शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनासँग लड्न के गर्दैछन् बागलुङका स्थानीय तह ?

कोरोनासँग लड्न के गर्दैछन् बागलुङका स्थानीय तह ?


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २५ २०७८, शनिबार

बागलुङ, २५ वैशाख– ०७६ चैत १५ गते बागलुङकी १९ वर्षीय एक युवतीलाई कोरोना संक्रमण पुष्टि भयो । नेपालमै पहिलो पटक संक्रमण पुष्टि भएको त्यो पहिलो घटना थियो ।
आवश्यक भौतिकमात्रै नभई मानसिक रुपमा पनि तयार नभइसकेको अवस्थामा त्यसरी संक्रमित फेला पर्नु सबैका लागि चुनौतीको विषय बन्यो । बागलुङस्थित धौलागिरि अस्पतालमा आइसोलेसन वार्ड त बनाइएको थियो । तर, न स्वास्थ्यकर्मीमा अनुभव थियो न त अस्पतालसम्म कसले ल्याउँछ भन्ने स्वीकारोक्ति नै !
कोरोना नियन्त्रणका लागि गठित ‘जिल्ला कमान्ड पोस्ट’ ती युवतीलाई कोरोना संक्रमण पुष्टि भएको ७ घन्टासम्म अन्यौल नै रह्यो । त्यतिबेलासम्म राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर फैलिइसकेको थियो ।
यहाँसम्म कि संक्रमितलाई आइसोलेसन वार्डसम्म ल्याउने जिम्मेवारी पाएको एम्बुलेन्स चालकसमेत बरु आफूले जागिर छोड्ने तर, बिरामी नबोक्ने भन्दै सम्पर्कविहीन भइदिए । अस्पतालसम्म ल्याउन कोही तयार नभएपछि आफैं तम्सिए, जिल्ला स्वास्थ्य प्रमुख डा सुरज गुरौं र उनका चालक रुद्र पराजुली ।
सम्भवतः उनी नेपालमै पहिलो पटक पिपिईको अनुभव लिने ती २ पहिलो व्यक्ति हुन् । पुनः चैत १९ मा ६५ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भयो । ती संक्रमितलाई पनि उनीहरुले नै अस्पतालसम्म ल्याएका थिए ।
अनुभव र तयारीबिनै पनि धौलागिरि अस्पतालमा उनीहरुको सफल उपचार भयो । दुवैले कोरोना जिते र घर फर्किए । धौलागिरि अस्पतालमा कोरोना संक्रमितको सफल उपचा। भएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पटकपटक भन्थे, ‘धौलागिरि अस्पताल र त्यहाँ कार्यरत कर्मचारीलाई धेरै धन्यवाद । अरु सरकारी अस्पतालले पनि सिक्नुपर्छ ।’
अरु अस्पतालले कोरोना संक्रमितलाई राख्न नमान्दा धौलागिरि अस्पतालले भने आँट गरेको भन्दै मुख्यमन्त्री गुरुङ पटकपटक प्रशंसा गर्छन् । तर, अहिले नेपालमा ‘न्यु भेरियन्ट’ फैलिइसकेको छ । जुन अघिल्लो कोरोनाभन्दा जटिल प्रजातिको रहेको चिकित्सकहरु सुझाउँदै आएका छन् ।
कोरोनासँग लड्न ‘आइसोलेसन बेड’
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारसम्म गण्डकीमा ४ हजार ६२० जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये बागलुङका ३ सय ३२ जना छन् । कोरोनाबाट अहिलेसम्म बागलुङमा ९ जनाको मृत्यु भएको छ ।
अघिल्लो लहरमा पहिलो पंक्तिमा उभिएर कोरोनासँग लडेको बागलुङ दोस्रो लहरसँग पनि लड्न अहिले स्थानीय तहले धमाधम आआफ्नै आइसोलेसन बेड बनाइरहेका छन् ।
जिल्लाका स्थानीय तह ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, काठेखोला, तमानखोला, निसीखोला, बरेङ र बागलुङ नगरपालिका लगायतले आआफ्नै आइसोलेसन कक्ष बनाउन लागेका हुन् ।
