बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

श्रीमानभन्दा श्रीमतीमा हुने डिप्रेसन…

श्रीमानभन्दा श्रीमतीमा हुने डिप्रेसन…

किन गर्छन त शिशुको त्याग र हत्या ?


  • कृष्ण कुमार सैजु
  • चैत्र ६ २०७७, शुक्रबार

प्रायःजसो मानसिक रोगहरू लोग्ने मानिस र स्वास्नी मानिसमा बराबर मात्रामा भेटिने भएपनि केही रोगहरू स्वास्नी मानिसमा बढी देखिएको छ । त्यसमध्ये डिप्रेसन पनि एक हो । डिप्रेसन रोग झण्डै दशदेखि पन्ध्र प्रतिशत स्वास्नी मानिसमा पाइएको छ । स्वास्नी मानिसमा डिप्रेसन बढी भेटिनु पछाडि विभिन्न कारणहरू रहेका हुन सक्दछन् ।
केही समाजशास्त्रीहरू महिलाहरूको सामाजिक स्थिति लोग्ने मानिसको तुलनामा तल्लो मानिनु, स्वास्नी मानिसहरूले परम्परागत समाजमा धेरैजसो समय घरमै बिताउने र आफ्ना मनका कुरा व्यक्त गर्ने वातावरण तुलानात्मक रुपले नपाउनुले गर्दा महिलाहरूमा डिप्रेसन वास्तवमै बढी भएको भन्ने तर्क दिन्छन् । कामकाजमा लागेका महिलाहरूको हकमा भने दोहोरो जिम्मेवारी बहन गर्नु पर्दा हुने बढी तनाब डिप्रेसन को कारण हुन सक्ने बताइन्छ ।
लोग्ने मान्छेभन्दा बढी मात्रामा स्वास्नी मानिसहरूले आफुमा मनोवैज्ञानिक लक्षणहरू पनि छन् भनी स्वीकार गर्ने प्रवृत्ति बढी पाइएको र यसले महिलाहरूमा डिप्रेसन पहिचान हुने सम्भावना बढ्ने हुन्छ भन्ने मनोविज्ञहरू महिलाहरूमा डिप्रेसन बढी भेटिने कारण यहि हो भन्छन् । यीभन्दा बाहेक आर्थिक स्वतन्त्रताको अभाव, हिंसाका सिकार महिलाहरू बढी मात्रामा हुने इत्यादि विभिन्न सामाजिक कारणले पनि स्वास्नी मानिसमा डिप्रेसन बढी भेटिने तर्क अघि सारिएका छन् ।
माथिका तथ्यहरूलाई नेपालमै गरिएको केही अनुसन्धानहरूले पुष्टि गर्दछन् । ती अध्ययनहरूले सामान्य मानसिक रोगको तुलनामा कडा प्रकारका मानसिक रोगीहरूको संख्यामा महिलाहरू बढी भएको देखिएको छ । लेखकसमेत सम्मिलित ती अध्ययनहरूले हाम्रो देशमा महिलाहरूलाई रोग छिपिइसकेपछि मात्रै उपचारको लागि लैजाने तथ्यतर्फ संकेत गरेका छन् । तर महिलाहरूमा डिप्रेसन बढी हुनुको अर्को पक्ष पनि छ, जुन शरीर विज्ञानको दृष्टिकोणबाट अझ बढी महत्वपुर्ण छ । डिप्रेसनलाई महिनाबारी र प्रसव अवस्थासग प्रत्यक्ष रूपमा सम्बन्धित पाइएको छ ।
महिनाबारी सुरु भएपछि कतिपय किशोरीहरू तथा महिलाहरूलाई प्रत्येकपल्ट सुरु हुनुभन्दा केही दिन अगाडिबाट चिडचिडाहट हुने, दिक्क लाग्ने, जागर नलाग्ने तथा अन्य विभिन्न लक्षणहरू उत्पन्न हुन्छन् । केहीमा चारपाँच दिनपछि यो समस्या आफै हराएर जान्छ त केहीमा कम भएतापनि हल्का रूपमा महिनाभरि रहिरहन्छ । यो अवस्थालाई डिप्रेसन भनिदैन । यो कतिपय केटीहरूमा हुनसक्ने एउटा सामान्य नै भन्न सकिने अवस्था हो जुन बिस्तारै ठीक हुदै जान्छ । के महिलालाई चाहिँ उपचार चाहिन्छ । अझै केहि महिलामा चाहिँ यी लक्षणहरू डिप्रेसनकै हदसम्म पुग्ने हुनाले डिप्रेसन को उपचार गर्नु पर्ने हुनसक्छ ।
Menopause को समयमा अर्थात् उमेर पुगेपछि महिनाबारी रोकिने समयमा पनि यस्तै लक्षणहरू आउन सक्दछन् । धेरैजसो महिलाहरूका यी लक्षणहरू खासै कडा हुदैनन् । तर केहि अवस्थाहरूमा दैनिक क्रियाकलापमा नै गडबडी उत्पन्न हुनसक्ने हुनाले उपचार आवश्यक हुन्छ । महिनाबारी रोकिने उमेरमा आफ्नो प्रजनन क्षमता समाप्त भएको सोचेर कतिपय महिलाहरू हीनताग्रस्त हुन्छन् भन्ने एकथरि विशेषज्ञको राय छ । तर शरीरमा आएको रसायनिक परिवर्तनलाई यसो हुनुको मुख्य कारक मानिएको छ । माथिका समस्याहरूमध्ये केहीलाई हर्मोन (Hormone)उपचारको आवश्यकता पर्दछ । कडा लक्षण भएका केहीलाई भने मानसिकरोग विशेषज्ञको सल्लाह लिनु आवश्यक हुनसक्छ ।
