बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

परदेशले हरेको ‘वसन्त’ सपना !

परदेशले हरेको ‘वसन्त’ सपना !


  • विनोद ढुंगाना
  • चैत्र १३ २०७७, शुक्रबार
दुवै खुट्टा नचल्ने भएपछि ह्विलचियरमा २९ बर्षीय बसन्तबहादुर सुनारको साथमा श्रीमति रजनी सुनार । तस्बिर : विनोद ढुंगाना/ढोरपाटन

तनहुँ, १३ चैत– एसएलसी सकाएपछि ६ वर्ष शिक्षक बने । त्यो अवधिमा उनले कहिले सरकारी त कहिले निजी स्कुलमा पढाए । सामान्य परिवारका उनलाई स्कुलले दिएको तलबले पुगेन । केटाकेटी पढाएर परिवारको गर्जो टार्ने छाँट देखिएन । स्वदेशमा अरु विकल्प देखेनन् । नचाहेर उनले जन्मभूमि छोड्नुपर्ने भयो । त्यसपछि उनले विदेश जाने सुरु कसेर पासपोर्ट बनाए । भिसा लगाएर दुबई उडे ।
६ वर्ष अगाडि काठमाडौंको आँगन छोड्दै गर्दा वसन्तबहादुर सुनारले धेरै सपना सजाएका थिए – ‘परिवारलाई सुखसयलमा राख्ने, २ छाक हात मुख जोड्नलाई मुस्किल नहोस् । छोराछोरीलाई राम्रो स्कुलमा पढाउन सकियोस् ।’
६ वर्षसम्म त दुबईको कमाइ राम्रै थियो । जिन्दगी ठिकठाक चलिरह्यो । काठमाडौं छुट्ने बेलामा देखेको सपना पूरा गर्न तल्लिन भए । बेला बखत वसन्तले घर–परदेश गरिरहे । भविष्यको सुनिश्चितताको लागि विदेशी भुमिमा कर्मसँग पैसा साटिरहे । तर, दिन सधै कहाँ एकनास चल्दो रै’छ र ? वसन्तलाई आफ्नै भाग्यले छल्यो । जीवनभरलाई साँचेको सपनामा आँधीहुरी चल्यो । २०७७ भदौ ५ गतेको दिन उनको जिन्दगीमा कालो दिन बन्यो । दुबईमा उनी सडक दुर्घटनामा परेर घाइते भए । र, उनको सपना उतै छुटेको छ ।
रेस्टुरेन्टमा ड्युटी सकाएर कोठामा फर्कदै गर्दा त्यहाँको सरकारी ट्याक्सीले ठक्कर दिएको उनले बताए । ‘दुर्घटनापछि ३ महिना त्यही उपचार भयो । निको नभएपछि कम्पनीले घर पठाइदियो,’ उनले भने । अहिले उनको दुवै खुट्टा चल्दैन । उठ्बस गर्न पनि कसैको साहारा लिनुपर्छ । उनी अहिले अपांग बनेका छन् । स्थानीय सरकारले वितरण गर्ने ‘ख’ वर्ग (निलो) अपांग परिचयपत्र पाएका छन उनले ।
तनहुँको शुक्लागण्डकी–१० रजस्थलका उनी नेपालमा आएपछि पनि निको हुने आशमा विभिन्न अस्पताल चाहरिरहेको बताउँछन् । ‘सपना बोकेर विदेश गएको थिए । यस्तो हालतमा फर्कनुप¥यो,’ उनी भन्छन्, ‘यतिन्जेल कमाएको पैसा सबै उपचार गर्दा गर्दै सकिएको छ । सरकारले उपचारमा सहुलियत दिलाईदिए अलिक सजिलो हुन्थ्यो होला ।’
उपचारपश्चात निको भएपनि आफू अब विदेश कहिल्यै नजाने सोच बनाएको उनले सुनाए । ‘कुनै दिन निको भएर पहिलाको जस्तै तन्दुरुस्त हुने आत्माबल छ,’ उनी भन्छन्, ‘तर, अब विदेशमा पाइला राख्दिन् । जो गर्छु यहीँ देशको माटोमा गर्छु ।’
देशमै रोजगारीको अवसर प्रश्सत सिर्जना भएर कोही नेपालीले परदेशीन नपरे हुन्थ्यो झै लाग्छ रे उनलाई । त्यसका लागि युवालाई सरकारले सीपमुलक तालिमदेखि सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने वसन्तबहादुर सुझाव दिन्छन् । ५ जना परिवारको मियो बसन्तको अवस्थाले परिवारमा चिन्ता थपिएको श्रीमती रजनीले बताइन् । परदेशले परिवारको खुशी लुटेको उनले सुनाइ्रन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->