बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

के हो आकस्मिक गर्भनिरोधक ? सताउला है !

के हो आकस्मिक गर्भनिरोधक ? सताउला है !


  • कृष्ण कुमार सैंजु
  • जेष्ठ २८ २०७८, शुक्रबार

असुरक्षित यौन सम्बन्धपछि गर्भ रहन नदिन आकस्मिक गर्भनिरोधक साधनको प्रयोग गरिन्छ । आकस्मिक गर्भनिरोधकको प्रयोग शारीरिक सम्पर्क भएको ५ दिनसम्म गर्न सकिन्छ, तर जति छिटो प्रयोगमा ल्याइयो, त्यति नै प्रभावकारी हुन्छ ।
विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले आकस्मिक गर्भनिरोधक औषधिका रूपमा लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टललाई मान्यता दिएको छ । यो हर्मोनयुक्त खाने चक्की हो । यो चक्की असुरक्षित यौन सम्बन्धको पाँच दिन अर्थात् एक सय २० घन्टाभित्र लिभोनोरजेस्ट्रेल भए १.५ मिलीग्रामको एक मात्रा बराबर र युलिप्रिस्टल भए ३० मिलिग्राम लिनुपर्ने डब्लुएचओले बताएको छ । लिभोनोरजेस्ट्रेल भए यसलाई ०.७५ मिलिग्रामको दुई चक्की १२ घण्टाको फरकमा पनि खान सकिने डब्लुएचओले बताएको छ ।
आकस्मिक गर्भनिरोधक चक्की उपयोग गर्दा शतप्रतिशत गर्भ रोक्ने ग्यारेन्टी भने हुँदैन । डब्लुएचओले बताएअनुसार यस्ता इसीपीको प्रभावकारिता ५२ देखि ९६ प्रतिशतसम्म मात्रै हो । असुरक्षित यौन सम्पर्कपछि जति छिटो यस औषधि प्रयोग गर्यो, यसको प्रभावकारिता त्यती नै बढी हुने बताइएको छ । मुख्यतः ७२ घण्टासम्म यसले राम्रोसँग काम गर्ने तर त्यसपछि यसै भन्न नसकिने विश्व स्वास्थ्य संगठनले बताएको छ ।
कसरी काम गर्छ औषधिले ?
आकस्मिक गर्भनिरोधक चक्कीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक एउटा हर्मोन हुन्छ, जसले गर्भ बस्न दिँदैन । गर्भ बस्न आवश्यक हर्मोनलाई यसले नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । यो हर्मोनले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गरेर गर्भ बस्न दिँदैन, जसकारण अनिच्छामा गर्भ बस्न सक्दैन भन्ने मान्यता हो । यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्ने, यदि डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भु्रण बन्न नदिने र यदि भु्रणसमेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । सेचन भइसकेको भए पनि भु्रण बन्न ७२ घण्टा लाग्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिएको हो ।
स्वास्थ्यमा के प्रभाव पर्छ ?
गर्भ रहनबाट रोक्नका लागि यो चक्की प्रभावकारी माध्यम हो । असुरक्षित यौनसम्पर्क भएको ७२ घन्टाभित्र आकस्मिक गर्भनिरोधकको प्रयोग गरेमा गर्भ रहने सम्भावना न्यून हुन्छ । तर, १२ देखि २४ घन्टाभित्र प्रयोग गरेमा बढी प्रभावकारी मानिन्छ । आकस्मिक गर्भनिरोधकको प्रयोग अत्यधिक गर्नुहुँदैन । छोटो समयमै धेरै चक्कीको प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । यसको प्रयोगले वाकवाकी लाग्ने, बान्ता हुने, रिंगटा लाग्ने, टाउको दुख्ने, थकान महसुस हुने, स्तन भारी महसुस हुनेजस्ता स्वास्थ्य समस्या पनि देखिन सक्छन् । यस्ता स्वास्थ्य समस्या केही समयमै आफैं हराएर जान्छन् ।
के यो सुरक्षित छ ?
