बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ढाडको दुखाईका कारण र समाधान

ढाडको दुखाईका कारण र समाधान


  • कृष्ण कुमार सैजु
  • साउन ८ २०७८, शुक्रबार

दुखाई वा दुख्नु भनेको शरीरका कुनै पनि अंगमा भएको चोटको कारण हुने पीडादायी भोगाई हो । अंगका जुनसुकै भागमा जे–जस्ता पीडा, समस्याका घाउचोट छन् तिनका समाधान वा उपचार गर्ने विधि पनि भिन्दा–भिन्दै हुन्छन् । ढाड कसरी दुख्छ र समाधानका घरेलु उपायहरूके के हुन् भन्ने बारेमा विस्तृतमा जानकारी आजको बसाइमा ।
समान्यतयाः गर्धनको पछाडि (घिच्रो) र नितम्ब बीचको मध्यरेखालाई ढाड भनिन्छ र त्यहाँ हुने दुखाईलाई ढाड दुख्नु भनिन्छ । मेरुदण्डको निर्माणमा सहभागी हड्डी र मांसपेशीलाई असर गर्ने रोग र अवस्थाले ढाड दुख्छ । यस्तो दुखाई मेरुदण्डमा जहाँकहिँ पनि हुन सक्दछ । तर मुख्य गरेर मेरुदण्डको तल्लो भागको समस्या बढी देखिएको पाइन्छ । मांसपेशी कडा भएझैँ अथवा घाऊ भएझैं अथवा खुट्टा पसार्दा वा मेरुदण्ड चलाउँदा भएको तीब्र दुखाई दुखेको ठाउँबाट अन्यत्र सरे झैं महसुस हुन्छ ।
ढाड दुख्नुको मुख्य कारण गलत तरिकाले काम गर्नु वा गलत बसाई र सुताई हो । त्यसक्रममा ढाड वा नजिकको मांसपेशीमा असर परेर ढाडको समस्या शुरू हुन्छ । कुर्सीमा बसेर बढी समयसम्म काम गर्नेलाई ढाडको समस्या धेरै हुन्छ । एउटै ‘पोस्चर’मा बस्दा पछाडिको मांसपेशी एकदमै थाकेको हुन्छ । ढाडलाई अफ्ठेरो गरेर राखीराख्यो भने मांसपेशी थाकेर ढाड दुख्छ । ‘पोस्चर’ ठिक भएन भनेपनि ढाड दुख्छ । लामो यात्राको गर्दा पनि यो समस्या आउँने गर्छ । एउटै ‘पोस्चर’ २० मिनेटभन्दा धेरैबेर बस्दा पनि ढाड दुख्छ । जुनसुकै काममा एउटै ‘पोजिशनमा’ बस्दा ढाड दुख्छ । ढाडको अधिकांश समस्या मांसपेशी कमजोर भएर हुन्छ । नशा सम्बन्धी समस्याले पनि ढाड दुख्छ तर यो सम्भावना तीन प्रतिशत मात्रै हुन्छ ।
ढाडको ‘मुभमेन्टलाई’ नियन्त्रण गर्न नसकेको बेलामा पनि मांसपेशी कमजोर हुन्छ । जसले गर्दा ढाड दुख्छ । यस्तो बेलामा दुखाई कम हुने औषधि खानुपर्छ । कम भइसकेपछि मांसपेशीलाई बलियो बनाउनुपर्छ । त्यसका लागि मांसपेशी सक्रिय हुनुपर्छ । कहिलेकाँही ढाडको समस्या किड्नीमा पत्थर परेर पनि हुन्छ । पेटको समस्या भयो भने पनि समस्या हुन्छ । तर यस्तो समस्या एकदमै कम हुन्छ । हड्डी खिइने समस्याले पनि ढाड दुख्छ । हड्डी खिइएपछि पनि नशा च्यापिन्छ जसले गर्दा ढाड दुख्छ ।
ढाड दुख्नुका कारणहरू
