कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् ।
नियमित रूपमा डायलासिस गराउँदै आएका मिर्गौलापीडित रगत खोज्न आफैँ हिँड्नुपर्ने अवस्था आएको छ । मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले निषेधाज्ञाका कारण रक्तदान नहुँदा उपचार केन्द्रमा रगत अभाव भएको जानकारी दिए ।
‘पहिला पहिला नियमित रक्तदान हुँदा समस्या हुन्थेन, अहिले रगत अभाव भएपछि समस्या भएको छ,’ उनले भने, ‘मिर्गौलापीडित आफैँले रगत खोज्नुपर्ने अवस्था आएको छ ।’
कतिपय मिर्गौला पीडितले पोखरासम्म पुगेर रगत ल्याउने गरेका छन् भने कतिपयले आफन्त वा चिनेजानेका व्यक्तिलाई रक्तदानका लागि ल्याउने गरेका छन् ।
केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । वि.सं. २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो ।
केन्द्रले हालसम्म २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेको छ ।





