बागलुङ, ३ असार– नेकपा एमालेका युवा नेता पदम गिरीले जिल्लाको बरेङ गाउँपालिकामा रहेको अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । बरेङबाट रोजगारीको शिलशिलामा जापानमा रहेका युवाहरुको सहयोगमा गिरीले अस्पतालको लागि आवश्यक सामग्री सहयोग गरेका हुन् ।
जापानमा रहेका युवाहरुले स्वस्फुर्त रुपमा संकलन गरेको १ लाख ९२ हजार रुपैयाँ स्वास्थ्य सामग्री खरिदका लागि पठाएका थिए । नेकपामा एमाले गण्डकी प्रदेश सम्पर्क कमिटिका सदस्य समेत रहेका गिरीले उक्त रकमबाट स्वास्थ्य सामग्री खरिद गरेका हुन् ।
अस्पतालमा अभाव रहेको अक्सिजन कन्सन्टेटर दुई थान, अक्सिजन फलोमिटर ४ थान, अक्सिमिटर १५ थान, पीपीई १० थान, ग्लोव्स ५ सय थान र सर्जिकल मास्क ५ हजार थान सहयोग गरेका हुन् । जापानबाट प्रप्त भएको १ लाख ८३ हजार रुपैयाँको स्वास्थ्य सामग्री र बाँकी नगद रकम अस्पातालको व्यवस्थापनका लागि सहयोग गरेको गिरीले बताए ।
कोरोना महामारीको दोस्रो लहरका कारण प्रभावित भएकाहरुको उपचारका लागि गाउँपालिकाले हुग्दीशिरमा अस्थायी कोभिड अस्पताल बनाएको छ । यो समाचार तयार पार्दासम्म उक्त अस्पतालमा २२ जनाको उपचार भैरहेको छ । दाताबाट प्राप्त स्वास्थ्य सामग्रीले बिरामीको उपचारमा सहयोग पुग्ने चिकित्सक लक्ष्मी पन्थीले बताइन् ।
गाउँमा स्थापना गरिएका अस्थायी कोभिड अस्पतालहरुमा स्वास्थ्यकर्मीकै लागि आवश्यक पर्ने सामग्रीहरुको अभाव हुने गरेको छ । यसअघि गिरीले एक लाख ८ सय रुपैयाँ बरेङ गाउँपालिकाले बनाएको कोभिड कोषलाई सहयोग गरेका थिए । सो रकम समेत जापानमा रहेका महेन्द्र गिरीको एकल सहयोगमा प्रप्त भएको थियो ।





