बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दुषित पानीले लिन सक्छ ज्यान

दुषित पानीले लिन सक्छ ज्यान


  • कृष्ण कुमार सैजु
  • असार १८ २०७८, शुक्रबार

पानी प्रकृतिले दिएको निःशुल्क उपहार हो । शरीरलाई खानाजस्तै पानी पनि अति आवश्यक छ । शरीरलाई स्वस्थ राख्न हामीले दैनिक रूपमा पिईरहेको पानी कत्तिको स्वच्छ र स्वास्थ्यमैत्री छ भन्नेबारे थाहा पाउनु जरुरी छ । शरीरमा आवश्यक पानी भएन भने विभिन्न रोगको जोखिम बढ्न सक्छ । हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विजातीय तत्व बाहिर निकाल्न पानीको महत्वपुर्ण भुमिका रहन्छ । शरीरको ७६ प्रतिशत भाग पानीले बनेको हुन्छ । पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपन जस्ता गुणहरू हुन्छन् । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असर देखा पर्न सक्छन् । एक स्वस्थ ब्यक्तिले स्वस्थ रहनको लागि प्रतिदिन आफ्नो शरीरको तौल अनुसार २.५ लिटरदेखी ४.५ लिटर स्वच्छ पानी अनिबार्य रूपमा समय र तरिका मिलाएर पिउनुपर्छ ।
पानी दुषित हुनाका कारणहरू
भौतिक कारण
बाढी, पहिरो, भूक्षय, मरेका जनावर, घाँसपात, हिलो, माटो, बालुवा मिसिएर, क्याल्सियम म्याग्नेसियम, सोडियम पोटासियम, सल्फाइड, नाइट्रोजन, अमोनिया आदि पदार्थ मिसिएर पानीको गुणस्तरमा प्रवाहित हुने गर्दछ । अत्याधिक बर्षाको कारण धारामा हिलो, लेदो, धमिलो पानी आउने, दुषित अवस्था हो । बिगतका वर्षको भूकम्पबाट पर्न गएको प्रभावका कारणले पनि मूलहरू सुक्ने, इनारहरूमा दुषित पदार्थ मिसिने, पानी मिसिने गरेको पाइएको छ । यस्तै, मानवीय कारणमा जनसंख्या वृद्धि, बढ्दो सहरीकरण, सरसफाइसम्बन्धी चेतनाको अभाव, खानेपानीको आपुर्ती सहज नहुनु, कृषिमा किटनासक औषधी, विषादी रासयनिक मलको प्रयोग, ठोस, तरल फोहर पदार्थ सडक, खोला, नदी, ताल र नहरमा विसर्जन गर्नु, पानीको मुहान सुरक्षित नहुनु, चर्पीको अभावमा दिसापिसाब जथाभावी गर्नु, उद्योगधन्दा कलकारखानाबाट निस्कने दुषित तरल पदार्थ शुद्धिकरण नगरी खोला, नदीमा मिसाइनु, पानी उचित किसिमले शुद्ध गरेर वितरण नगर्नु, सरसफाइमा कममा उच्चित ध्यान नदिनाले पानी दुषित हुन पुग्दछ ।
दुषित पानीबाट स्वास्थ्यमा पर्ने प्रभाव
हामीले दैनिक जीवनमा प्रयोग गर्ने अति आवश्यक पर्ने पानी दुषित भएमा त्यसमा रहेका भाइरस, प्रोटोजोवा, ब्याक्टेरिया, परजीवी, जुका, रासायनिक पदार्थ आदिद्वारा मानव स्वास्थ्यमा गम्भीर समस्या देखा पर्दछन् । बर्षाको समयमा महामारीको रुपमा फैलने झाडापखाला, आउँ, हैजा, कमलपित्त, टाइफाइड, जुका, प्रोटोजोवा सम्बन्धी रोग दुषित पानीको प्रयोगबाट हुने रोग हुन् । ६०–६५ प्रतिशत पेटसम्बन्धी रोग दुषित पानीकै कारणबाट हुने गर्दछन् । अमोनिया, सल्फाइड, साइनाइड गन्धक, साबुन, अमल, फिनेल जस्ता पानीमा मिसिएका पदार्थले मानव स्वास्थ्यका साथै जलचर, वनस्पतिमा पनि नराम्रो असर पु¥याएको पाइन्छ । नेपालमा झाडा, पखालाबाट वर्षेनि पाँच वर्ष मुनिका करिब ११ हजार बालबालिकाको मृत्यु भएको तथ्यांकले छ ।
टाइफाइड
दुषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु प्रायः गर्मी र बर्खायामको समयमा बढी क्रियाशिल हुने गर्छ । मनसुनको बेलामा धेरैमा संक्रमण भनेको टाइफाइड ज्वरो देखिने हो । साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ । साल्मोनेला समूहका धेरै खालका जिवाणु हुन्छ तर टाइफाइड भएका विरामीमा बढी मात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन् । दुषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु देखिन्छ । यो रोगबाट बढी मात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरु प्रभावित हुने गरेको देखिएको छ । मानिसको शरीरमा हनहनी ज्वरो आँउछ । त्यसबाहेक रिँगाटा लाग्ने, वाकवाकी लागि कसै–कसैलाई बान्त पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ ।
