
तनहुँ, ६ जेठ– पृथ्वी राजमार्ग मुन्तिरको सेती नदीको तिर । जताततै ढुंगैढुंगा । दिउँसो पनि एक्लै हिँड्न डराउनुपर्ने । नदीको तिरसम्म पुग्नलाई साँघुरो गोरेटो थियो, मुस्किलले आउजाउ गर्न सकिने । उराठलाग्दो देखिने शुक्लागण्डकी नगरपालिका २ गाछेपानीस्थित सेती नदी ढुंगाले भरिएका किनारको स्वरुप एक दशकमा गज्जबले फेरिएको छ । दिउँसै डरलाग्दो नदी छेउको थुम्को पवित्र धाम बनेको छ । झकिझकाउ मन्दिर ठड्याइएको छ । धार्मिक पर्यटकको गतिलो गन्तव्य बनेको छ ।
‘जहाँ ढुंगाढुंगामा
देवताको बास छ
जहाँ थुम्काथुम्कामा
स्वर्गको आभास छ’
यी गीतमा समावेश सुन्दर पंक्तिलाई गाछेपानीवासीले एक दशकको अवधिममा प्रमाणित गरेर देखाइदिएका छन् ।
एक्लै हिँड्न पनि डरलाग्ने कुरुप साघुँरो ठाउँ फेरिएर यति सुन्दर र फराकिलो पर्यटकीय गन्तव्य बन्ला भन्ने गाछेपानीबासीले सायद सोचेका पनि थिएनन् । तर, त्यही किनारको स्वरूप फेरिएको छ । गाछेपानीबासीको एकताले तनहूँकै चर्चित धार्मिकस्थल बनाउन सफल भएका छन् । नदीछेउको थुम्को मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम (मिनी मुक्तिनाथ) को नामले कहलिएको छ । शिवजीप्रति आस्थावान भक्तजनको आकर्षणको केन्द्र बनेको छ । हिन्दु धर्मको मात्र हैन, च्यवनधाम बौद्ध धर्मलम्वीहरुको पनि आस्थाको थलो हो ।
२०६५ सालमा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले कसैले हडप्न नखोजेको भए यो परिवर्तन सम्भव थिएन । ‘यहाँको २३ रोपनी जग्गा हडप्न खोजिएको थियो । गण्डकीको तिरसम्म पुग्ने बाटो पनि नहुने भएपछि संरक्षणमा हामी लाग्यौ’, मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका सचिव दुर्गादत्त सापकोटा सम्झन्छन्, ‘जग्गा संरक्षण गर्न भुलभुले बाराही एकता समाजले वृक्षरोपण ग¥यो । यहीँको पुन मगर समाजले तारबार लगाए ।’ पुन मगर समाजले तारबारमा साथ दिनुको कारण उनीहरुको अन्तिम घर अर्थात् चिहान त्यहीँ आडैमा थियो ।
जग्गा संरक्षणको २ वर्षपछि २०६७ सालमा काठमाडौं बस्दै आएका ऋषिगुरु श्रीराम पौडेलसँग स्थानीयको सम्पर्क भयो । पौडेलले सेतीको तिर तपोभूमि भएको सुनाएछन् । त्यसो त शुक्लागण्डकी क्षेत्र च्यवन ऋषिको तपोभूमिको रुपमा चिनिन्थ्यो । ‘गुरुले मुक्तिनाथमा गएर ध्यान बस्दा यहाँको बस्तुस्थिति देखेको सुनाउनुभयो । उहाँले नै तपोभूमि बन्छ भनेपछि हामीले मन्दिरको अवधारणा बनायौँ’, सापकोटाले भने । त्यही वर्षको कात्तिकमा मन्दिरसहितका पूर्वाधार निर्माणका लागि लालप्रसाद गर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरियो । माघमा यो क्षेत्रलाई श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम नामकरण गरियो ।
मन्दिर बनाउन कस्एिपछि आर्थिक अभाव भयो । पूर्वाधार निर्माणमा आर्थिक संकलन गर्ने उदेश्यले सोही वर्षको चैत १० गतेदेखि १७ गतेसम्म संचालन भएको महायज्ञमा १ करोड ५० लाख रुपैयाँ आर्थिक संकलन भयोे । त्यसपछि मन्दिरमा पुर्वाधार निर्माणको क्रम सुरु भएको हो । महायज्ञ लगाएको ६ महिनापछि २०६८ कात्तिकमा मन्दिर शिलान्यास गरेपछि पूर्वाधार निर्माणको चरण सुरु भएको हो । अझै पनि निरन्तर चलिरहेको छ ।
च्यवनधाम परिसरमा अहिले आकर्षक शुक्लेश्वर महादेवको मन्दिर छ । मन्दिरको छानो हालसालै तामाले छाइएको छ । शुक्लेश्वरको आसपासमा सूर्य नारायण, लक्ष्मीनारायण, दुर्गा भवानी र गणेशको मन्दिर पनि बनाइएको छ । मन्दिरको अलवा मुक्तिनाथकै झल्को दिने १ सय ८ सह्रश्रधारा, १ सय ८ ओमकार कल्पवृक्ष, १ सय ८ शिवलिंग, मोक्षकुण्ड, बृद्धाश्रम, पार्क लगायतका संरचना बनाइएको छ । बौद्ध धर्मालम्वीलाई लक्षित गर्दै बौद्ध गुम्बा पनि च्यवनधाम परिसरमा छ । बौद्ध धर्मलम्बीको जागरुपतालाई सम्मान गर्दै गुम्बा पनि बनाएको सापकोटाले बताए । यहाँ बनाइएको गुम्बाले एक अर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उनको बुझाई छ ।
मन्दिर क्षेत्रमा एक दशकको अवधिमा ३ करोड रुपैयाँ बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । सो रकम दान संकलनसँगै संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले पनि उपलब्ध गराएका छन् । गण्डकी प्रदेश सरकारको लगानीमा २५ लाख रुपैयाँ खर्च गरी यहाँ रहेको १ सय ८ धाराको माथितिर कृत्रिम हिमाल निर्माण गरिएको छ ।
व्यवस्थापन समितिका उपाध्यक्ष अर्जुन लम्सालका अनुसार च्यवनधाममा नयाँ बर्ष, साउने सोमबार, कृष्ण अष्टमी, बाला चतुदर्शी र शिवरात्रीमा भक्तजनको बढि घुइँचो लाग्दछ । च्यवनधाममा रहेको शुक्लेश्वर महादेवको मन्दिरमा पूजाअर्चना गरेपछि सन्तान नभएकालाइ सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यही बाटो भएर तनहुँकै प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर पुगिन्छ । यो ठाउँ सहश्राब्दी पदयात्रा मार्गको ढोका पनि हो । च्यवनधामलाई तनुहँकै उत्कृष्ट गन्तव्य बनाउन स्थानियबासीसँग स्थानीय सरकारले हातेमालो गरिरहेको वडाध्यक्ष जगतबहादुर गुरुङ बताउँछन् । मिनी मुक्तिनाथको अवधारणा भएको हुँदा पूर्वाधार निर्माणमा नगरले वर्षेनी बजेटको व्यवस्था गर्ने गरेको जनाए ।





