पोखरा, २५ बैशाख – अक्सिजन दिएर राख्नुपर्ने बिरामी छ, आइसोलेसन बेड खाली छ कि छैन ? पोखराको लेखनाथ स्थित संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचनलाई आउने फोनमा धेरैले यही प्रश्न गर्छन् । उनले आप्mनो अस्पतालमा जम्मा ५० बेड आइसोलेसन भएको र अस्पतालको आकस्मिक कक्षमा समेत कोरोना संक्रमित राखेर उपचार गर्नुपरेको जवाफ फर्काउँछन् ।
बिरामीका आफन्त होस् वा उच्च पदस्थ व्यक्तीले उनलाई बेड मिलाउन अनुरोध गरिरहेका छन् । उनले पनि आकस्मिक कक्षमै राखेर भएपनि उपचार गर्न बिरामी बोलाए । अस्पतालको आकस्मिक कक्षमा राख्ने गरी बुधबार ३ जना कोरोना संक्रमित थपिए ।
गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार गर्न सोही अस्पताललाई तोकेको छ । यसका अलवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य निजी अस्पतालहरुमा पनि कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितको उपचार गर्न प्रेदश सरकारले तोकेका सरकारी अस्पताल भएकै कारण उक्त अस्पतालमा भने अन्यत्र भन्दा बिरामीको चाप बढी छ ।
आकस्मिक कक्षमा समेत संक्रमितको उपचार गर्नुपरेकाले अन्य रोगका विरामीलाई उपचार गर्न असम्भवप्रायः भएको छ । अस्पतालमा उपचार गर्न बुधबार २ जना चोट लागेका व्यक्ती उपचार गर्न पुगेका थिए । उनीहरुको उपचारमा निकै कठिनाई आएको डा. गौचनले बताए ।
‘हामीलाई एकदमै गाह्रो भएको छ, कोरोनाको उपचार गर्ने कि अरु विरामीको’, डा. गौचनले भने, ‘अक्सिजन लगाउनुपर्ने कोरोनाको विरामी यसरी नै २, ४ दिन बढ्यो भने हामीले थेग्न सक्दैनौं ।’
सरकारले चालु आर्थिक बर्षदेखि मात्रै यस अस्पतालले आफ्नो मातहतमा लिएको थियो । यसअघि लेखनाथ लायन्स सामुदायिक अस्पतालका रुपमा रहेको यो अस्पताल कोरोना महामारी आएपछि समुदायले प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए । प्रदेश सरकारले यस अस्पताललाई संक्रामक र सरुवा रोग विशेष अस्पताल बनाउने लक्ष्य राखेको छ ।
सामुदायिक अस्पताल हुँदा यो अस्पतालको क्षमता जम्मा १५, २० जना विरामीको मात्रै उपचार गर्ने थियो । प्रदेश सरकारले ५० बेडको अस्पताल चलाउने निर्णय गरेपछि मात्रै उक्त अस्पतालमा ५० बेड आइसोलेसन बनेको हो । आइसोलेसनमा बसेका ४० जना भन्दा बढी बिरामीलाई अक्सिजन दिनुपरेको अस्पतालका मेडिकल अधिकृत डा. कविता पाठकले बताइन् । उनका अनुसार अरु बिरामीको भने उपचारका क्रममा निको हुँदै जाँदा अक्सिजन दिन छाडिएको हो ।
सरकारले अस्पतालमा आइसियु र एचडियु संचालन गर्न आवश्यक उपकरण खरिद गरिसकेको छ । तर मावन संशाधनको अभावमा उक्त सेवा संचालन गर्न नसकेको कार्यकारी निर्देशक डा. गौचनले बताए । जनशक्ति नभएकै कारण अस्पतालले आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई अन्य अस्पतालमा रिफर गर्ने गरेको छ । अस्पतालमा उपलब्ध सेवा दिएर कोरोना संक्रमितको उपचारमा भने कुनै कसर बाँकी नरोखेकको उनले बताए ।
अहिले अस्पतालमा कन्सल्टेन्ट डाक्टर ४ जना, मेडिकल अधिकृत ६ जना, नर्स ६ जना प्रयोगशालामा ३ जना र अन्य स्वास्थ्यकर्मी २ जना कार्यरत छन् । यति सानो संख्याको स्वास्थ्यकर्मीले ५३ जना कोरोना संक्रमित र अन्य नियमित उपचार सेवा समेत दिनुपरेको डा. गौचन बताउँछन् ।