मलेरिया
मलेरिया वर्षामा हुने आम तर गम्भीर संक्रामक बिमारी हो । जमेको पानीबाट फैलने लामखुट्टेले टोक्दा यस्तो रोग लाग्न सक्छ । यो रोग एनाफिलिज लामखुट्टेको टोकाइबाट सर्छ । यसबाट बच्नका लागि घर आसपासमा पानी जम्न दिनु हुँदैन ।
डेंगु (डेंगी)
डेंगुको ज्वरो पनि लामखुट्टेको टोकाइबाट फैलने रोग हो । यसको संक्रमणबाट पूरै शरीर र जोर्नीमा अधिक पीडा हुन्छ । यसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनु पर्छ । साथै घर बाहिर निस्कनुअघि पूरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ । एडिस प्रजातीको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुन्छ । डेंगु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फूल पार्छ । अन्य लामखुट्टेले लामो समयदेखि जमेको पानी, फोहोर पानी, हिलोमा जमेको पानीमा फुल पार्ने भएपनि एडिस प्रजातिको लामखुट्टेले तीन÷चार दिनदेखी जमेको पानीमा मात्र फूल पार्ने गर्छ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गर्छ ।
हैंजा
भिब्रियो कोलेरा नामक जीवाणुको कारण फैलने यो रोग दूषित भोजन वा पेय पदार्थको कारण हुन्छ । पेट दुख्नुका साथै वान्ता, झाडापखला लाग्न सक्छ । यसले शरीरमा पानीको मात्रा कम हुन्छ । मिनरल्सको मात्रा कम हुन्छ । त्यसैले रोगी एकदमै कमजोर हुन्छन् । यसबाट बच्नका लागि पनि खानपानमा ध्यान दिनुपर्छ ।
हेपटाइस ए, बी
हामीले खानेकुरा र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख सरुवा रोग हेपटाइस ए, बी अर्थात् जन्डिस हो । बासी खानेकुरा तथा दुषित पानीले धेरैलाई जन्डिस देखिने गर्छ । शरीरमा पानीको कमी हुनु तथा बजारमा राखिएका बासी खानेकुरा खाँदा पनि धेरैलाई जन्डिस देखिने गर्छ । सुरुमा ज्वरो आउने शरीर गर्दै जाने जन्डिसको प्रमुख लक्षण हो ।
आउँ
हामीले खाने दुषित पानी र खानेकुराले गर्दा यस मौसमा धेरैलाई आउँ देखिने गर्छ । पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने लामो समयसम्म उपचार नगरेमा शरीरमा पानीको मात्र कम हुने र अन्यमा शरीरका महत्वपुर्ण अंगहरुले काम गर्न छोड्न हुन्छ । जसले गर्दा यस मौसममा आउँबाट बच्न हामीले खाने पानी र खानेकुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
झाडापखला
यो मौसममा देखिने दुषित पानीबाटै फैलिने अर्को सरुवा रोग झाडापखला हो । बर्षाको समयमा हामीले पिउने धेरैजसो पानी दुषित हुनेहुँदा दुषित पानीमा भएको हानिकारक ब्याक्टेरीयाहरूले पाचन प्रणालीमा असर गरी झाडापखलाको समस्या देखिने गर्छ । शहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखला धेरै देखिने गर्छ । यस मौसमा खानेपानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म हुने हुँदा झाडापखला धेरै देखिने गर्छ ।
पानी प्रदुषण नियन्त्रणका उपायहरू
दिसापिसाब नै पानी प्रदुषण गर्ने मुख्य पदार्थ भएकाले सबैभन्दा पहिला उचित शौचालयको व्यवस्था हुनु नितान्त आवश्यक छ । खुल्लादिसा मुक्त क्षेत्र घोषणाको अभियानमा बिभिन्न गाउँबस्तीहरू खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको भएता पनि हालसम्म शौचालयको पहुँच सम्पूर्ण घर, परिवारसम्म पुगेको देखिँदैन । हाम्रो शहरमा सार्वजनिक शौचालय, मोबाइल शौचालयको व्यवस्था छैन । राजमार्ग, सरकारी संघ–संस्थाहरूका शौचालय दुर्घगन्धित अवस्थामा छन् । शिक्षण संस्था, विद्यालय, अस्पताल, सरकारी कार्यालयले पनि शौचालय, खानेपानीमा ध्यान दिन सकेको देखिँदैन ।
