बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ताराखोलामा १५ बेड आइसोलेसन

ताराखोलामा १५ बेड आइसोलेसन

कोभिड अस्पताल संचालन तयारी ।


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २१ २०७८, मंगलबार
फाईल तस्विर

बागलुङ, २१ वैशाख– ताराखोला गाउँपालिकाले संक्रमितको संख्या बढेपछि आइसोलेसन बेड बढाउन सुरु गरेको छ । सुरुमा ५ बेडबाट थालेको अभियान १५ बेड संख्या पु¥याउनेमा पुगेको हो ।
साँदीस्थित हिल स्वास्थ्य चौकीमा पहिलो चरणमा कोभिड अस्पतालको रुपमा चलेको थियो । उक्त स्थानमा आइसोलेसन राख्दै ताराखोला वडा नं. २ स्थित अर्गलमा पनि आइसोलेसन बढाएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । पालिकाले सबै वडामा रहेका स्वास्थ्य चौकीमा पनि अन्य उपचार नियमित गराउने योजना उनले सुनाए ।
हालै निर्माण भएको बहुउद्धेश्यीय सभाहलमा कम्तिमा १५ जना बिरामी राख्न सक्ने बेडको व्यवस्थापन गरिएको हो । एम्बुलेन्स चालक र अर्का एकजनामा संक्रमण देखिएपछि साता दिनमै ताराखोलामा १० जना सक्रिय संक्रमित पुगिसकेका छन् । तीमध्ये केही अहिले होम आइसोलेसनमा छन् । एकजना बागलुङस्थित धौलागिरि अस्पतलमा आइपुगेका छन् ।
गाउँपालिकामा एक डाक्टर र दुई नर्ससहित अन्य स्वास्थ्यकर्मीको दरबन्दी भएकोले तत्काल उपचारका लागि संभव हुने र सामान्य लक्षण भएकालाई गाउँमै उपचार गराउन पहल थालेको उनले जानकारी दिएका छन् । गाउँपालिकाले अक्सिजन सिलिण्डर समेत खरिद गरेर ल्याएको उनले जानकारी दिए ।
‘जटिल समस्या भएको र निरन्तर ज्वरो आएको बिरामी भएमा बागलुङ पठाउने, नत्र गाउँमै उपचार गराउने योजना छ’ उनले भने, ‘तत्कालका लागि ७ लाख रुपैयाँ रकमान्तर गरेर स्वास्थ्य सामाग्री खरिद भैसकेको छ ।’ अन्य शिर्षकमा खर्च नभएको बजेट यता खर्चने योजना पनि उनले सुनाए ।
भारतबाट आउनेको निगरानी भैरहेपनि संक्रमण बढीरहेको स्वास्थ्यकर्मी नितु खड्काले बताइन् । खड्काले सामाजिक संजालमार्फत पनि कोभिड भएका बिरामीको उपचारमा घर र अस्पतालमा पनि खटिने जानकारी गराएकी छिन् । कोभिड अस्पतालका लागि चाहिने स्वास्थ्य सामाग्री खरिद गरेर पालिकामा पु¥याइसकिएको छ ।
सामान्य लक्षण देखिएका बिरामीलाई गाउँमै उपचार गरेर निको बनाउने लक्ष उनीहरुले राखेका छन् । ताराखोलामा संक्रमणमा परेकामध्ये चितवन र अन्य तराईका जिल्लाबाट फर्केकाहरु बढी छन् । उनीहरुबाट समुदायमा पनि संक्रमण फैलिएको भेटिएको हो ।
कोभिड अस्पताल संचालन तयारी
अन्य पालिकामा पनि स्थापना भएर प्रयोगमा नआएका कोभिड अस्पतालहरु अब धमाधम संचालनमा ल्याउने क्रम सुरु भएको छ । बागलुङका १० पालिकामध्ये ९ वटाले कोभिड अस्पताल स्थापना गरेका थिए । बागलुङ नगरपालिकाले भने रात्माटामा आइसोलेसनको व्यवस्थापन गराएको नगरप्रमुख जनकराज पौडेलले बताए ।
अधिकांस पालिका तहमा स्थानीय स्वास्थ्यचौकीको पूर्वाधार प्रयोग भएका छन् । ती स्वास्थ्य चौकीमा नियमित उपचारबाहेक बिरामीको व्यवस्थापन गरिएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष अमरबहादुर श्रीषले बताए । ‘अहिलेसम्म त सक्रिय संक्रमित थिएनन्, त्यसैले तयारी थिएन, अब गाउँ गाउँमा आएका मानिसको परीक्षण गर्दा अवस्य संक्रमित भेटिन्छन्’ श्रीषले भने, ‘लक्षण र जटिल अवस्था आएमा अन्य अस्पताल पठाउने, सामान्य भएमा यही उपचार गर्ने लक्ष छ ।’
गलकोट नगरपालिकाले कोभिड अस्पताल बाहेक नरेठाँटी स्वास्थ्य चौकीमा पनि झण्डै २० जनासम्म संक्रमित राख्न सक्ने आइसोलेसन बनाएको वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए ।
गत वर्ष विद्यालयहरु क्वारेन्टाइन र आइसोलेसन बनाएका पालिकाले यो वर्ष भने त्यस्तो तयारी गरेका छैनन् । ‘अहिले लक्षण नदेखिएका संक्रमितलाई घरमै बस्न लगाइएको छ’ स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले भने, ‘खानपान, स्याहार र आत्मबलका लागि पनि घरमा बसेकाहरुको राम्रो अबस्था देखियो ।’ जटिल समस्या देखिएको खण्डमा मात्रै अस्पताल आउन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->