‘हाम्रो टिमले सकेसम्म थेग्ने प्रयास गरेका छौं, यो हाम्रो पेशागत दायित्व हो’, उनले भने, ‘जतिसुकै गाह्रो भएपनि हामीले सेवा दिनुपर्छ भनेर लागेका छौं ।’
पोखराका विभिन्न अस्पतालमा भएको आइसोलेसनहरुमा विरामीले मन पराएको आइसोलेसन हो, संक्रामक तथा सरुवा रोग अस्पतालको आइसोलेसन । यसका पछाडी अस्पतालका स्वास्थ्यकर्मी मिलेर दिने सेवा नै हो । प्रदेश सरकारले गत बर्षदेखि नै उक्त अस्पताललाई कोरोना संक्रमितको उपचार गर्न तोकेपछि स्वास्थ्यकर्मीहरु समुहमा मिलेर सेवा दिन तल्लिन छन् ।
अन्यत्रका अस्पतालमा डाक्टर विरामीको परिक्षण गर्न राउण्डमा जान्छन्, अवस्था बुझेर फर्कन्छन् । यस अस्पतालमा भने बिरामीसँगै स्वास्थ्यकर्मीको टोली पनि आइसोलेसनमा बसेका छन् । बिरामीको उपचार गर्न २४ घण्टा नै उपलब्ध हुने गरी बसेको टोलीमा १ जना डाक्टर, १ जना नर्स, १ जना पारामेडिक्स र १ जना सहयोगी ४ जनाको टिम छन् ।
डा. पाठकको टिममा पारामेडिक्स रविन्द्र अर्याल, नर्स चाँदनी भुगाई र कार्यालय सहयोगी श्रीभद्र कँडेल छन् । उनको टिमलाई नेत्र सहायक वर्षा काप्mलेले पनि साथ दिएकी छिन् ।
अस्पतालको आइसोलेसन कोठामा ल्याण्डलाइन फोन राखिएको छ । यस्तै, डाक्टरलाई फोन गर्न अस्पतालले छुट्टै मोबाइल र नम्बर बिरामीलाई उपलब्ध गराएको छ । माथिल्लो तलाको आइसोलेसनमा बिरामी छन्, तल्लो तलामा डाक्टर सहित स्वास्थ्यकर्मीको टिम बस्छन् । बिहान र बेलुका डाक्टर सहितको टोली बिरामीको स्वास्थ्य परिक्षणमा पिपिई लगाएर जान्छन् । बिरामीले बोलाउँदा जुनुकै बेला गएर स्वास्थ्य परिक्षण र उपचार गरिने डा. पाठकले बताइन् ।
नियमित स्वास्थ्य परिक्षण र बिरामीले बोलाएको बेला बाहेक पनि उनीहरु संक्रमितको निगरानी गरिरहेका हुन्छन् । आइसोलेसनमा राखिएको सिसिटिभीमार्फत् स्वास्थ्यकर्मीको टोलीले बिरामीको अवस्था हेरिरहेको उनले बताइन् ।
बिरामीको उपचारमा मात्रै होइन, उनीहरुको खाना, खाजा लगायत संक्रमितका आफन्तले ल्याइदिने सामाग्री पनि स्वास्थ्यकर्मीको यही टिमले बिरामीसम्म पु¥याउने गरेको छ । अहिलेसम्म अक्सिजन प्लान्ट नभएको यस अस्पतालमा २, ३ घण्टाका फरकमा १२ वटासम्म अक्सिजन सिलिण्डर फेर्नुपर्छ । यो काम पनि यही स्वास्थ्यकर्मीको टिमले गरिरहेका छन् ।
अस्पतालमै बसेर २४ घण्टा ड्युटी गर्दा कहिले त सुत्नै नपाउने उनीहरुको भनाई छ । ‘दिनमा त्यही २, ३ घण्टा सुतिन्छ होला’, डा. पाठकले भनिन् ।
यसरी दिनरात अस्पतालमै बसेर सेवा दिनुपरेको कारण भने मानव संशाधनको अभाव नै मुख्य कारण रहेको अस्पतालले जनाएको छ । यसका अलवा बिरामीको राम्रोसँग हेरचाह र उपचारमा यो विधिबाट काम गर्दा प्रभावकारी देखिएको डा. गोचनले बताए । ‘जुनसुकै बेला डाक्टर सहित स्वास्थ्यकर्मीको टोलीले उपचार गर्दा बिरामी छिटो निको हुने देखियो’, उनले भने, ‘जनशक्तिको अभाव भएकाले पनि यो विधिबाट काम नगरी भएन ।’
