दोस्रो लहरको रूपमा विश्वव्यापी फैलिरहेको कोरोना महामारीले नेपाललाई एकदमै जटिल अवस्थामा पुर्याएको छ । संक्रमित र मृत्यु संख्या बढ्दो छ । भाइरसबाट बच्न सबैतिरबाट एउटै शब्द निस्केको छ– रोग प्रतिरोधात्मक क्षमता बढाऔं । जोसँग रोगप्रतिरोधात्मक क्षमता बढी छ, उसले भाइरसलाई हराउने सम्भावना अधिक हुन्छ । जसको कमजोर छ उसलाई भाइरसले धेरै गलाउन सक्छ ।
कोभिडबाट मात्र होइन, सबै खाले स्वास्थ्य समस्याबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनु जरूरी छ । तर धेरै जसोलाई प्रतिरोधात्मक क्षमता के हो र यसलाई कसरी बढाउने भन्नेबारे थाहा छैन । सरल भाषामा भन्नुपर्दा शरीरलाई बाहिरी किटाणु, भाइरस र ब्याक्टेरियासँग लड्ने शक्तिलाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ । चिकित्सा विज्ञानमा यसलाई ‘इम्युनिटी पावर’ र प्राकृतिक चिकित्सामा ‘भाइटल फोर्स’ भनिन्छ । प्राकृतिक चिकित्साले यसलाई जीवनीशक्ति पनि भन्छ ।
जीवनलाई निरन्तरता दिने शक्ति सबै सजिव प्राणीमा जन्मसिद्ध हुन्छ । यो शक्ति व्यक्तिअनुसार फरक फरक हुन्छ । तर जब यो कम हुँदै जान्छ तब शरीरमा रोगले आक्रमण गरी गलाउँछ । प्राकृतिक चिकित्सा सिद्धान्तअनुसार शरीरमा विजातिय द्रव्य, जसलाई हामी दिसा भन्छौं त्यो जम्मा हुनु नै रोगको कारण हो । जम्मा भएको फोहोर शरीरबाट निस्कासन गर्नु नै रोगबाट बच्ने आधार हो ।
हामीले अनुचित खानपान गरे निस्कासन हुनुपर्ने मल अर्थात् फोहर भित्रै अड्किन्छ र शरीरमा फोहोर जम्मा हुन्छ । जहाँ फोहोर हुन्छ त्यहाँआफैं झिँगा भन्किन्छ, ढुसी पर्न थाल्छ र किटाणु सल्बलाउन थाल्छन् । शरीरमा पनि फोहोर जम्मा हुँदा किटाणु बस्न योग्य हुन्छ ।
भाइरस परजिवी विषाणु हो । यसले आफैंले केही गर्न सक्दैन । तर जब आफूअनुकूल शरीर अर्थात् विकारयुक्त शरीर पायो भने प्रवेशगरेर आफ्नो संख्या बढाउँछ । चिकित्साशास्त्र अनुसार रोग लाग्न तीन तत्व मिल्नु पर्छः पहिलो हो, ‘एजेन्ट’ । यसलाई रोगको माध्यम भनिन्छ । दोस्रो ‘होस्ट’ अर्थात् त्यो व्यक्ति जसको शरीर फोहोर छ । तेस्रो, वातावरण । यी तीनै कुरा मिल्यो भने रोग लाग्छ । रोगको समाधान भनेकै हाम्रो शरीरमा रहेको प्रतिरोधात्मक क्षमता बलियो राख्नु हो । प्रतिरोधात्मक क्षमता बढाउन सक्ने केही सजिला र सरल विधि छन्– प्राकृतिक आहार, अनुशासित गतिविधि र उचित विचार ।
१. प्राकृतिक आहार
सादा प्राकृतिक आहार मानिसका लागि उपयुक्त हो । तर अहिले विश्वभर मानिसले के, कति र कस्तो आहार खाने भन्नेमा विवाद भइरहन्छ । विवेकशील प्राणी मानिने मानिसलाई संसारका सबै जन्तुको खाना के हो भन्ने ज्ञान छ । तर आफ्नै खाना के हो भन्नेमा भने अहिलेसम्म मानिस अलमल देखिन्छ । खाना के खाने भन्ने विषयमा कुनै मान्यता बनाइरहन जरुरी छैन । शरीरलाई मापदण्ड बनाएर खाए सजिलै थाहा पाइन्छ । उपयुक्त खाना भनेको पाकेका, काँचा खानेकुरा तथा फलफूल हुन् । अनि ताजा हरिया सागसब्जी र कम प्रशोधन गरिएका खैरो चामल, आँटाको रोटी, मकै, भटमास, फापर, कोदो आदि ।
