बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

डेल्टा प्लसको तेस्रो महामारी र बालबालिकामा पार्ने प्रभाव

डेल्टा प्लसको तेस्रो महामारी र बालबालिकामा पार्ने प्रभाव


  • कृष्ण कुमार सैजु
  • साउन १ २०७८, शुक्रबार

चीनको वुहान शहरबाट फैलिन सुरु गरेको कोरोनाभाइरसका कारण संसारभर हालसम्म करिब ४१ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने करोडौँ बिरामी भएका छन् । समयको गतिसँगै उक्त जीवाणुले आफूलाई परिष्कृत हुने क्रम जारी रहँदा डेल्टा भेरिएन्टपछि अहिले डेल्टा प्लस भेरिएन्टको रूपमा परिचित छ ।
मुलुक कोरोना (डेल्टा भेरिएन्ट) महामारीको दोस्रो लहरबाट बाहिर निस्कन नपाउँदै अर्को त्रास थपिएको छ । त्यो त्रासको कारण हो, नेपालमा समेत संक्रमित फेला परेको कोरोनाको ‘डेल्टा प्लस’ भेरिएन्ट । ‘डेल्टा प्लस’ भेरिएन्टका कारण यसरी चिन्ता थापिनुको कारण हो यसमा देखिएको उच्च संक्रामकता र फैलावट । यसबाहेक यो भेरिएन्टका भाइरसको कोषमा टाँसिन सक्ने क्षमतासमेत अघिल्ला भेरिएन्टको भन्दा अत्यधिक बढी भएको देखिएको छ ।
हालसम्म नेपालमा ९ वटा नमुनामा देखिएको डेल्टा प्लस भेरिएन्ट उच्च संक्रामक रहेको स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वीकार गरेको छ । ती नौ जनामा बालबालिका र वृद्धसमेत छन् । तर डेल्टा प्लसबाट संक्रमित नौ जनानिको भइसकेका छन् जानकारी आएको छ ।
के हो ‘डेल्टा प्लस’ भेरिएन्ट ?
डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप ‘एवाई.१’ नै डेल्टा प्लस भेरिएन्ट हो । भारतमा भेटिएका कोरोना भाइरसको डबल उत्परिवर्तीत रूप बी.१.६१७.२ लाई विश्व स्वास्थ्य संगठनले डेल्टा नाम दियो । त्यसमा अर्को उत्परिवर्तन भएको ‘के ४१७ एन’समेत मिसिएको देखिएपछि त्यसलाई नै डेल्टा प्लस भेरिएन्ट भन्ने गरिन्छ । यस भेरियन्टलाई डेल्टा + भेरियन्ट वा ‘एवाई.१’ वा बी.१.६१७.२.१ पनि भनिन्छ ।
‘के ४१७ एन’ उत्परिवर्तनका साथ आएका यी रूपहरू मूल भाइरसभन्दा बढी संक्रामक छन् । खोपहरू र औषधिहरूको प्रभावलाई यिनीहरूले कमजोर पार्न सक्छन् । त्यसैले यसले कोरोनाको अझ धेरै डरलाग्दो र खतरनाक तेस्रो लहर ल्याउने सम्भावना आँकलन गरिएको हो ।
यसकारण बढी खतरनाक ‘डेल्टा प्लस’ भेरिएन्ट
अन्य विगतका भेरिएन्टभन्दा धेरै संक्रामक रहेको डेल्टा प्लस फोक्सोको कोशिकाको रिसेप्टरमा बलियोसँग टाँसिन सक्छ । यहीं कारणले फोक्सोलाई छिटो नोक्सान पु¥याउँछ । यो मोनोक्लोनल एन्टिबडी ककटेललाई समेत असफल बनाउन सक्षम देखिएको छ । भारतको इन्डियन सार्स कोभ–२ कन्सोर्टियम अन जिनोमिक्स (आईएनएसएसीओजी) का अनुसार पनि डेल्टा प्लस भेरिएन्टको ट्रान्समिसन क्षमता र फोक्सोको कोशिकाको रिसेप्टर्ससँग टाँसिने क्षमता बढी छ ।
भारत सरकारले डेल्टा प्लसलाई ‘भेरिएन्ट अफ इन्ट्रेस्ट’ (चासोको भेरिएन्ट)को श्रेणीमा राखेको छ । भारतीय सञ्चारमाध्यमले भनेपछिल्लो समय सरकारी स्रोतलाई उल्लेख गर्दै डेल्टा प्लसलाई बढी गम्भीर श्रेणी अर्थात् भेरिएन्ट अफ कन्सर्टमा राखिसकिएको जनाएका छन् ।
यस्तै भेरिएन्ट अफ इन्ट्रेस्टका रूपमा रहेको कप्पा भेरिएन्ट (बी.१.६१७.१) समेत नेपालमा देखिसकिएको जानकारी आएको छ । कप्पा भेरिएन्ट पहिलो लहरको भाइरसको दाँजोमा २८ देखि ८९ प्रतिशतसम्म बढी संक्रामक देखिएको छ ।
हालसम्म नेपालमा ४१३ नमुनामा कप्पा भेरिएन्ट देखिएको विवरण छ । हाल मुख्य रूपले नेपालमा कप्पा देखिएको छैन तर डेल्टा, डेल्टाप्लस, कप्पा सबैको सर्ने दर भने उच्च छ । यी भेरिएन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनहरूबाट देखिएको छ । अहिलेसम्म डेल्टा प्लस भेरिएन्ट नेपालसहित भारत, अमेरिका, ब्रिटेन, क्यानडा, पोल्यान्ड, जापान, पोर्चुगल, रुस, स्विट्जरल्यान्ड, टर्की गरी ११ मुलुकमा पाइएको छ । भारतसहित अन्य मुलुकले डेल्टा प्लस भेरिएन्टको फैलावटबाट फेरी पनि ठुलो जनधनको क्षति हुनसक्ने भनेर आफ्नो माताहतको सबैस्वस्थ्य इकाईहरूलाई हाई अलर्ट गराईसकेको छ ।
