बुधबार गण्डकी प्रदेश सभामा अनपेक्षित परिदृष्यहरु देखिए । मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूचि तय भएको सदनमा राष्ट्रिय जनमोर्चाका सभासद खिमविक्रम शाही अनुपस्थित रहे । अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने आश्वासन दिएको दिएको जनमोर्चाका एक सभासद हराएपछि सुरु भएको खलबलले सदनको कारवाही प्रभावित बन्यो । सभासदको खोजी गरियो । सभासद नभेटिएपछि जनमोर्चाले आफ्ना सभासद हराएको निवेदन संसद सचिवालयमा दर्ता गरायो । सोही निवेदनको आधारमा सदनको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भयो । सदन स्थगनसँगै भएको लामो खोजबिनपछि शाही यहाँको एक निजी अस्पतालमा उपचाररत रहेको जानकारी आयो । अघिल्लो दिन सबै सभासदको पीसीआर परीक्षण गराउँदा शाही सकुशल थिए । सभासद शाहीले आफ्ना संसदीय दलका नेता कृष्ण थापासँग मतदानको बेला उपस्थित हुने वाचा पनि गरेका थिए । तर, उनी एकाएक अस्पतालको बेडमा पुगे । उनी अस्पताल पुग्नु बाध्यता थियो कि परिबन्द खुलेको छैन । तर, यो प्रकरणले सत्ताको लागि दलहरुले फोहरी खेल खेल्छन् भन्ने आम नागरिकको बुझाइमा बल पु¥याएको छ ।
संसदीय राजनीतिमा संख्या पु¥याउन अनैतिक बाटो रोजिएको यो पहिलो घटना होइन । कर्णालीमा भएको ‘फ्लोर क्रस’ र छिमेकी लुम्बिनीमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सभासदहरु नै मन्त्री बनेको घटना सेलाउन नपाउँदै गण्डकीमा सभासद हराउनुलाई सामान्य घटना मान्न सकिँदैन । हो, अन्नपानीको शरीरमा बिसञ्चो हुन्छ तर महत्वपूर्ण घडीमा मोबाइल नै बन्द गरेर अस्पताल पुग्नुलाई स्वभाविक मान्न सकिँदैन । समय क्रममा यो घटनाका भित्री पाटाहरुको पटाक्षेप होला तर बितेका केही दिनयता देखिएका परिदृष्यहरु संसदीय परम्पराको लागि ‘कालो धब्बा’ बनेकोमा पनि कुनै द्धिविधा छैन । गण्डकीमा मुख्यमन्त्री गुरुङको सत्ता जोगाउन एकजना सभासद जरुरी थिए । विपक्षमा उभिएका सभासदलाई आफ्नो पक्षमा पार्न सत्ताले विभिन्न हतकण्डा अपनाएको र अपनाउने घाम जत्तिकै छर्लङ्ग थियो । मंगलबार सदन अवरुद्ध गरेर सत्तारुढ एमालेले परिआए जे पनि गर्न तयार रहेको सन्देश दिइसकेको थियो, भला उसको माग नाजायज थिएन । द्यपि, निष्ठाको राजनीतिमा खरो उत्रदै आएको राष्ट्रिय जनमोर्चाका सभासदले अपारदर्शी गतिविधि गर्लान् भन्नेमा चाहिँ कसैको पनि आशंका थिएन । निष्ठाको राजनीतिमा आफूलाई खरो उतार्दै आएको पार्टी हो, जनमोर्चा । त्यही जनमोर्चाले आफ्ना सभासद हराएको निवेदन दिनुपर्ने अवस्था आउनु पार्टीको लागि कति पीडादायक होला, अनुमान मात्रै गर्न सकिन्छ । अहिलेको घटनाक्रमले के जनमोर्चाका सभासदहरुले पनि निष्ठा बिर्सेका हुन् ? के सभासद शाही संसदीय राजनीतिको विकृत खाडलमा खस्न पुगेका हुन् ? भन्ने प्रश्न खडा भएको छ । यी प्रश्नको उत्तर दिने दायित्व शाहीकै काँधमा छ । किनकि, पार्टी उनको गतिविधिविरुद्ध उभिइसकेको छ । सदन स्थगित भएको छ । जोड घटाउनको राजनीति चलिरहँदा सदनमा अझ विकृति भित्रने हो कि भन्ने चिन्ता देखिएको छ । ‘बूढी मरी भनेर हैन कि काल पल्क्यो भनेर रुनू’ भन्ने उक्ति सम्झने हो भने बुधबार गण्डकी प्रदेशमा देखिएको परिदृष्य आफैमा खेदजनक छ ।
