बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अनुदान सदुपयोगले मात्रै समृद्धि : मन्त्री गुरुङ

अनुदान सदुपयोगले मात्रै समृद्धि : मन्त्री गुरुङ


  • महेन्द्र घर्ती ‘संगम’
  • चैत्र २२ २०७७, आइतबार

बागलुङ, २२ चैत– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले किसानलाई दिईने अनुदानले मात्रै समृद्धि नआउने बताएका छन् । राज्यले दिने अनुदान किसानले सदुपयोग गर्न नसके त्यसको परिणाम गलत आउने उनको भनाई छ ।
शनिबार बागलुङको ताराखोलामा निर्मित बहुउद्धेश्यीय सभाहलको उद्घाटन गर्दै मन्त्री गुरुङले कृषि प्रधान देशका किसानले ऋण गरेर भएपनि उत्पादनमा बृद्धि गर्नुपर्ने धारणा राखे । ऋणले मानिसलाई जिम्मेबार बनाएर धनी बन्ने बाटोमा जानुपर्ने उनको भनाई थियो । किसान बलियो र समृद्ध नबन्ने बेलासम्म देश समृद्ध नहुने भन्दै उनले व्यवसायिक उत्पादनमा सक्रिय हुन सुझाव दिए ।
सरकारले जनताका आधारभुत आवश्यकता पुरागर्न कुनै कसुर बाँकी नराखेको उनले दाबी गरे । आफ्नै कार्यकाल भित्र गण्डकीलाई उज्यालो प्रदेश बनाउने उनले घोषणा समेत गरे । सरकारले त्यसका लागि सबैखाले स्रोतको प्रयोग गर्ने बताए । ‘विद्युत नपुगेको ठाउँमा सोलार जडान हुन्छ, ढुक्क रहनुहोस हाम्रै कार्यकालमा सबैका घरमा बत्ति बल्छन्’ गुरुङले भने ।
कालोपत्रे सडक नरहेको ताराखोलामा गुरुङले भाषणको बिचमै सडक सम्झिए र आफ्नो प्रतिबद्धता राखे । ‘काठेखोला गाउँपालिकाको रिजालचोक (मध्येपहाडी लोकमार्ग)देखि ताराखोला गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम सुरु गर्छौं’ गुरुङले भने ‘पालिका मुकाम कालोपत्रे सडकले जोडिएको प्रदेश बनाउने अभियानमा हामी छौं ।’
राजनीतिक प्रसंगमा बोल्दै गुरुङले महाधिबेशनले चुनेको नेतृत्व नमान्नेले बिधि र सिद्धान्तका कुरा गर्न नमिल्ने बताए । उही पार्टीमा बसेर उही पार्टीका अध्यक्षको निर्देशन नमान्ने विधि र सिद्धान्तको कुरा नभएको उनको भनाई थियो । गुरुङले संघीयताको मर्म अनुसार विकास भएको भन्दै संघीयता नदेख्नेहरुले ताराखोलाको बहुउद्देश्यीय सभाहल हेर्दा पुग्ने तर्क गरे ।
सात सय जना क्षमताको सभाहल गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण गरिएको हो । २ करोड ८१ लाख ३६ हजार रुपैयाँको लागतमा सभाहल निर्माण भएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । गण्डकी प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानीमा सभाहल निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->