शारीरिक एवम् चोटपटक सम्बन्धी कारणहरूः मेरुदण्ड भाँच्चिनु वा मेरुदण्डको भाग चिरिनु, मेरुदण्डको आन्तरिक भाग उछिट्टिनु, मेरुदण्ड र जोर्नी सम्बन्धी जन्मजात समस्या हुनु ।
वाथ एवं हड्डी खिइने रोगः वाथ अर्थात् विभिन्न कारणले जोर्नी दुख्ने र सुन्निने रोग र उमेर अनुसार मेरुदण्ड खिइने र नशा थिचिने समस्याले ढाड दुख्न सक्छ । त्यस्तै हड्डीको संक्रमण, हड्डीको मासी (क्याल्सियमको कमीले हड्डी कमजोर हुनु), अस्थिमृदुता (osteomalacia) आदिले पनि ढाड दुख्न सक्छ ।
पछाडिको मांसपेशीमा तनावः जुन अत्याधिक भारी बस्तु उचाल्नु, भार अनुपयुक्त तरिकाले उचाल्नु, नमिल्दो आसन र नियमित व्यायामको कमीका कारण हुन्छ ।
मूत्रनलीको समस्याः जस्तै– मृगौलामा पानी जम्नु, मृगौलाको पत्थरी, मूत्राशय, मूत्रनलीको तल्लो भागमा संक्रमण आदिद्वारा तल्लो ढाडमा दुखाई हुन सक्दछ । गर्भावस्था, महिनावारी र महिनावारीपछिको समयमा सामान्यतयाः ढाड दुखेको हुन्छ ।
ढाड दुख्ने अधिकाँस कारणहरू यस्ता छन्
–अड पोजिशन
–एउटै ‘पोस्चर’मा धेरैबेर बसेर
–धेरै ‘जर्की मुभमेन्टमा’ बसेर
–धेरै लामो यात्रा गरेर
–धेरै गह्रौ भारी उठाउँदा
चिकित्सक कहाँ कति बेला जाने ?
धेरैजसो ढाडको दुखाई छोटो हुन्छ, घरेलु उपचार र दुखाई कम गर्ने औषधीबाट निको हुन्छ । तर निम्न अवस्थामा भने चिकित्सकीय सल्लाह लिनु जरुरी हुन्छ ।
–दैनिक जीवनका क्रियाकलाप नै गर्न नसकिने गरी ढाड दुखेमा । सामान्य ज्वरो र सामान्य विसंचोसँगै ढाड दुखेमा ।
–ढाडको दुखाई कडा भएमा, केही समयपछि निको नभएमा वा आराम गर्दा वा उत्तानो पर्दा पनि दुखीरहेमा ।
–खुट्टामा झमझम वा कमजोरी भएमा वा उभिँदा वा हिड्दा गाह्रो भएमा ।
–यदि आन्द्रा वा मूत्राशयमा नियन्त्रण नभएमा यो स्नायुगत समस्या वा उपचारको अवस्थाको कारण हुन सक्छ । जसको उपचार उचित तवरले गर्नुपर्दछ ।
कसरी गर्ने उपचार
ढाडको दुखाईको उपचार दुखाई के कति कारणले भएको हो सोही अनुसार गर्नुपर्छ । ढाडको दुखाईको पहिचान रगत परीक्षण, मूत्रपरीक्षण, एक्सरे, सीटी स्क्यान, एम.आर.आई आदि विभिन्न तरीकाबाट गर्न सकिन्छ । उपचारको मुख्य लक्ष्य दुखाईबाट छुटकारा पाउनु र हिड्डुलमा सहयोग पु¥याउनु नै हो ।
दुखाई र जलन कम गर्न इबुप्रोफेन, पारासिटामोल जस्ता जलन÷सुजन प्रतिरोधक ननस्टेरोइड औषधीहरूको आवश्यकता पर्दछ । तातो वा बरफको स्थान विशेषमा गरिने प्रयोगले पनि जलन र दुखाईलाई कम गर्न सक्दछ ।
