बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कांग्रेसमा महाधिवेसन लहर : बागलुङमा पनि बढ्दै सरगर्मी

कांग्रेसमा महाधिवेसन लहर : बागलुङमा पनि बढ्दै सरगर्मी


  • ढोरपाटन सम्वाददाता
  • असार २० २०७८, आइतबार

बागलुङ, २० असार– यसअघिको संसद, प्रदेश र स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ठूलो हार व्यहो¥यो । सबै ठाउँमा प्रतिपक्षको भूमिकामा मात्रै कांग्रेस छ । गण्डकी प्रदेशमा पुगेको बहुमतमा पनि मन्त्रीमण्डल गठन हुन सकेको छैन ।
कांग्रेस प्रतिपक्षमा पनि यति साह्रै कमजोर छ की एक्लै अविश्वास प्रस्ताव राख्न समेत सक्दैन । बैकल्पिक सरकार बनाउन खोज्दा कांग्रेसलाई सबैले सर्मथन दिँदा पनि संभव नहुने स्थानमा छ । सत्ताका क्रियाकलापमा सशक्त आवाज उठाउनुपर्ने प्रतिपक्षका एकदुई जना नेताको मात्रै आवाज सुनिन्छ । सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला सहितका आसन्न महाधिवेसनमा प्रतिष्पर्धी हौं भन्नेहरु कोही पनि संसदमा बोलेको सुनिदैन ।
यता कांग्रेसको चौधौं महाधिवेसनको मिति तोकिएको छ । महाधिवेसनमा भने दर्जनौ नेताको उमेदवारीको चर्चा छ । राष्ट्रिय राजनीति, जनजीविका र अन्तराष्ट्रिय सम्बन्धका बिषयमा कहिलेपनि चासो नराख्नेहरु अहिले उमेदवारीका लागि भने सल्बलाएका छन् । केन्द्रीय राजनीतिमा अहिलेसम्म देखिएका तीनवटा धारमध्ये संस्थापन शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाट यो पटक धार फेरिने संभावना बढी छ । तेस्रो धारको रुपमा चिनिएका कृष्ण सिटौला अहिलेसम्म मौन छन् । देउवा पक्षका बिमलेन्द्र निधी आँफै उमेदवारी घोषणा गरेर अगाडि बढेका छन् । पौडेल पक्षका कोइराला सहित प्रकाशमान सिंह समेतले दोश्रो पुस्तामा जाने चर्चा चलाएका छन् । केन्द्रीय महाधिवेसनका लािग चर्चा भैरहेकै बेला जिल्लामा पनि अधिवेसनको माहौल सिर्जना हुन थालेको छ ।
निशेधाज्ञा र कोरोना कहरका कारण लामो समयदेखि बजारहरु सुनसान थिए । तर साउन १२ गतेबाटै वडा तहको अधिवेसन सुरु हुने भएकोले चोक चोकमा अहिले कांग्रेस महाधिवेसनबारे बहस सुरु भएको हो । साउन १६ गते गाउँ–नगर अधिवेसन, साउन २० गते प्रदेशसभा क्षेत्रीय अधिवेसन र प्रतिनिधिसभा क्षेत्रीय तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेसन साउन २३ गते हुनेछ । एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा भने साउन २६ गते निर्वाचन हुनेछ । प्रदेशमा भदौ १ र २ गते तथा भदौ १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेसन हुनेछ ।
