बागलुङ, २८ असार– पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६ सय ९० जना र ३ हजार ८ सय ९५ एन्टिजेन परीक्षण गर्दा ६ सय ८० गरी २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १ सय ३३ जना निको भएका छन् । नेपाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १ सय ३९ पुगेको छ । तीमध्ये हालसम्म ९ हजार ४ सय जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार, हाल देशभर २६ हजार ७ सय १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९ सय ४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७ सय ६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५ सय ४९ जनाको आईसीयू र १ सय ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
गएको २४ घण्टामा प्रदेश १ मा ४ सय ४७, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ७ सय १८, गण्डकीमा २ सय ८६, लुम्बिनीमा १ सय ५५, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।





