बागलुङ, २९ असार– महाधिवेशन नजिकिंदै जाँदा कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा बिधान बिपतिर भएको भन्ने आरोपविरुद्ध केही वडाका सभापतिले बिधान अनुसार काम गरेको बताएका छन् । उनीहरुले विज्ञप्ती समेत निकालेर वितरण गरिएको क्रियाशिल सदस्यता बिधानसम्मत भएको जिकिर गरेका हुन् ।
बागलुङ नगरपालिका वडा नं. ११ का सभापति थमबहादुर थापा, काठेखोला गाउँपालिका वडा नं. १ का सभापति खडग थापा र वडा नं. ४ का सभापति यमदत्त कंडेलले संयुक्त विज्ञप्तीबाट आफ्नो वैधानिकता भएको बताएका हुन् । केन्द्रीय समितिको निर्णय, निर्देशन र परिपत्रकै आधारमा क्रियाशिल वितरण भएको उनीहरुले स्पष्ट पारेका छन् ।
अन्य दल त्यागेर आएका, नियमित राजनीतिमा क्रियाशिल लगायतको कारण अघिल्लो महाधिवेसनको तुलनामा सदस्यता संख्या बढेको छ । सानो वडामा पनि दोब्बर संख्या बढेको भन्दै केही उजुरीसमेत परेपछि बिधानले मिल्ने देखिएकालाई मात्रै सदस्यता दिएको उनीहरुले स्पष्ट पारेका छन् ।
जिम्मेवार नेता र कार्यकर्ताले समेत वास्तविक धरातल नबुझी भ्रामक हल्ला फैलाएकोले आम जनताका लागि सूचना प्रवाह गर्नुपरेको समेत उनीहरुले बताएका छन् । उनीहरुले महाधिवेशन सम्पन्न गर्न सबै मिलेर जानुपर्ने समेत बताएका छन् । साउन १२ गतेदेखि कांग्रेसको वडा तहहुँदै केन्द्रीय तहसम्मको महाधिवेशन हुँदैछ ।