उक्त अस्पतालको आइसोलेसनमा बसिरहेकाहरु र कोरोना निको भएर फर्केकाहरु पनि अस्पतालको सेवा देखेर दंग छन् । ‘हामीलाई त सबै कुरा डाक्टरले नै आएर दिनुहुन्छ’, उक्त अस्पतालमा उपचार गरेर फर्केका एक महिलाले भनिन्, ‘जुनबेला पनि डाक्टर आउनुहुन्छ, हामीलाई धेरै कुरा सिकाउनुहुन्छ ।’
अस्पतालका स्वास्थ्यकर्मीहरु पनि बिरामीले गर्ने ‘रेस्पोन्स’कै कारण आफूहरु त्यसरी आइसोलेसनमा बसेर उपचार गरेको बताउँछन् । कोरोना संक्रमण भएर अस्पताल पुगेका संक्रमित शुरुका ३, ४ दिन गाह्रो मान्ने गरेको डा. पाठकले बताइन् ।
‘विस्तारै संक्रमितले पनि बुझ्दै जानुहुनछ । एकदम केयर हुनेरहेछ भन्नुहुन्छ । हामीलाई एकदम रेस्पोन्स गर्नुहुन्छ । त्यही रेस्पोन्सले मात्रै हामीलाई काम गर्न उर्जा दिन्छ’, उनले भनिन् । अस्पतालबाट डिस्चार्ज भएर जाने बिरामीले समेत आप्mना आफन्त र साथीलाई कोरोना संक्रमण हुँदा यही अस्पतालमा जान सिफारिस गर्ने गरेको उनीहरुको अनुभव छ ।
यसरी टिममा अस्पतालमै बसेर सेवा दिन उनीहरुले समय तोकेका छन् । ७ देखि १० दिनमा टिम फेरिने र २ देखि ५ दिन होम आइसोलेसनमा बसेर फेरी फर्कनुपर्ने डा. पाठक बताउँछिन् । ‘मेरो टिमको पालो अब सकिने बेला भयो, हामी होम आइसोलेसन जान्छौं’, उनले भनिन्, ‘अब अर्को टिम आएर यसरी नै बिरामीको उपचारमा खट्नुहुन्छ ।’
बिरामीको उपचारमा दिनरात नभनि खटिएका यी स्वास्थ्यकर्मीलाई हेर्ने सरकारी दृष्टीकोण भने असल छैन । सामुदायिक अस्पतालबाट सरकारी अस्पतालमा रुपान्तरण हुँदा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई करार सेवाअन्तर्गत सरकारी नियुक्ती दिने सहमति भएको थियो ।
साउन १ गतेदेखि नै सरकारी अस्पतालका रुपमा बजेट र कार्यक्रम पुगेपनि अहिलेसम्म उक्त अस्पतालका स्वास्थ्यकर्मीले नियुक्ती समेत पाउन सकेका छैनन् । अस्पतालमै बसेर सेवा दिएकी डा. पाठकको टिमका कसैले पनि अहिलेसम्म नियुक्ति पाएका छैनन् ।
सरकारले यसअघि स्वास्थ्यकर्मीका लागि होटल क्वारेन्टिनको व्यवस्था गरेको थियो । संक्रमितको उपचार गर्न खटेका स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न र उनीहरुबाट अरुलाई कोरोना सर्न नदिन त्यस्ता उपाय अपनाएका थियो । कोरोनाको भ्याक्सिन लगाएपछि भने सरकारले स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्न बन्द गरेको छ ।
सरकारी अस्पताल भएपछि उक्त अस्पतालमा निर्देशकदेखि केही सरकारी दरबन्दीका स्वास्थ्यकर्मी र कर्मचारी पुगेका छन् । उनीहरुले चाडपर्व भत्ताबापत् दशैं भत्ता, महँगी भत्ता लगायत सरकारले दिने तलब बाहेकका अन्य सुविधा उपभोग गरिरहेका छन् । अस्पतालमा पहिल्यैदेखि खटिएका र बिरामीको हेरचाहमा लागेका अन्य स्वास्थ्यकर्मीले भने शुद्ध तलबबाहेक अरु कुनै सुविधा पाएका छैनन् ।
सरकारले गत वर्ष कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने घोषणा गरेको थियो । उक्त घोषणा अनुसार अन्य सरकारी अस्पताल र स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले केही महिनाको भत्ता पाए पनि । तर यस अस्पतालका कोही पनि स्वास्थ्यकर्मीले अहिलेसम्म कोरोना भत्ता पाउन सकेनन् ।