जुन मांसपेशीमा दुखेको छ त्यसले ‘ल्याक्टिकेसिड’ निकाल्छ । यसलाई ठीक गर्छ । ‘मसल्सलाई रिल्याक्स’ गराएर दुखाई कम गराउनुपर्छ । यदि नशा च्यापिएको छ भने अली बढी ध्यान दिनुपर्छ । नशा च्यापिएकोलाई अलि कडा खालको ‘स्टेरवाइडहरू’, दुखाई कम हुने औषधिहरू खानुपर्छ र ६ हप्तासम्म बेड रेष्ट गर्नुपर्छ । मांसपेशीमा मात्रै समस्या देखिएको भए दुई दिन मात्रै बेडरेष्ट गर्दा ठीक हुन्छ । नशा च्यापिएको छ भने अरू थप समस्या पनि आउँछ । बेडरेष्ट लगातार गर्दा यसले ढाड दुखाईलाई निरन्तरता दिइरहन्छ । ६/७ दिनमा पनि ठिक भएन भने सर्जरी नै गर्नुपर्छ तर यो सम्भावना निकै कम हुन्छ ।
हड्डी खिइएर भएको हो भने हड्डी रगटिएर नशा निश्कने बाटो साँघुरो हुँदै जान्छ । नशा च्यापिएपछि नशाहरू खुम्चिन्छ जसले गर्दा मांसपेशी कमजोर हुन्छ । मांसपेशी कमजोर भएपछि बिरामीलाई दुखाई बढ्छ ।
दुखाई कम हुने औषधिले पनि ठिक भएन भने अल्ट्रासाउण्डसम्म गर्नुपर्छ । कहिलेकाँही किड्नीमा समस्या आएको पनि हुनसक्छ । पत्थरी छ कि, पाठेघरमा समस्या छ कि भनेर समेत ध्यान दिनुपर्छ । पिसाबमा केही समस्या छ कि परीक्षण गर्नुपर्छ । कसैलाई स्थायी रूपमा ढाड पनि दुख्छ । यस्तो बेलामा बेलाबखत थेरापी गरिरहनुपर्छ । यो भनेको मांसपेशीलाई बलियो बनाउने नै हो ।
नशा च्यापिने भनेको कुरकुरे हड्डी फुटेर पनि हुनसक्छ । अर्को हड्डी खिएर पनि हुन्छ । यो क्रोनिक खिइएर हुन्छ । यस्तो समस्या ६०÷७० वर्ष कटेपछि मात्रै हुन्छ । तर कुरकुरे हड्डी फुट्यो भने युवा उमेरमा पनि यो समस्या हुन्छ । नशा च्यापियो भने खुट्टा झमझम हुन्छ । त्यो हुनु भनेको नराम्रोको लक्षण हो । यस्तो बेला कडा खालको औषधि समेत खानुपर्ने हुन्छ ।
डाक्टरको निगरानीमा औषधि खानुपर्छ । औषधिले सुन्निएको कम गर्छ नशा सुन्निएर साँघुरिएको भागलाई खुलाउने काम गर्छ । नशा च्यापिने कुरा कसैको नियन्त्रणको कुरा होइन । यो कुरकुरे हड्डी फुटेर पनि हुन्छ । नशा च्यापिएको छ भने दुखिरहन्छ । अर्को व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान नदिएर पनि हो ।
मांसपेशी दुःखेको छ तर उसले वास्ता गरेन भने समस्या बढ्दै जान्छ । दुखाई बढ्यो दुई दिन औषधि खायो अनि मनपरी ग¥यो, ढाडको व्यायम पनि गरेन भने त्यसले समस्या पार्छ ।