प्रसव अवस्थामा हुने डिप्रेसन
प्रसव अवस्थामा रहेका कूल महिलाहरूमध्ये झण्डै दुईतिहाई महिलाहरूलाई शुरुका केहि दिनभित्र हल्का उदासिपना हुनु सामान्य हो रयो अवस्था आफै केही दिनमा ठीक भएर आउँछ । सामान्य उदासीपनभन्दा निकै कडा रूपमा एक प्रकारको डिप्रेसन प्रसव अवस्थामा उत्पन्न भएको भेटिएको ले यस्ता समस्यालाई Post Partum Depressionभनी नामाकरण गरिएको छ ।
प्रसव अवस्थामा रहेका कूल महिलाहरूमध्ये १०–१५ प्रतिशतलाई बच्चा जन्मेको ६ महिनाअघि डिप्रेसन भएको भेटिएको छ । यसका लक्षणहरू प्रायःजसो बच्चा जन्मेको दुई हप्तापछि क्रमिक रुपले थकित हुँदै जाने, दिक्दारिपना या उदासी लगातार भइरहने, जागर नहुने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, सानो सानो कुरामा पनि रोइहाल्ने, जिउ भारी भइरहने, निद्रा खराब हुने, खाना नरुच्ने आदि विभिन्न लक्षणहरूमध्ये कमसेकम तीन चारवटा लक्षण पनि हुन्छन् र जब यी लक्षणले व्यक्तिको दिनचर्यामा समेत बाधा पुर्याउन थाल्दछन्, त्यस अवस्थामा उक्त महिला माथि उल्लेखित प्रकारको डिप्रेसनबाट पीडित भएको हुन सक्छ पीडित महिलाको दैनिक क्रियाकलाप, पढाई तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउन सक्छ । पीडित महिलामा नकारात्मक विचारहरू आउने क्रममा जिन्दगीनै बेकार भएजस्तो लाग्ने र त्यसपछि ‘अब त काल आइदिएहुन्थ्यो, मर्न पाएपनी आन्नदै हुन्थ्यो’ जस्तो लाग्ने पनि हुन जान्छ । रोगको तिब्रता बढ्दै गएमा मर्ने चाहना उत्पन्न हन थाल्छ र केही व्यक्तिहरूमा चरमसीमा आत्महत्यासम्म पनि पुग्छ । यस प्रकार लक्षणहरू अरु अवस्थामा हुने डिप्रेसन जस्तै भए पनि यो अवस्था फरक यस कारणले छ कि यस अवस्थामा आमाले बच्चालाई फालिदिने या अन्य प्रकारले हानि नोक्सानी पुर्याउने गर्न सक्दछिन् । Post Partum Depression बाट पीडित आमाहरूले रोगको प्रभावमा आफ्ना नवजात बच्चाको हत्या गरेका प्रसस्त उदाहरणहरू छन् । त्यस्तै यस अवस्थामा आमाले बच्चालाई दूध पुलाउन मन नगर्दा दूध जमेर स्तनमा संक्रमण पनि हुन सक्दछ । यस अवस्थाको अर्को दूरगामी नकारात्मक प्रभाब मानसिक विकासमा पर्न जान्छ । यी विभिन्न कारणहरूले गर्दा यो समस्याको सही समयमै पहिचान हुनु एकदम जरुरी छ ।
सुत्केरी अवस्थामा हुने डिप्रेसनको वास्तविक कारण अझै राम्ररी थाहा हुन सकेको छैन । बच्चा जन्मिएपछि शरीरमा आएको रासायनिक पविर्तनलाई केही अनुसन्धाताहरूले कारक भएको संकेत गरेका छन् । तर त्यस्ता रसायनहरूको उपचारबाट यो समस्या ठीक भएको पाइएको छैन तर अन्य डिप्रेसनलाई जस्तै उपचार गर्दा फाइदा भएको छ । जटिल अवस्थामा पुगिसकेपछि चाहिं अस्पतालमा भर्ना गरेर उपचार गर्नु आवश्यक हुन सक्छ । जटिल स्थितिमा विद्युतीय उपचारको पनि आवश्यकता पर्न सक्छ । उपचारले झण्डै शतप्रतिशत लाभ हासिल गर्दछन् ।
फेरि हुन नदिन के गर्ने ?
एकपटक डिप्रेसन भएर ठीक भएका महिलाहरूलाई अर्कोपटकको सुत्केरी अवस्थामा यो रोग बल्झिन सक्ने सम्भावना बढी भएकोले रोकथामको लागि उपचारको आवश्यकता गर्भावस्थामै हुन्छ । त्यसैले यस्ता महिलाहरूले गर्भ रहेको तीन–चार महिनापछि मानसिक रोग विशेषज्ञसंग सम्पर्क गर्नु राम्रो हुन्छ । यसका साथै तनावरहित न्यानो पारिवारिक वातावरण कायम गर्न सके बल्झिने सम्भावना झनै कम हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->