अधिवेसनको मिति नजिकिएपछि धेरै मानिस जम्मा हुने ठाउँ नभएपनि कोठाकोठा, सामाजिक संजाल र बाहिर निस्केको मौका छोपेर नेताहरुले अधिवेसनको बहस चलाउन थालेका हुन् । आँफू निकटलाई भोट माग्ने, फोनबाटै भएपनि पत्रकारलाई सूचना दिने काम थालेका छन् । यो ७७ वटै जिल्लामा सुरु भैसकेको बहस हो ।
बागलुङको राजनीति पनि यो भन्दा फरक छैन । बिस्तारै नेताहरु गाउँ पस्दैछन् । कोही बाढी पीडित, कोरोना संक्रमित लगायतलाई राहत वितरण गरेर भएपनि आफ्नो उपस्थिति सामाजिक संजालमा देखाइरहेका छन् । कोही नियमित रुपमा पार्टी संगठनमै छन् । नियमित काम गरेकाहरुले संजालमा फोटो पनि पोष्ट गरेका छैनन् ।
वडा तहबाटै निर्वाचित भएर आएपछि मात्रै जिल्ला र केन्द्रमा जान पाउने कानूनी प्रावधान कांग्रेसमा छ । अघिल्ला अधिवेसनभन्दा यो अधिवेसनमा क्रियाशिल सदस्यता दोब्बर बढेका छन् । त्यसैले अधिवेसन रोचक हुने संभावना छ । आफ्नो पक्षका के कति छन् भनेर उम्मेदवारले पहिचान गर्ने यो पहिलो मौका पनि हो । क्रियाशिल सदस्यता वितरणमा संस्थापन पक्षले मनोमानी गरेको भन्दै बिरोध गर्ने पनि उत्तिकै थिए । तर केही जिल्लाबाहेक विवाद छैन । विवादित जिल्लामा पनि समाधान भैसकेको नेताहरुको दाबी छ ।
बागलुङमा पनि बढ्दै सरगर्मी
अधिवेसनले वडादेखि क्षेत्रसम्मको पदाधिकारी, केन्द्रीय महाधिवेसन प्रतिनिधि, महासमिति सदस्य र जिल्लाको पदाधिकारी छनौट गर्छ । तीमध्ये जिल्लाको सभापतिबारे अहिले बढी चर्चा छ । गत निर्वाचनमा कांग्रेस सभापतिमा तीन जना उमेदवार थिए । तत्कालिन उपसभापति जगदिशचन्द्र उपाध्याय, अहिलेका पार्टी सभापति दिपेन्द्रबहादुर थापा र प्रदेशसभा सचेतक मणीभद्र शर्मा उमेदवार थिए ।
पहिलो चरणमा उपाध्याय पहिलो, थापा दोश्रो र शर्मा तेस्रो मतभारमा देखिए । कांग्रेस बिधानले बढी मत ल्याएर मात्रै सभापति बन्न दिंदैन । कम्तिमा ५१ प्रतिशत मत ल्याउनेले मात्रै सभापति बन्न पाउने प्रावधान छ । पहिलो चरणमा शर्मा बाहिरिएपछि उनको मतले थापालाई समर्थन ग¥यो । जसका कारण थापाले सभापति जिते । अबको निर्वाचनमा पनि उपाध्याय सशक्त उमेदवारको रुपमा अगाडि सरेका छन् । यसअघिका सभापति प्रकाश शर्मा पौडेलले उपाध्यायलाई साथ दिएका छन् ।
केन्द्रीय राजनीतिमा पौडेल र शर्मा दुवै रामचन्द्र पौडेल पक्षका हुन् । थापा देउवा पक्षका हुन् । उपाध्यायलाई टक्कर दिन संस्थापनबाट थापा मात्रै बलियो उमेदवार भएको चर्चा छ । त्यसबाहेक सचेतक शर्मा पनि सभापतिका उमेदवार हुन् । केन्द्रीय राजनीतिको माहोल बुझेपछि मात्रै शर्मा सभापतिका लागि आउने गरी तयारी गरेका छन् ।