आकस्मिक गर्भनिरोधक चक्की स्वास्थ्यका दृष्टिकोणले सुरक्षित भन्न सकिने अवस्था छैन । आकस्मिक घटनामा एक÷दुईपटक प्रयोग गर्नाले यसले खासै फरक पार्दैन । तर यसलाई अन्य पिल्ससरह नियमित प्रयोग गर्ने गरियो भने यसलाई गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताउँछन् प्रसूति गृहका निर्देशक तथा वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतम । त्यतिमात्रै होइन, यो पिल्स गर्भ रोक्नमा शतप्रतिशत सक्षम छैन । कतिपय अवस्थामा यो औषधि प्रयोग गरे पनि गर्भ रहन सक्छ ।
असर हर्मोनमा गडबडी
महिलाले प्रयोग गर्ने यस्ता औषधिमा शरीरमा हुनेभन्दा फरक हर्मोन हुन्छ । यो हर्मोनले अर्को हर्मोनसँग संघर्ष गरेर गर्भ बस्न दिँदैन । तर, यस्तो औषधि प्रयोगपछि यस्ता हर्मोन पनि महिलाको शरीरमा रहन सक्छ । जसकारण शरीरमा अनावश्यक हर्मोन प्रवेश भई विभिन्न शारीरिक समस्या ल्याउन सक्छ ।
पाठेघरको नली फुट्ने खतरा
यस्ता चक्की प्रयोगले पाठेघरको नलीसमेत फुटाउन सक्ने प्रसूति गृह निर्देशक डा. जागेश्वर गौतम बताउँछन् । महिलाको पाठेघर अत्यन्तै संवेदनशील अंग भएकाले यस्ता औषधि प्रयोगले नलीमा विकास भएको वा हुन लागेको भु्रणलाई असर गर्छ । जसकारण पाठेघरको नली फुट्न सक्ने खतरासमेत हुने उनको भनाइ छ ।
अत्याधिक रक्तश्रावको खतरा
आकस्मिक गर्भनिरोधक चक्की सेवनले धेरै रक्तश्राव हुने खतरा रहेको निर्देशक गौतम बताउँछन् । भु्रण बनिसकेको भए यस्ता चक्कीले त्यो भु्रण तुहाउँछ । यस्तो अवस्थामा यस्ता औषधि लिने महिलालाई अत्यधिक रक्तश्राव हुने उनको भनाइ छ ।
बाँझोपनको खतरा
आकस्मिक गर्भनिरोधक चक्की अत्यधिक प्रयोग गर्नाले महिलामा बाँझोपन समस्या आउन सक्ने चेतावानी दिन्छन् डाक्टर गौतम । यीऔषधि लगातार प्रयोग गर्नाले प्रोजेस्टेरोन हर्मोन उत्पादन नै बन्द हुन सक्ने खतरा छ । जसकारण पछि गर्भ नै नबस्ने खतरा हुने उनको चेतावनी छ । प्रोजेस्टेरोन एउटा त्यस्तो महिला हर्मोन हो, जसले डिम्ब निष्कासन तथा गर्भ बस्नमा महत्वपूर्ण भूमिका खेल्छ ।
यौनरोगको जोखिम उस्तै
अहिले इमर्जेन्सी कन्ट्रासेप्टी पिल्स अर्थात् एसीपीको प्रयोग गरेपछि गर्भ रहँदैन भन्दै युवकयुवतीले यसको प्रयोगलाई व्यापकता दिएका छन् । तर, गर्भ रोक्ने औषधि छँदै छ नि भन्दै उनीहरूले कन्डम प्रयोगमा अनिच्छा देखाउँदा यसले यौनरोगको खतरा भने बढाएको छ । औषधि प्रयोगले यौनरोग सर्नबाट रोक्न सक्दैन । जसकारण एचआइभी एड्सजस्ता भयानक रोगको खतरा दिनानुदिन बढ्दै गएको छ ।
महिनावारी गडबड
यो औषधिमा हर्मोन हुने र महिलाको शरीरमा हुने हर्मोनसँग द्वन्द्व हुने भएकाले यसले महिलाको मासिक चक्रमा असर गर्न सक्छ । कतिपयलाई यो औषधि प्रयोग गरेलगत्तै रक्तश्राव पनि हुन सक्छ । जसकारण महिनावारीमा गडबडी ल्याउने काम गर्छ । यस्ता औषधिका कारण कहिले समयभन्दा अगाडि र कहिले महिना पुगेको लामो समयपछि मात्रै महिनावारी हुने गरेको डाक्टर गौतम बताउँछन् ।
प्रयोग गर्ने अधिकांश अविवाहित