अचेल सबै खानेकुरा काँचै खान सकिने अवस्था छैन । त्यसैले पकाएका र काँचो खान सकिनेलाई मिलाएर खाए स्वस्थ रहन सक्छौं । प्रकृतिप्रेमी निरोगधामको सजिलो तीन बराबर आहारको सूत्र छ । तीन बराबर आहार भन्नाले अन्न, हरिया तरकारी र काँचो सलाद बराबर मात्रामा मिलाएर । दैनिक यी तीनैथरि मिलाएर खाए शरीरमा फोहोर जम्मा हुन पाउँदैन । मोटोपन र रोग कम हुन्छ ।
खानाको कुरा गर्दा पानी भुल्नु हुँदैन । पानीको उचित प्रयोग हुनुपर्छ । बिहान उठ्नेबित्तिकै खाली पेटमा ३ देखि ४ गिलास मनतातो पानी पिउने, कुनै पनि ठोस आहारसँग पानी नलिने र ठोस आहार र पानीको अन्तर करिब ३० मिनेटदेखि १ घन्टा राख्ने । पानी प्यास लाग्दा मात्र होइन, दिउँसो प्रत्येक घन्टा एक गिलासका दरले पिउनुपर्छ । बेलुकी खानाको १ वा २ घन्टापछि र सुत्नु अगाडि एक गिलास मनतातो पानी पिएर सुत्ने । यसरी पिउँदा चाहिने पानी पुग्छ र शरीरलाई गर्मी पनि हुन दिँदैन ।
सामान्यतः पानी चिसै खाँदा हुन्छ । तर पेट दुखेको, रुघाखोकी लागेको र ग्यास्ट्रिक बढेको अवस्था भए मनतातो खानुपर्छ । अनि भर्खर जन्मेका शिशु र दूधे बालबालिकालाई पनि समय समयमा पानी पिलाउनु पर्छ ।
२. अनुशासित गतिविधि
हामीले गर्ने गतिविधि नमिलेर पनि हाम्रो शरीरमा समस्या आएर प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले हाम्रा सम्पूर्ण गतिविधि अनुशासित हुनुपर्छ । हाम्रो खराब अंग स्थितिका कारण धेरै समस्या आउँछन् । अंग स्थिति भन्नेबित्तिकै मेरुदण्डको कुरा आउँछ । शरीरले गर्ने धेरै गतिविधि छन् जस्तैः उठ्ने, बस्ने, सुत्ने, पढ्ने, लेख्ने, गाडी चलाउने, टिभी हेर्ने, व्यायाम गर्ने जस्ता जुनसुकै गतिविधि गर्दा हरेक समय मेरुदण्ड सोझो, खुकुलो हुनपर्छ । यसले शरीरमा लचकता बढाउँछ । रक्त, स्नायु र स्वास सञ्चार ठीक राख्छ ।
त्यस्तै खाएर मात्रै बलियो भइन्छ भन्ने भ्रम छ । वास्तवमा निद्रा पनि ठूलो औषधि हो । गहिरो र सन्तुलित निद्राले प्रतिरोधात्मक क्षमता बढाउँछ । उदाहरणका लागि भर्खर जन्मेका बच्चा २३ घन्टासम्म सुत्छन् र त्यही निद्राबाट शरीरको विकास तीव्र हुन्छ । यसैबाट हामीले बुझ्नुपर्छ निद्राको कति महत्वपुर्ण छ भन्ने कुरा ।
निद्राले थाकेको शरीरमा ऊर्जा थपेर पुनः जाँगरिलो बनाउँछ । तसर्थ सन्तुलित निद्रा आवश्यक छ । हामी वयस्कलाई सामान्यतः ६ देखि ८घन्टा गहिरो निद्रा जरूरी छ । तर सुत्नु पर्ने चाहिँ बेलुका नै हो । राती ढिला सुतेर बिहान अबेरसम्म सुत्ने वा दिउँसो सुतेर रातीको निद्रा पूर्ति हुन सक्दैन । त्यसैले राती १० बजे सुत्ने र बिहान सूर्य उदाउनु अगाडि उठ्नु स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ ।
हामीलाई स्वच्छ हावा र घाम पनि उत्तिकै जरूरी छ । जति स्वच्छ हावा र घामको सामिप्यता हुन्छ, त्यतिकै प्रतिरोधात्मक क्षमता बढ्छ । त्यसैले स्वस्थ रहन हरेक दिन स्वच्छ हावामा कम्तिमा ३० मिनेटदेखि १ घन्टा मर्निङवाक, व्यायाम, प्राणायाम गर्नुपर्छ भने दैनिक १ घन्टा घाम ताप्नुपर्छ । घाममा भिटामिन–डी पाइन्छ जसले हड्डी बलियो बनाउँछ । हिँड्न नसक्नेहरूले पनि जहाँ मिल्छ, त्यहाँ बसेर ताजा हावा लिनु पर्छ र घाम ताप्नु पर्छ । साथै कोठाका झ्याल र पर्दा खोलेर हावा र घामको प्रवेश गराउनु पर्छ ।
