काठमाडौं, १४ साउन– पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ५५ पीसीआर परीक्षणमा २ सय ३ सय ३५ जना र ४ हजार ६ सय ८७ एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी ३ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ र १ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३ हजार ४२ पुगेको छ । तीमध्ये ९ हजार ८ सय ७ जनाको मृत्यु भएको छ भने ६ लाख ५० हजार ४ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार, हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ९० जना रहेका छन् । जसमध्ये २७ हजार ३ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ३६ जना आईसीयू र १ सय ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।