यस्ता औषधि प्रयोग गर्ने अधिकांश किशोरी वा युवती अविवाहित हुने गरेको एक औषधि पसल सञ्चालक बताउँछन् । ‘यस्ता औषधि किन्न आउने धेरैजसो १८ देखि २५ वर्ष उमेर समूहका छन्,’ अर्को फार्मासिस्ट बताउँछन् । विवाहितले तीन महिने सुर्इं, पिल्स, कपरटी जस्ता साधन प्रयोग गर्ने भएकाले उनीहरूलाई यस्ता औषधि आवश्यकता नै पर्दैन । तर, बिहे नगरेका वा आफ्ना सेक्स पार्टनरसँग रिलेसनसिपमा रहेकाले यस्ता औषधि बढी प्रयोग गर्ने गरेको पाइन्छ ।
बजारमा पाइने औषधिहरू
औषधिको जेनेरिक नेम लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टल नै भए पनि नेपाली बजारमा विभिन्न नाममा यस्ता औषधि प्रयोग र बिक्री बितरण भइरहेको छ । नेपाली बजारमा अनवान्टेड ७२, आइपिल, इ–७२ म्याक्स, इकोन, ओके, एमटीपी प्रिग्नो, एमटी पिल्सजस्ता नाममा यसको बिक्री र प्रयोग भइरहेको छ ।
आकस्मिक गर्भनिरोधक औषधि आकस्मिक अवस्थाका लागि मात्रै हो । अनिच्छामा गर्भ बसेर पछि गर्भपतन गराउनुभन्दा यसको प्रयोग उत्तम हो भन्न सकिन्छ । तर, यसलाई अन्य पिल्ससरह नियमित सेवन गर्नु वा अत्यधिक प्रयोग गर्नु राम्रो हुँदैन र होइन पनि । बरु जनचेतना बढाएर कन्डमको प्रयोगलाई बढाउनुपर्छ । चाउचाउ वा चक्लेट किनेर खाएझैं प्रयोग गर्दा यसले भविष्यमा गम्भीर स्वास्थ्य समस्या ल्याउने निश्चित छ ।
स्वास्थ्यामा जोखिम
आजका युवा–युवतीहरू यौनका मामिलामा निःसन्देह खुल्ला छ । तर, यसमा ऊ कत्तिको ज्ञान राख्छ भन्ने कुरामा सन्देह गर्न पर्ने अवस्था आएको छ । किनभने, आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतनसम्बन्धी उनीहरूको बुझाइ अधुरो देखिन्छ । असुरक्षित यौन सम्पर्क गरेको ७२ घण्टाभित्र ‘इमर्जेन्सी पिल’ खाएमा गर्भ बस्दैन भन्ने आम मान्यता बनेको छ । यो एउटा सामाजिक प्रचलन नै भइसकेको छ । यस्ता पिल्स जथाभावी सेवन गर्दा युवती र किशोरीहरूको रजस्वला गडबड हुनुको साथै प्रजनन क्षमता कमजोर हुन सक्छ । यसैले गर्दा निसन्तानपनको सिकार हुन सक्छ । यसले सत प्रतिशत गर्भ बस्न दिँदैन भन्ने ग्यारेन्टी पनि हुँदैन । आकस्मिक गर्भनिरोधक चक्कीलाई चना चटपटे खाएजस्तै साधारण ठानेर प्रयोग गर्ने डरलाग्दो ‘ट्रेन्ड’ नेपाली समाजको ताजा र बिकराल समस्या हो ।
आकस्मिक गर्भनिरोधक चक्की लिनुअघि स्वास्थ्य अवस्थाबारे जानकारी लिन जरुरी छ । लगातार यसको प्रयोगले पछि स्वास्थ्यमा जोखिम बढाउँछ । हर्माेनसँग सम्बन्धित औषधि भएकाले हर्माेनमा गडबड ल्याउन सक्छ । यो बगिरहेको खोलामा बाँध हालेजस्तै हो । एकचोटीका लागि रोकिन सक्छ तर नियमित रोक्न थाल्यो भने बाँध पनि भत्किन्छ ।’ सामान्य शारीरिक प्रक्रियालाई यो औषधिले अनियमित बनाएर गर्भपतन गराउने भएकाले स्वास्थ्यमा जोखिम हुन सक्छ । पटक–पटक शरीरका नियमित प्रणालीमा बाह्य अवरोध सिर्जना गरिदिँदा मानसिकदेखि शारीरिक स्वास्थ्यसम्म जोखिम आइपर्ने सक्छ ।
यसको प्रयोगकर्ता युवतीमा मुटुरोग भएमा वा भएर भल्ब फेरेको भएमा ज्यान नै जोखिममा पर्ने सम्भावना हुन्छ । त्यसैगरी अल्सर, प्रेसरभएमा यसले बढाउने र माइग्रेन समस्या निम्त्याउन सक्ने सम्भाबना हुन्छ । यदी यो अवस्थामा भुलवस यस्तो कुनै पनि औषधी सेवन गर्नुभएको छ भने विचार पुर्याउनुस् है । यस्तै औषधीको कारणले रोगप्रतिरोधक क्षमतामा ह्रास ल्याउँछ र कोरोना महामारीको जिवाणुसंग प्रतिरोध गर्ने क्षमता घट्छ र महामारीको चपेटामा पर्न सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->