सागपात नखाने, शारीरीक व्यायाम कम गर्ने, पानीको सेवनमा कमी, धेरै ब्रत बस्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तैः चाउचाउ, विस्कुट, चाउमिन, अनियमित खानपान, रक्सी, चुरोट, सुर्तीको अत्यधिक प्रयोग, भुटेतारेको बढी खाने गर्नाले पायल्स तथा रक्तनलीमा समस्या उत्पन्न हुने हुन्छ । दिसामा रगत आउने, मासु पलाउने जस्ता समस्या आउने गर्दछ । दिसा कब्जियत वा दिसा थोरै आउनु, नियमित दिसा नहुनु, दिसा पिसाब लागेको बेला नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, तेलको बढी प्रयोग हुनु पनि यसका कारण हुन् । शरीरलाई आवश्यकताभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएको अवस्थामा पनि पायल्स हुन्छ ।
कसरी थाहा पाउने ?
दिसा गर्दा समस्या हुने, दुख्ने, चस्कने, रगत बग्ने, मलाशय भारीपन हुने, यसको मुख्य लक्षण हो । रोग बढ्दै गएपछि दुखाइ पनि बढ्दै जाने र गुदद्वारमा मासुको डल्ला निस्किने, चिलाउने हुन्छ ।
गर्न नहुने र खान नहुने
माछामासु, बासी खानेकुरा, कालो दाल, पिरो, चिल्लो तथा मसला बढी भएको, अदुवा, रेडिमेट खानेकुरा, अमिलो, चना, भन्टा, आलु, बोतल बन्द कुराहरू, पुरानो अचार, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने । पायल्स भएको व्यक्तिले यस्तोे चिच नखाने जसले पेटलाई भद्दा बनाउँछ । मद्यपान र धुम्रपान झन् गर्नुनै हुँदैन, जसले झन् बढी समस्या निम्ताउँछ । खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिए पायल्स हुनबाट बचिन्छ । यदि यी कुरामा ध्यान दिन सकेपायल्स भएको छ भने पनि छिटो निको हुन्छ ।
के खाने र के गर्ने ?
हरियो सागपात काँचै खाने, पानी प्रशस्त पिउने, जौ, ब्राउन राईस, रहर तथा मुगको दाल, फलफूल प्रशस्त खाने । खानासँग काँक्रो, गाजर, मुला, नरीवल, अनार, स्याउ, बेलजस्ता फलफूल, करेला, धनिया, लौका आदि खाने गर्नुपर्छ । कब्जियत हुन नदिन हरेक दिन शारीरिक व्यायाम गर्ने, एक गिलास गाईको दूधमा आधा कागती राखेर खाँदा कसै कसैलाई रगत तथा पिप आउनेजस्ता समस्या ठिक भएको अनुभब पनि सुनाउँछन् पिडितहरू । नरिबलको बाहिरको झुस पोलेर एक चिम्टी खरानी र दुबोको दुई चम्चा रस घोलेर बिहान–बेलुका एक गिलास मनतातो पानीसँग खाँदा पनि सन्चो हुन्छ । पायल्स भएको व्यक्तिले शुरुमा खानपान र जीवनशैली बदल्नुपर्छ जसले स्वास्थ्यमा समस्या आउँदैन । पर्याप्त पानी पिउने, पेटको सरसफाइमा ध्यान दिने, स्वास्थ्य भोजन तालिका अपनाउने, रेसायुक्त वा फाईवरयुक्त खाना खाने र व्यायाम गर्ने जस्ता बानीले पायल्स हट्न मद्दत गर्छ ।
उपचार
प्राकृतिक विधि
शौच गर्दा बल नगर्ने र नियमित रुपमा शौच गर्ने बानी बसाल्नुपर्छ । सातामा कम्तिमा एक दिन उपवास बस्नु राम्रो हुन्छ । रक्तश्राप भएको बेला मलद्वारमा बरफले मालिस गर्ने र नभएको बेला सहन सक्ने तातो पानीमा २०–२५ मिनेट मलद्वार डुबाएर बस्नुपर्दछ । खस्रो मोटो खानेकुरा खाने र दिसा गरिसकेपछि मलद्वार राम्रोसँग धोई तातोपानीले सेक्ने गर्नुपर्छ । मलद्वार खुम्चाउने र फुकाउने ।
घरेलु विधि
पायल्सका रोगीले तारेको, भुटेको, मसलेदार खानेकुराले समस्या आउने भएकोले यी चिजहरूको प्रयोगबाट टाढै बस्ने । फाइबरयुक्त, झोलिलो खानेकुरा, मुलाको रस, कागती पानीको सेवन गर्नु राम्रो हुन्छ । मुलामा डाइट्री फाइबर्स पाइने भएकोले यसले स्टुललाई मुलायम गर्न सहयोग गर्ने पाचन प्रक्रिया राम्रो हुने भएकोले पायल्स भएको व्यक्तिलाई मुलाको नियमित सेवन गर्न आग्रह गरिन्छ । यसको नियमित सेवनबाट पायल्स सम्बन्धि समस्या केही महिनामै निको हुन्छ र पायल्स सम्बन्धी समस्या बढ्दा पनि बढ्दैन । साथै, मुलाले चिसो बनाउने काम गर्छ, जसले गर्दा जलनमा पनि राहत प्राप्त हुन्छ । रोगीले काँचो मुला र मुलाको रस बनाएर खाँदा राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->