हाम्रो काम र आरामको पनि सन्तुलन हुनुपर्छ । हामी प्रायः व्यस्त हुन्छौं । दौडधुपमै दिन बित्छ । अत्यधिक परिश्रमले शरीरलाई बढी थकाउँछ, गलाउँछ । धेरै आरामले पनि शरीर रोगयुक्त हुन्छ । त्यसैले हामी जति परिश्रम गर्छौं, शरीरलाई त्यत्तिकै आराम पनि चाहिन्छ । काम र आरामको सन्तुलन मिल्नुपर्छ ।
नियमित योग र व्यायाम
व्यायाम स्वस्थ रहने एउटा माध्यम हो । हरेक दिन एक घन्टा शरीरबाट पसिना निस्कने गरी व्यायाम गर्नु राम्रो हुन्छ । यसले शरीरका सम्पूर्ण जोर्नीमा लचकता प्रदान गर्नुका साथै शरीरको ताप नियन्त्रण राख्छ । रक्त, स्वास र स्नायु प्रणालीलाई ठीक गर्छ र तनावबाट बचाउँछ तर अत्यधिक भारी र बलपूर्वक गरिने व्यायामले शरीरलाई तनाव गराउँछ । हलुका शरीर सञ्चालन हुने व्यायामले लाभ गर्छ ।
सामान्यतः व्यायाममा बिहान स्वच्छ हावामा १ घन्टा हिँड्न सकिन्छ । त्यसैगरी योग व्यायाममा अंगव्यायाम, सूर्यनमस्कार, पेटको व्यायाम, कब्जियत हटाउने आसनहरू, सवासन र प्राणायम गर्न सकिन्छ जसले शरीरलाई बलियो र तगडा बनाउनुका साथै स्वासलाई पनि ठीकगरी मानसिक स्थिति पनि बलियो गर्छ ।
३. उचित विचार
जसरी स्वस्थ रहन आहार र विहारको महत्व हुन्छ, त्यसैगरी विचारको उत्तिकै महत्व हुन्छ । आहार र विहार ठीक गर्नै पनि विचारको मुख्यभूमिका रहन्छ । आहार र विहार वातावरण र परिस्थितिअनुसार कहिलेकाहीँ नमिल्न सक्छ । तर विचार हमेसा हाम्रो मुठ्ठीमा हुन्छ । त्यसैले सधैं उचित विचार हुनुपर्छ ।
धेरैलाई लाग्न सक्छ विचार उचित, अनुचित छुट्याउने कसरी ? केही गाह्रो छैन । यो शरीर नै सबभन्दा ठूलो प्रयोगशाला हो । जसरी आहार, विहार मिले–नमिलेको शरीरमा देखापर्छ, त्यसैगरी विचार उचित–अनुचित पनि शरीरमै प्रकट हुन्छ । जुन विचार गर्दा शरीरमा अप्ठ्यारो हुन्छ त्यो विचार अनुचित र शरीरलाई सजिलो बनाउने विचार उचित । त्यसैले जे गर्दा, जे खाँदा र जे विचार गर्दा पनि शरीरलाई मापदण्ड बनाएर गरे हामी अधिकांश समस्याबाट सजिलै बच्न सक्छौं ।
प्रतिरोधात्मक क्षमता बढाउन सजिलो व्यायामः
सूर्य नमस्कार
आसनहरूमा सबभन्दा प्रभावशाली आसन हो– सूर्य नमस्कार । यो शारीरिक व्यायाम मात्र होइन, सासको ताल मिलाएर गरिने हुँदा मानसिक सन्तुलन पनि स्थिर बनाउन सहयोग गर्छ । सूर्य नमस्कारमा १२ वटा आसन छन् जसको अभ्यासले शरीरका सम्पूर्ण जोर्नीको लचकता बढाई व्यायाम गराउँछ ।
यसलाई विस्तारै, मध्यम र तीव्रका चारचार पटक गरी १२ पटक गरिन्छ । समय अभाव भएमा सूर्य नमस्कार मात्र गर्दा पनि सम्पूर्ण व्यायामको लाभ हुन्छ । तर सूर्य नमस्कार गर्नु अगाडि १० देखि १५ मिनेट हल्का शरीर तताउने ‘वार्मअप’ या अंगव्यायाम गर्नुपर्छ । यसले शरीरका जोर्नीलाई लचकता प्रदान गरी आसन गर्न सहयोग गर्छ ।
यसरी आहार–बिहार र ब्यायाम उच्चित भएमा मानिसको रोग प्रतिपोधात्मक क्षमता को विकास हुन्छ र कोरोना लगाएत अन्या रोगको आक्रमणबाट जोगिन सकिन्छ । यदी लागिसकेको भएमा नियमित रूपमा माथीका भनाईलाई अनुसरण गरेमा छिटै निको हुनेछ ।




