
बागलुङ, ३ वैशाख– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकीका कास्की र बागलुङसहित कोरोनाबाट प्रभावित विभिन्न १४ जिल्लामा शैक्षिक संस्थालगायत बढी भिडभाड हुने स्थानहरु बन्द गर्न आग्रह गरेको छ ।
मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङमा शैक्षिक संस्था बन्द गर्न अपिल गरेको हो ।
मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेखित जिल्लाहरुमा ‘बढी भिडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ ।
‘विद्यालय, रात्री व्यवसायहरु, सात बजे पछि मात्रै सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा, तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमाहल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, आदि स्थलहरुमा सहभागी नभइदिनहुन तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिकाहरु बढाइदिन हुन’ सूचनामा आग्रह गरिएको छ ।