जसमध्ये बागलुङ नगरपालिकाले ३५ बेडको आइसोलेसन वार्ड बनाउने तयारीमा छ भने बाँकी गाउँपालिकाले बनाइसकेका छन् । ताराखोला गाउँपालिकाले १५ बेडको आइसोलेसन कक्ष बनाइसकेको छ ।
‘५ बेड पहिल्यै थियो । तर, कोभिडढ महामारी बढ्ने देखिएपछि १० बेड थपेका हौं,’ गाउँपालिका प्रकाश घर्तीमगर भन्छन्, ‘गम्भीर बिरामीलाई आवश्यक पर्ने अक्सिजन पनि तयारीका साथ राखेका छौं ।’
अध्यक्ष मगरले गाउँपालिकाले बनाएको ‘कोभिड अस्पताल’मा एक जना चिकित्सक र ३ जना स्टाफ नर्सको व्यवस्था गरिएको जानकारी दिए । ‘अप्ठेरो अवस्थामा चाहिने एम्बुलेन्स पनि तयारी अवस्थमा राखेका छौं । पोजेटिभ आएकाको सुरुमा यहीं उपचार हुन्छ । बढी गाह्रो हुन थालेमा सम्बन्धित ठाउँमा रेफर गर्छौं,’ उनले भने ।
काठेखोला गाउपालिकामा १० बेडको अक्सिजन सहितको आईसोलेसन निर्माण गरिएको अध्यक्ष अमर थापाले वताए ।
निसीखोला गाउँपालिकाले ५ बेड क्षमताको आइसोलेसन वार्ड बनाएको उपाध्यक्ष शोभाकुमारी कार्कीले जानकारी दिइन् । त्यस्तै, बडिगाड गाउँपालिकाले पनि स्थानीय स्वास्थ्य संस्थामै १० बेडको आइसोलेसन कक्ष बनाएको छ । ‘गाउँपालिकाका गम्भीर बिरामीलाई आवश्यक पर्ने १५ वटा अक्सिजन पनि तयारी अवस्थामा राखेका छौं,’ गाउँपालिकाअध्यक्ष मेहरसिंह पाइजाले भने ।
बागलुङ नगरपालिकाले आफ्नो साविकको कार्यालयमा ३५ बेड क्षमताको आइसोलेसन बनाउने तयारी गरेको छ । धौलागिरि अस्पतालको थोरै क्षमता भएकाले र जटिल बिरामीलाई मात्र उपयुक्त भएकोले नगरपालिकाले आइसोलेसन थपेको मेयर जनकराज पौडेलले जानकारी दिए ।
नगर स्वास्थय शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ती बेडका लागि अक्सिजनको व्यवस्था गरिएको उनले बताए ।
लामो समयसम्म स्थानीय पालिकाले बेड नबनाएको गुनासो आइरहेको बेला बागलुङ नगरपालिकाले काम थालेको हो । नगरप्रमुख जनकराज पौडेलले निर्माणाधिन बेडमा स्वास्थ्यकर्मी र अन्य सुविधा थप गर्न गण्डकी प्रदेश सरकारमा अनुरोध गर्ने बताए । स्थानीय श्रोतले भेटेसम्म काम गर्ने र नभएमा प्रदेश सरकारबाट पनि सहयोग जुटाउने पौडेलले जानकारी दिए । पौडेलका अनुसार नगर स्वास्थ्य शाखामा पनि स्वास्थ्यकर्मीको दरबन्दी अभाव छ । दरबन्दी थपेर भएपनि सेवा चुस्त बनाउने योजना बनाइएको हो ।
नगर स्वास्थ्य प्रमुख खनालले भने बाहिरबाट आउनेका लागि होल्डिङ सेन्टर निर्माण सुरु भएको बताए । बानपा १ को रामरेखामा होल्डिङ सेन्टर राखेपछि शंकास्पद मानिसलाई सोझै घर घरमा जान नदिने योजना उनले सुनाए । संक्रमणको दर तीब्र भएकोले उक्त योजनाले संक्रमण नियन्त्रणमा साथ मिल्ने उनको भनाई छ ।
सुरुवातमा सुस्त भएपनि बागलुङका अन्य पालिकाले पनि आइसोलेसन बढाउन थालेका छन् । ताराखोला गाउँपालिकाले १५ बेडको आइसोलेसन बनाइसकेको स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए । बडिगाड गाउँपालिकाले स्थानीय स्वास्थ्य संस्थामै १५ बेड आइसोलेसन बनाएको हो । तमानखोला, निसीखोला, बरेङ लगायतले पनि आइसोलेसन बनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->