नवलपुर,२४ असार – पूर्वपश्चिम मुख्यमार्गको नवलपुर खण्ड अवरुद्ध छ । बुधवार अपरान्हदेखि परेको पानीले कावासोती फलफूलचोकस्थित हाटबजार र कृषि उपज संकलन केन्द्रको आडैमा रहेको खोल्साको पानी पार हुने कल्भर्ट भत्किदा मुख्यमार्ग अवरुद्ध बनेको हो ।
फलफूलचोकस्थित कल्भर्टको दुवै छेउबाट बाढीले जगसहितको फाउण्डेसन भत्काउँदा राजमार्ग अवरुद्ध बनेका जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार एक्साभेटर प्रयोग गरेर काम थालिएको छ । बर्षा भईरहेकाले राजमार्गमा सवारी साधन आवागमन खुलाउन कति समय लाग्छ भन्ने एकिन छैन । थप क्षति हुनबाट जोगाउन कोशिस गरिएको छ । सिडीओ पंगेनीले भनिन् ।
यता, देवचुलीको दलदलेमा पनि सडक जलमग्न भएपछि सवारी साधन रोकिएको छ । गैंडाकोटको डाईभर्सन र दाउन्ने खण्डमा भने अवस्था सामान्य रहेको पंगेनीले बताईन् ।





