
म्याग्दी २ जेठ – भनिन्छ–‘संकटको समयमा मानिसले आफन्त र प्रकृतिलाई राम्रोसंग चिन्ने मौका पाउँछ ।’ यतिबेला पूरै विश्व कोभिड १९ को नयाँ भेरिएन्ट सहितको दोस्रो लहरले थिलोथिलो भएको छ ।
विज्ञान र प्रविधिको यो युगमा एउटा अदृश्य भाइरसले मानिसको जीवन तहसनहस भएको छ । महान दार्शनिक रुसोले ‘अन्ततः मानिस प्रकृतितर्फ नफर्कि सुखै पाउँदैन’ भनेर उतिबेला भनेको भनाइ अहिले दुई शताब्दी पूरा नहुँदै वास्तविकतामा परिणत भएको छ ।
मानिस कोरना भाइरसले आक्रान्त छ । कसरी संक्रमणबाट बँच्ने भन्ने ध्याउन्नमा लागेको छ । नेपालका अन्य जिल्लाहरु भmैं हिमाली जिल्ला मुस्ताङ र म्याग्दी पनि कोरोनाको कहरले व्यथित बनेका छन् । निषेधाज्ञा जारी गरिएको छ । बजार सुनसान छन् । कोरोना भाइरसको संक्रमण शुरु हुनुअघि आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनले भरिभराउ हुने मुस्ताङ र म्याग्दीको सदरमुकाम बेनी अहिले मानिस विहीन बनेका छन् ।
तर,यही मौका पारेर प्रकृति भने उदात्त हाँसो हाँसेको छ । यस्तो लाग्छ मानिसको दम्भ र अहम्लाई प्रकृतिले मौन बसेर गिज्याइरहेको छ । बसन्त ऋतुले भर्खरै मात्र प्रकृतिसंग विदा लिएर ओझेल भएपनि मुस्ताङको प्रकृतिमा बैंसालु मोहकता झल्किरहेको छ भने म्याग्दीको सदरमुकाम बेनीबजार कोरोनाको अन्त्य भै बजारको चहलपहललाई पर्खिरहेको छ ।













