बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

घर घरमै सुरक्षित छन् संक्रमित

घर घरमै सुरक्षित छन् संक्रमित


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २४ २०७८, शुक्रबार

बागलुङ, २४ वैशाख– बागलुङमा कोरोनाका सक्रिय संक्रमितहरु २ सयबढी भैसकेका छन् । धौलागिरि अस्पतालमा २५ बेड मात्रै आइसोलेसन छ । त्यसैले अधिकांस संक्रमित घर घरमा बसेका छन् ।
उनीहरुमा ज्वरो वा अन्य जटिल लक्षण देखिएको खण्डमा मात्रै अस्पतालमा आउन भनेकोले घरमै सुरक्षित भएर बसेका हुन् । तर घरमा बस्दा पनि कतिपयलाई समस्या भने भैरहेको छ । उनीहरुले स्वास्थ्यकर्मीलाई खबर गरिरहेका छन् । परामर्श लिएर औषधि पनि सेवन गरेको संक्रमितले बताए ।
घरमा बस्दा परिवारको माया पाउने, समयमा खाना खाने तथा एक्लो महसुस नहुने कारणले अधिकांसले घर रोज्न थालेका छन् । अस्पतालले पनि जटिल समस्या नभएसम्म नआउन भनेकोले घरमै बसेको उनीहरुको भनाई छ । ‘अस्पताल जान खोजेको थिए, तर बेड पनि छैन, जटिल समस्या नभएमा घरमै सुरक्षित बस्नुहोस् भनेपछि गइएन’ बागलुङ नगरपालिका २ का एक संक्रमितले भने, ‘शौचालय र प्रयोग गर्ने भाडाकुँडा आफ्नै बनाएको छु ।’ कोठाभित्रै बस्ने र सुरक्षित रहने गरेको उनले बताए । लक्षण नदेखिएका संक्रमित घरमै बस्दा बढी सुरक्षित हुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
बागलुङ नगरपालिकाभित्रका झण्डै १ सय, ताराखोलाका ३० र अन्य पालिकाका पनि अधिकांस संक्रमित घरमै बसेका हुन् । समुदाय तहमै संक्रमण फैलिएपछि अस्पताल र आइसोलेसन बेड खोजेर पठाउनुभन्दा घरमै सुरक्षित भएकोले बस्न लगाएको गुरौले बताए । घरमा बसेका संक्रमितलाई पालिका तहका स्वास्थ्यकर्मीले फोनमार्फत सूचना दिने र आवस्यक परेमा औषधि पठाइदिने गरेको एक संक्रमितले बताए ।
‘मलाई दुईचार पटक फोन गरेर कस्तो छ, भनेर सोधिएको छ, मैले लक्षण बताएपछि औषधि दिनुभयो’ एक संक्रमितले भने, ‘घरमा बस्दा सजिलो महसुस भएको छ ।’ ताराखोला गाउँपालिका २ का एक संक्रमितले पनि स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीले चासो राखेको बताए ।
रुघाखोकी र हल्का ज्वरो मात्र हुनेले घरमै बसेर सुरक्षित रुपमा बस्दा छिटो निको हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । बलेवा क्षेत्रमा संक्रमण भएका अधिकांस बालबालिका पनि घरमै बसेर निको भएको उनले जानकारी दिए । गलकोट नगरपालिकाकी एक जनप्रतिनिधिले पनि घरमै बसेर आराम गरेको बताइन् । उनले आफ्नो स्वास्थ्य सुधार बन्दै गएको समेत जानकारी दिइन् ।
स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार घरमा बसेकाहरुमा स्वास्थ्य सुधार समेत छिटो र प्रभावकारी भएको छ । उनीहरुलाई नजिकको स्वास्थ्य संस्थाबाट नियमित सम्पर्क गर्ने काम भएकोे घिमिरेले बताए । ‘यो पटक धेरै बालबालिका संक्रमित थिए, त्यसैले अभिभावककै निगरानीमा घर घरमा राखिएको हो’ उनले भने, ‘जटिल समस्या नआएका जो कोहीलाई घरमै बसेर सुरक्षित रहन लगाइएको छ ।’ घरमा हुँदा खानपान राम्रो हुने, परिवारकै निगरानी रहने र भीड कम हुने भएकोले होम आइसोलेसनको मापदण्ड बनाइएको उनले बताए ।
श्वासप्रश्वास समस्या भएका, दिर्घरोगी लगायतलाई भने अस्पतालमा ल्याउने व्यवस्थापन गरिएको थियो । ‘अस्पतालमा सबै चिकित्सक र नर्सले नियमित उपचार र परामर्श दिने भएकोले जटिल बिरामी आउनु पर्छ, अन्यको हकमा घरनै सुरक्षित छ’ पोखरेलले भने, ‘लक्षण अनुसारको उपचार र औषधि खुवाएर धेरै निको पनि भैसके ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->