तनहुँ, ११ चैत – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विद्यालयबाट प्राप्त गर्ने शिक्षा विधी र प्रकृया भएको बताएका छन् । जन्मदेखी मृत्युसम्मको सिकाई, भोगाई र अनुभवबाट ज्ञान प्राप्त हुने उनको भनाई छ । ‘त्यही ज्ञानले हामीलाई मान्छे बनाएको हो । पशुबाट अलग बनाएको हो’, उनले भने, ‘शिक्षा ज्ञान प्राप्त गर्ने माध्यम मात्रै हो ।’
जिल्लाको घिरिङ गाउँपालिका–१ पुट्टारको कृष्ण माध्यमिक विद्यालयको ५९ औँ बार्षिकोत्सव एवम अभिभावक दिवसमा बोल्दै मन्त्री गुरुङले समुदायमा हस्तानतरण गरेपछि सरकारी विद्यालय सुधार हुन्छ भनेर सामुदायिक बनाउने निती सरकारले लिएको उनको भनाई छ । तर, सामुदायिक विद्यालय बनाएर पनि समस्या उस्तै रहेको उनले बताए । ‘अभिभावक, व्यवस्थापन समिति र शिक्षक जिम्मेवार हुन सकेनौँ । शिक्षक राजनितीमा लागेर जिम्मेवार हुन सकेका छैनन्’, उनले भने ।
शैक्षिकस्तर उकास्न स्थानिय सरकार जिम्मेवार हुनुपर्ने उनले बताए । शिक्षाका लागी बसाई सरेकालाई फर्काउने योजना बनाउन उनले निर्देशन दिए । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा किन कमजोर आउँछ विश्लेषण गर्न जरुरत रहेको मन्त्री गुरुङले बताए । मन्त्री गुरुङले भने, ‘निजी विद्यालयमा पढ्ने विद्यार्थी सरह किन पास हुन सक्दैनन् ? के कारण हो ? तिनै विद्यार्थीसंग बसेर छलफल गररे के कसो ग¥यो भने उनीहरु साँच्चिकै पास हुन सक्छन् । राम्रो डिभिजन ल्याउन सक्छन् । यो योजना स्थानिय तहले बनाउनुपर्छ ।’
गाउँपालिका अध्यक्ष रनबहादुर रानाले समाज परिवर्तनका लागी विद्यार्थीलाई समयसापेक्ष प्राविधिक शिक्षा दिनुपर्ने बताए । उनले दक्ष जनशक्ति उत्पादनका लागी प्राविधिक शिक्षामा लगानी बढाउन गाउँपालिका तयार रहेको सुनाए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती सिग्देल घिमिरे, वडाध्यक्ष गंगा कुमाल, शिक्षा शाखा प्रमुख निर्मला कुवँर, कक्षा १० का विद्यार्थी सचेत ढकाल लगायतले बोलेका थिए ।
कालगण्डकी तिरको बस्तीमा रहेको विद्यालयमा कक्षा १२ सम्म पढाई हुने गर्दछ । यो शैक्षिक शत्रमा पाँच सय १ जना विद्यार्थी अध्ययनरत रहेका छन् । तनहुँसंगै पाल्पा र नवलपुरका विद्यार्थी पनि यहाँको विद्यालयमा अध्ययनरत रहेका छन् ।




