बागलुङ, १९ वैशाख– पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा गठित जिपि कोइराला फाउण्डेसनले कोइरालाको स्मृति तथा मजदुर दिवश मनाएको छ ।
मजदुर दिवशको अवसरमा आयोजित कार्यक्रममा फाउण्डेसनले तयार पारेको क्यालेन्डरसमेत सार्वजनिक गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै कांग्रेस बागलुङका पूर्व सभापति गोविन्दप्रसाद शर्मा कंडेलले नेपालको लोकतान्त्रिक आन्दोलन र मजदुर आन्दोलनमा स्वर्गिय कोइरालाको योगदानको चर्चा गरेका थिए ।
पूर्व प्रधानमन्त्री कोइरालाले २००७ सालमा विराटनगर जुट मिलबाट थालेको आन्दोलन नै मजदुर दिवशको रुपमा मनाउन थालिएको थियो । ‘मजदुरको नेताबाट देशको प्रधानमन्त्री समेत बन्नु चानचुने कुरा होइन’ कंडेलले भने, ‘राजनीतिमा उहाँ जतिको आँट भएको नेता अहिलेसम्म जन्मेको छैन ।’
कार्यक्रममा कांग्रेस सभापति दिपेन्द्रबहादुर थापाले कोइरालाको नेतृत्वमा भएको आन्दोलनले देशमा राजा फालेर गणतन्त्र आएको बताए । तर पछिल्लो समय धेरै राजा जन्मेको उनले टिप्पणी गरे ।
फाउण्डेसनका अध्यक्ष महेन्द्र कंडेलको अध्यक्षता, सदस्य ओमकार थापाको संचालन र उपाध्यक्ष जयराम भारीको स्वागतमा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