फेरि दुई दिनमा ढाड दुख्छ फेरि औषधि खान्छ तर स्थायी समाधानको खोजी गरेको हुँदैन जुन गलत हो । यसका लागि औषधि खानुपर्छ, दुई दिन ‘बेड रेष्ट’ र तीन दिन घरमै ‘रेष्ट’ ग¥यो भने पाँचौ दिनमा ठिक हुन्छ । त्यसपछि ‘फिजीयोथेरापी’ गर्न सकिन्छ । तर दुखाई कम भएन भने भित्र के कारणले दुःखेको हो त्यो पत्ता लगाउनुपर्छ ।
कुनै कारण पत्ता लाग्यो भने त्यसको औषधि गर्नुपर्छ तर मांसपेशी कमजोर भएर हो भने त्यही अनुसारको उपचार गर्नुपर्छ । नब्बे प्रतिशतभन्दा बढी कारण मांसपेशी कमजोर भएर नै हो । यसलाई लापरबाही गरियो भने ढाड दुखिरहन्छ, धेरै नै लापरबाही ग¥यो भने कुरकुरे हड्डी फुटेर नशा च्यापिन जान्छ । ढाडको ‘सर्जरी’ बिरलैमात्र गरिन्छ । बिरामीले सहनै सकेन भने मात्रै ‘सर्जरी’ गर्नुपर्छ । यसको जटिलता आफ्नै ठाउँमा छ । त्यसैले ढाड वरिपरीको मासु बलियो बनाउनु नै राम्रो ।
घरेलु उपचार
–भूर्इँमा लम्पसार परेर मांसपेशीको तल्लो भागलाई तन्काउने र मांसपेशीको तल्लो भागलाई तन्काउन घुंडा खुम्च्याएर छातीमा ल्याउने ।
–मनौबैज्ञानिक तनाव र थकाईसँग सम्बन्धित ढाडको दुखाई कम गर्न नियमित हल्का व्यायाम गर्न सकिन्छ ।
–ढाडको मालिसले बाउँडिएको निको भई ढाडको दुखाई कम गर्न मद्दत पुग्दछ र मांसपेशीमा सन्चो हुन्छ । दुखाई मार्न मल्हमसँगै मालीसले पनि दुखाइमा काम गर्छ ।
–मनतातो पानीमा नुहाउनाले सामान्य तनाव दूर हुन्छ र सन्चो हुन मद्दत पुग्दछ । मनतातो पानीले बाउँडिएको र तन्किएको मांसपेशीमा सन्चो हुन्छ । पानीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी हुनुहुँदैन ।
–नरम तकियासँगै नरम तन्नामा आरामदायक सुताईको वातावरण बनाउनुपर्छ ।
–यदि अन्य विधिद्वारा बाँउडिएको कम गर्न मद्दत नपुगे वा दुखाई लामो भएमा दुखाई कम गर्न ५०० मिलिग्रामको ओरल पारासिटामोल औषधी प्रयोग गर्नुपर्दछ । दुखाई कम गर्ने अन्य औषधी लिनुभन्दा अघि चिकित्सकसँग सम्पर्क गर्नुपर्दछ ।
–लामो समयसम्म कुप्रिएर बस्न हुँदैन । प्रत्येक २० देखि ३० मिनेटसम्म उठबस गर्ने र खुट्टा तन्काउने गर्नुपर्दछ । बस्दा डँडाल्नोलाई सिधा राखी सामान्य बसाई हुनुपर्छ ।
–छोटो कुर्कुच्चा भएको र आरामदायक जुत्ता लगाउनुपर्दछ । अग्लो कुर्कुच्चा भएको जुत्ताले झन् बढी गाह्रो र असर पार्न सक्दछ । साथै, तल्लो डँडाल्नोमा दबाब सिर्जना गर्न सक्दछ ।
–विशेषतः गर्भावस्थामा र बच्चा जन्मिसकेपछि केही महिना लामो समयसम्म उभिनु हुँदैन ।
–लामो समय उभिएर गर्ने काम नगर्ने ।
–खानासँगै पर्याप्त मात्रामा क्याल्सियम र भिटामिन डी लिने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->