पानी प्रदूषण नियन्त्रण गर्न निम्न उपाय अपनाउनुपर्दछ :
१. पानीसँग सम्बन्धित सरकारी गैरसरकारी संघ, संस्था, खानेपानी संस्थानले शुद्ध, सफा पिउन योग्य पानी वितरणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । पानी वितरण गर्ने मिनरल वाटर भनी बिक्रीमा आएका पिउने पानीदेखि प्राइभेट कम्पनी, बोरिङ, पानी वितरकद्वारा वितरण गरिएका पानी पिउन योग्य छन् वा छैनन् जाँच गरी त्यसको जानकारी उपभोक्तासम्म पु¥याउनुपर्ने देखिन्छ । मानिसको स्वास्थ्यमा हानी पु¥याउने किसिमका पदार्थ पाइएमा तुरुन्त उत्पादन बन्द गरिनु पर्दछ ।
२. पानी सफा राख्ने चेतनामूलक कार्यक्रम विद्यालय, समुदाय, आमा समूह, संघ, संस्थामा विभिन्न सञ्चारमाध्यम, स्वास्थ्य संघ, संस्थाद्वारा गर्ने÷गराउने ।
३. घर, होटल, अस्पताल आदिबाट निस्किएका फोहरमैलाको उचित विसर्जन गर्ने, उद्योग कलकारखानाबाट निस्कने तरल पदार्थलाई प्रशोधन गरी उचित व्यवस्थापन गर्ने, पानीको मुहान वरिपरि सफा राख्ने, मरेका जीवजन्तु विषालु पदार्थ, मानव उत्सर्जित मलमूत्रको उचित ठाउँमा ब्यबस्थापन गर्ने, खोला, नदी, ताल जलसम्पदा हाम्रा सम्पत्ति हुन् यिनको सफा संरक्षण गर्ने कुरामा सबै सचेत हुने । शौचालय निर्माण गर्दा खानेपानीको स्रोतबाट १५ मिटर टाढा निर्माण गर्ने, खेतबारीमा रसायनको प्रयोग सकेसम्म कमभन्दा कम गर्ने ।
४. विद्यालय, अस्पताल, खाद्यपदार्थ बनाउने, खुवाउने ठाउँहरूमा शुद्ध पानीको प्रयोग र वितरण गरिएको छ वा छैन भनी सम्बन्धित निकायले समय–समयमा सुपरिवेक्षण, निरीक्षण, अवलोकन गर्नु जरुरी देखिन्छ ।
५. फोहर, मैला, ढल, दूषित पदार्थ, खोलानाला, नदी, सार्वजनिक स्थान, पानीको मुहानमा फाली पानी दुषित पार्ने कार्य गरेको पाइएमा कडाभन्दा कडा कारवाहीको व्यवस्था गर्नुपर्दछ । ढल निकासको उचित व्यवस्था मिलाउनु पर्दछ ।
६. घरमा पानी उमालेर, छानेर वा सोडेस विधिद्वारा तामाको भाँडामा भण्डार गरी राखिएको पानी पिउने गर्नुपर्दछ ।
नेपाल जलस्रोतको दोस्रो धनी देशका रुपमा परिचित भएतापनि उक्त स्रोतको उचित परिचालन हुन नसक्दा बिभिन्न सहरमा सधैँ पानीको अभाव भएको देखिन्छ । नेपालको एक मात्र पर्यटकीय नगरी पोखरामा सरसफाइ र खानेपानी उचित व्यवस्थापन गर्न नसकेको अवस्था छ । फोहर पदार्थहरू ठाउँ ठाउँमा थुप्रिनु, जस्तैः सेती नदी, फिर्के, बुलौदी, फेवातालमा, बेगनाशताल जस्ता जलाशयमा ठोस फोहरहरू प्लाष्टिकजन्य पदार्थ फाल्ने, ढल मिसाउने गर्नाले दुषितपना बढ्नुका साथै पोखराको सौन्दर्यमा ह्रास आएको देखिन्छ । खानेपानीको मुहान (दुषित र असुरक्षित अवस्थामा देखिनु) धारामा वितरण गरिएको पानीमा हिलो, पातपतिङ्गर मिसिएको अवस्था छ । वितरण गरिँदै आएको पिउने पानीको स्रोत जलसम्पदा हाम्रा सम्पत्ति हुन् । यिनलाई प्रदूषण हुनबाट बचाउनु हामी सबैको कर्तव्य हो । समयमा नै यसबारे सचेत भई सरसफाइमा ध्यान दिएमा वर्षातको मौसममा बढी देखा पर्ने झाडापखाला, टाइफाइड, कमलपित्त जस्ता रोगबाट बच्न बचाउन सकिन्छ । सबैले सरसफाइमा ध्यान दिएमा स्वास्थ्य जीवनयापन गर्न सकिन्छ । त्यसैले प्रकृतीको संरक्षण गरौ, अकाल मृत्यु र भिबिन्न महामारीबाट बचौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->