बागलुङ, २८ वैशाख– कोरोना संक्रमणमा सरकार संवेदनशिल बन्नुपर्ने भन्दै कांग्रेसले ध्यानाकर्षण गराएको छ । कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणमा सरकारले ध्यान नदिएको भन्दै बागलुङ कांग्रेसले वर्तमान सरकार नागरिकप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएको छ ।
पार्टी सचिव नवराज पौडेलले बिज्ञप्ती जारी गरेर असंवेदनशील र गैरजिम्मेवारी बनेको सरकारको ध्यानाकर्षण गराईएको छ । विज्ञप्तीमा कोरोना रोकथाम र संक्रमितको उपचार गर्न नसक्दा आम नागरिक भयावह अवस्थाबाट गुज्रनु परेको भन्दै तत्काल जनताको समस्यामा साथ दिन आग्रह गरिएको छ ।
बागलुङ पनि कोरोनाबाट आक्रान्त भएकोले काँग्रेसका कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघसंस्थाका विभिन्न तह र तप्कामा रहेका नेता, कार्यकर्तालाई पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आफ्नो गाउँ टोलमा रहेका कोभिड १९ को लक्षण देखापरेका तथा संकटमा परेका नागरिकहरुलाई सक्दो सहयोग गर्न अपिल समेत गरेको छ ।
मुलुकका ७७ वटै जिल्ला, प्रतिनिधी, प्रदेश, पालिकातथा वडा तहसम्म विज्ञप्ती जारी गरी वर्तमान अवस्थाको बारेमा सचेतना फैलाउँदै सरकारको गतिविधिहरुको ध्यानाकर्षण गर्नको लागि केन्द्रले निर्देशन गरेको थियो ।