‘सरकारले दिन्छु भनेका भत्ता हामीले केही पनि पाएका छैनौं, शुद्ध तलबका भरमा खटेका हौं’, डा. पाठकले भनिन्, ‘नियमित पाउनुपर्ने सरकारी भत्ता पनि पाएनौं, यसपछि त आउँछ भन्ने आश्वासन मात्र आउँछ ।’
गण्डकी प्रदेश सरकारले कोरोना महामारी शुरु भएदेखि नै यस अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा लिएको थियो । पछि अस्पताल व्यवस्थापन र प्रदेश सरकारवीच सहमति भएर प्रदेश सरकारले अस्पतालको स्वामित्व लियो । साउन १ गतेदेखि बजेट सहितका कार्यक्रम दियो ।
कोरोना महामारीविरुद्ध शुरुदेखि नै खटिएका यस अस्पतालका कोही पनि स्वास्थ्यकर्मीले कोरोना भत्ताका नाममा अहिलेसम्म १ रुपैयाँ पनि नपाएको उक्त अस्पतालका स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘सरकारको मुख हेरर हामीले सेवा दिने होइन, बिरामी हेरेर कर्तव्य पूरा गर्ने हो’, अस्पतालका अर्का एक स्वास्थ्यकर्मीले भने ।
यसबारे स्वास्थ्यकर्मीहरुले बेलाबखत अस्पतालका निर्देशकलाई सोध्छन् । तर निर्देशकले पनि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा माग गरेको जवाफ दिन्छन् । यसअघि सामाजिक विकासमन्त्री नरदेवी पुन स्वयं कोरोना संक्रमित हुँदा सोही अस्पतालको आइसोलेसन बस्न पुगेकी थिइन् ।
मााघ २१ गते कोरोना पुष्टी भएका मन्त्री पुन माघ २४ गतेदेखि १२ दिन सोही अस्पतालको आइसोलेसन बसिन् । निको भएर फर्किन् । उनले त्यहीं बस्दासमेत अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको पीडा संवोधन गर्न सकिनन् ।
मन्त्री पुनले उक्त अस्पतालका स्वास्थ्यकर्मीले राम्रो सेवा दिएपनि सुविधा दिन नसकेको उनले स्विकारिन् । उनले सेतोपाटीलाई भनिन्, ‘अहिले हामीले कोरोना भत्ता दिने अवस्था छैन, माथि लेखेर पठाएको छु । संघीय मन्त्रीलाई पनि अघिल्लो बर्षकै भत्ता दिएको छैन भनेर निकासा मागेको छु । नियुक्ति पत्र दिने र अरु सरकारी कर्मचारीले झैं सुविधा पाउने विषयमा मैले मन्त्रालयका साथीहरुलाई भनेको छु ।’
कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाँदा अस्पतालका बेडहरु पनि भरिँदै गएका छन् । अक्सिजन दिनुपर्ने, भेन्टिलेटरमा राख्नुपर्ने वा आइसियुमा राख्नुपर्ने बिरामीलाई मात्रै अहिले गण्डकीमा अस्पताल भर्ना गरिएको छ । बाँकी संक्रमित भने होम आइसोलेसनमा छन् ।
होम आइसोलेसनमा बसेका संक्रमितबाट समुदायमा फैलने र उनीहरुलाई पनि अक्सिजन दिनुपर्ने अवस्था आए स्वास्थ्य संस्थाहरुले थेग्नै नसक्ने चेतावनी स्वास्थ्य क्षेत्रका विज्ञहरुले दिइरहेका छन् । यसको दोष विगत ४ दशकदेखि मुलुकको नेतृत्व गरेकाहरुले लिनुपर्ने अस्पतालका कार्यकारी निर्देशक डा. गौचन बताउँछन् ।
भुटान, ताइवान, चीन जस्ता देशले कोरोना महामारी नियन्त्रणमा राख्न सकेको भन्दै उनले नेपालमा राज्य संचालकले स्वास्थ्य क्षेत्र सुधार्न नचाहेकै कारण अहिलेको संकट आइपुगेको बताए । उनले भने, ‘अहिले हामीलाई गाह्रो परेको स्वास्थ्य प्रणाली सुधामा जोड नदिएर हो । राज्य संचालनमा विगत ४ दशकमा जो जो हुनुहुन्छ, उाँहरुले उत्तर दिनुपर्ने कुरा हो, यो । अब त सोच्न जरुरी भइस्क्यो कि हामीले स्वास्थ्य प्रणाली सुधार्न कति जोड दियौं ?’