सभापतिका लागि अहिलेका सचिव नवराज पौडेल र महाधिवेसन प्रतिनिधि जगन्नाथ आचार्यले पनि दाबी गरेका छन् । पौडेलले सभापतिका लागि प्रचारै थालिसकेको बताए । ‘म स्वभाविक रुपमा उमेदवार हो, साथीहरुसँग छलफल पनि अगाडि बढाएको छु’ उनले भने, ‘केन्द्रीय समीकरणमा फेरबदल भएपनि जिल्लामा स्वभाविक रुपमा अधिवेसन हुनेछ ।’ पौडेल सिटौला समूहको भएको कार्यकर्ता तहमा बुझाइ छ । उनले भने समूहबारे बोलेका छैनन् ।
आचार्य शिक्षक पेशाबाट आएका हुन् । २०४२ सालमै बिद्यार्थी संगठन निर्माणमा भूमिका खेलेको भन्दै उनले सबै उमेदवारभन्दा सिनियर भएकोले दाबी नछाड्ने बताए । प्रेस युनियन, शिक्षक संघ र शिक्षक युनियनको समेत अध्यक्ष भएर काम गरेको अनुभव र ती सबै स्थानमा सफल भएकोले पार्टीलाई पनि सफल बनाउन सक्ने आचार्यको दाबी छ ।
उपाध्याय अघिल्लो निर्वाचनमा पहिलो चरणमा धेरै मत ल्याएको, दोश्रो चरणमा पराजित र पौडेल समूहको एकमात्रै उम्मेदवार भएकोले सहजै अगाडि बढ्न सक्ने दाबी गर्छन् । थापाले भने अहिले नै सबै कुरा खोल्न हतार नभएको बताए । ‘छोरो पाउने कहिले कहिले, कान्नानी अहिले ?’ थापाले भने, ‘वडादेखि क्षेत्रीय अधिवेसनले के सन्देश दिन्छ त्यसपछि मात्रै उमेदवारी हुने नहुने यकिन गर्छु ।’ टिममा सबैले अगाडि बढ्न सुझाव दिएमा सभापति लड्ने उनले बताए । केन्द्रमा जाने बिषय भने सोची नसकेको समेत उनको भनाइ छ ।
पूर्व सभापति प्रकाश शर्मा पौडेललाई पनि एकाथरीले सभापतिको उमेदवारको रुपमा बुझेका छन् । टिममा उपाध्यायलाई नै सभापतिमा निर्विकल्प लैजाने योजना बनिसकेको उपाध्यायका निकट युवा नेता महेन्द्र कंडेलले बताए । ‘अब युवाहरुको टिम आउनु पर्छ भन्ने मेरो मान्यता हो’ कंडेलले भने, ‘मेरो पनि पदाधिकारीमा दाबी रहन्छ ।’
दुइपटकसम्म प्रदेश सभामा पराजित भएका जीत शेरचन पनि महाधिवेसनमा सशक्त उम्मेदवार हुनेछन् । उनले कुन पदमा लड्नेछन् यकिन भएको छैन । क्षेत्रीय सभापति द्रोण कुँवरले सभापतिको तयारी थालेको बताए । क्षेत्रीय सभापतिमा सफलता पाएकोले जिल्ला सभापतिमा पुगेर पनि पार्टी सफल बनाउन सक्ने उनको दावी छ ।
अधिवेसनमा सचिवका लागि समेत आकांक्षी बढेका छन् । पूर्व सहसचिव समेत रहेकी गण्डकी थापा, क्षेत्रीय सभापति चिरन्जिवी गौतम, संगठन बिभाग प्रमुख फम खत्री, कोषाध्यक्ष उमेश केसी, महाधिवेसन प्रतिनिधि हरिहर शर्मा, बसन्तकुमार श्रेष्ठ र नारायण शर्मा पौडेल लगायतले सचिवमा दाबी गर्ने आंकलन गरिएको छ । केहीले मुख खोलीसकेका छन् भने केहीले तयारी गरिरहेका छन् । जिल्लामा एक जना सभापति, दुइ उपसभापति, दुइ सचिव, एक सहसचिव र एक कोषाध्यक्ष हुनेछन् । कोषाध्यक्ष बाहेक सबै पद निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->