बागलुङ, २१ वैशाख– जिल्लाको ताराखोला गाउँपालिकाका एक पुरुष केही वर्षदेखि एचआईभी एड्स विरुद्धको औषधि प्रयोग गरिरहेका छन् । आफुमा संक्रमण रहेको पुष्टि भएपछि उनले धौलागिरी अस्पतालको एआरटी सेन्टरमार्फत औषधि खान सुरु गरेका हुन् । औषधिको प्रयोगले उनको स्वास्थ्य त सुधार भएको छ । तर आफु संक्रमित भएको समाजले थाहा पाउलाकी भन्ने त्रासले भने उनलाई पिरोलीरहन्छ ।
सामान्य समयमा बिभिन्न बहानामा बागलुङ बजार आउने र गोप्य रुपमा एआरटी सेन्टर पुगेर औषधि लिने उनलाई अघिल्लो वर्षको बन्दाबन्दीको समयमा सबैभन्दा धेरै समस्या भयो । एक दिन पनि छुटाउन नहुने औषधि बन्दाबन्दीका कारण लिन पाईएन भने समस्या बल्झेला भन्ने त्रासमा उनी थिए ।
‘खुलेर हिँड्न समाज बदलिएको छैन्, महामारीको समयमा गोप्य रहन निकै कठिन हुँदोरहेछ’ उनले भने ‘सामाजिक बहिस्करणको त्रासमा हामी संक्रमित छौं, एचआईभी संक्रमण सामान्य समस्या हो भन्ने चेतनाको अभाव छ ।’ उनी जस्तै जिल्लाभर रहेका सबै संक्रमितले यो महामारीको समयमा निकै कष्टकर दिन बिताए ।
कोरोना महामारीको दोस्रो लहर जिल्लाभर फैलिईरहेको छ । एचआईभी तथा यौन रोगका बिरामीहरुलाई महामारीको समयमा थप कठिन हुने देखिएको छ । ‘संक्रमितहरुप्रति सबै सचेत र जिम्मेबार बन्नु जरुरी छ, तर हामीले सामाजिक चेतना पु¥याउनमा ध्यान दिएनौं’ धौलागिरी अस्पतालमा रहेको एआरटी सेन्टरका इन्चार्ज प्रदिप आचार्य भन्छन् ‘कोरोना संक्रमितको उच्च खतरामा संक्रमितहरु छन्, उनीहरुलाई जोगाउनु, जीवनरक्षा गर्नु मुख्य चुनौतीको विषय हो ।’
कोरोनाको उच्च जोखिममा रहेर पनि खुलेर आफ्नै रक्षाका लागि आवाज उठाउन नपाएको संक्रमितहरुको गुनासो छ । बृद्ध, बालक र अन्य बिरामीलाई जोगाउन सरकारले सचेतना अभियानहरु चलाएको भएपनि आफुहरुको विषयमा कहिँकतै आवाज नउठेको संक्रमितको गुनासो छ ।
उनीहरुलाई जोखिमबाट बचाउनका लागि आचार्य आँफैले घर घरमा औषधि पु¥याउने गरेका छन् । वर्षाको हिलो होस वा हिउँदको धुलो आचार्यले व्यक्तिगत सवारीको प्रयोग गरेर बिरामीको घर घरमा औषधि पु¥याईरहेका छन् । ‘अन्य मानिसहरु भन्दा एचआईभी तथा यौन रोग संक्रमितहरु खतरामा हुन्छन्’ आचार्य भन्छन् ‘कठिन समयमा सरसफाई खानपानमा ध्यान दिएर सुरक्षित रहन भनेको छु ।’
बागलुङमा ३ सय ८६ जना एचआईभी संक्रमित छन् । उनीहरुले गोप्य रुपमा एआरटी सेन्टरबाट औषधि प्रयोग गर्दै आएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या हजारौंमा गन्न मिल्ने अवस्थामा पुग्दा पनि एचआईभी संक्रमितहरुलाई जोगाउन सकिएको आचार्यले बताए । ‘यसै पनि शरीरको प्रतिरक्षात्मक क्षमता कमजोर हुन्छ, कोरोनाको संक्रमणबाट जस्तोसुकै अवस्थामा जोगिनु पर्छ’ आचार्य भन्छन् ‘संक्रमित निर्धक्क खुलेर आफ्नो सुरक्षा आफै गर्ने वातावरण समुदायमा बन्दा मात्रै पनि निकै सजिलो हुने थियो ।’ संक्रमितहरुका लागि स्थानीय सरकार र स्वास्थ्य संस्थाहरुले पनि आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।