बालबालिकाहरुलाई कतिको प्रभाव पार्ला ?
तेस्रो लहर आउने र बालबालिकाहरुलाई गम्भीर बिरामी बनाउने सम्भावना रहेको कुरा कुनै आधारमा आधारित नभई आँकलनको भरमा भनिएको हो । किनकी पहिलो लहरमा वृद्धवृद्धालाई बढी असर पारेको थियो भने दोस्रो लहरमा युवाहरुमा धेरै संक्रमण पारेको छ । यी दुवै लहरमा भएको संक्रमणलाई विश्लेषण गर्दा तेस्रो लहर पनि आउन सक्ने सम्भावना रहेको छ ।
पहिलो लहरमा बृद्धहरुलाई बढि संक्रमण पारेका कारण खोप लगाइयो । अब दोस्रो लहरमा युवाहरु बढि पिडित भए । उनीहरुका लागि पनि खोपको व्यवस्थपन हुँदैछ । तर बालबालिकाका लागि कुनै खोप तयार छैन, केवल ट्रायल भइरहेको छ । यसकारण तेस्रो लहर आउँदा बालबालिकाहरु बढी संक्रमित हुने सम्भावना छ ।
समुदायस्तरमा कोरोना भाइरस फैलिसकेका कारण कुनै पनि समय बालबालिकाहरु संक्रमित हुने सम्भावना छ । नेपालमा बालबालिकाहरुलाई कोरोना संक्रमण भइहाले पनि उपचारका लागि पुग्दो मात्रामा आइसियु, एचडियु, तथा जनशक्तिको अभाव भने पक्कै हुन्छ । ‘वयस्क तथा युवाहरुलाई प्रयोग हुने आईसियु र भेन्टिलेटर बालबालिकाहरुलाई प्रयोग गर्न मिल्दैन र उनीहरुको उपचार विधि नै फरक हुने भएकाले हालका पूर्वाधारहरु बालबालिकाको उपचारमा काम लाग्दैनन् । उनीहरुका लागि विशेषज्ञ चिकित्सक तथा नर्स आवश्यक पर्दछ । नेपाल पेडियाट्रिक सोसाइटीमा ७८७ बालरोग विशेषज्ञहरु दर्ता रहेका छन् भने दर्ता नभएका लगभग २०० को हाराहारीमा चिकित्सकहरु होला ।
त्यस्तै सबैभन्दा बढी पेडियाट्रिक नर्सको आवश्यकता हुन्छ तर नेपालमा पेडियाट्रिक नर्स लगभग १०० जना जति मात्र रहेको तथ्यांक छ । देशभरी कमै मात्र बालबालिका केन्द्रित अस्पताल तथा सेवाहरु रहेका छन् । अर्को कोरोना संक्रमणमा यस्तै खालको भाइरस आउँछ भन्न सकिन्न । त्यसैले आंकलनकै भरमा भएपनि पुर्व तयारी गर्न अत्यान्त जरुरी रहेको छ ।
खोप तथा एन्टिबडीले काम गर्छ ?
अहिले डेल्टा प्लस भेरियन्टविरुद्ध कोरोना खोपले कत्तिको काम गर्छ भन्ने विषयमा विश्वभर नै अध्ययन भइरहेको छ । अहिलेको अवस्थामा यो भेरियन्ट खतनाक देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । डेल्टाका कारण संक्रमण फैलिने दर धेरै हुने हुँदा यसबाट हुने सार्वजनिक स्वास्थ्यको जोखिम पनि बढी हुनसक्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नेपालमा तेस्रो लहर रोक्नका लागि १ करोड ५० लाख खोपको खरिद प्रक्रिया अगाडि बढाएको जनाएको छ । हालसम्म नेपालमा २५ लाख ५६ हजार १२९ जना अर्थात् ८.२ प्रतिशत जनसंख्याले पहिलो मात्रा र ७ लाख ४५ हजार ६७० अर्थात २.३ प्रतिशत जनसंख्या मात्रैले दुवै मात्रा खोप पाएका छन् । अझै पनि नेपालमा करोडौं मानिसहरू जोखिममा छन् ।
डोल्टा प्लस भेरियन्टलाई खोप तथा एन्टिबडीले काम गर्ने विषय अनुसन्धानको विषयमा रहेको छ । अहिलेको डोल्टा प्लस भेरियन्टमा एन्टिबडी तथा खोपले कति काम गर्छ भन्ने कुरा अध्ययनको विषयमा छन् । तर, जुनसुकै भेरियन्ट आएपनि केही न केही काम त अवस्य गर्छ । त्यसैले नेपाल सरकारले जतिसक्दो छिटो कोरोना भ्याक्सिनको ब्यवस्था गर्नुपर्छ ।
भारतमा प्रकोप भएपछि नेपालमा पनि सहज रूपमा आउन सक्छ । भाइरस नयाँ छ, कति खराब अवस्थासम्म पु¥याउन सक्छ, यकिन गर्न सकिँदैन, तेस्रो प्रकोप आए पनि नआए पनि हाम्रो स्वास्थ्य संरचना बलियो बनाउनुपर्छ । र, हामी सबैजना आफ्नो ठाउँमा आफ्नो र आफन्तको लागी सुरक्षित भएर पुर्बतयारीको साथ आईपर्ने संभाबित तेस्रो लहरको प्रतिकार गर्न तयारी अवस्था बस्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->