मानव जीवनमा स्मरणशक्तिको ठुलो महत्व छ । मानिसको सम्पूर्ण ज्ञान तथा सीपमात्र होइन कि मानिसको हरेक विचार, आचरण, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै कुरा स्मरणशक्तिमा निर्भर रहन्छ ।
स्मरणशक्ति बिना मानिसको सम्पुर्ण अनुभव निरर्थक हुन्छ, जीवन खाली भाँडो जस्तै हुन्छ । दैनिक दिनचर्या सानातिना सरसफाईदेखी ठुला व्यापार व्यवसायसम्मको लागि समेत स्मरण शक्तिको आवश्यक हुन्छ । तर, सबै मानिसको स्मरणशक्ति एकनाश हुंदैन र सधैंभरि उस्तै पनि रहंदैन । प्रायः सबै मानिसहरूले आफ्नो जीवनकालमा कुनै न कुनै रुपमा स्मरणशक्ति गडबड भएको महसुस गर्छन् भने कतिपय मानिसहरू त बिर्सने रोगका कारणले जिउँदो लासजस्तो जीवन जिउन बाध्य हुन्छन् ।
किन घट्छ स्मरणशक्ति ?
स्मरणशक्ति गडबड (कमी) हुने तथा बिर्सिने रोगका विभिन्न कारणहरू हुन्छन् । उमेर ढल्कदै गएमा तथा स्मरणशक्तिका क्रियात्मक आधार (स्मरणशक्तिका तीन क्रियाहरू हुन्छन्ः अंकन (रजिस्ट्रेसन), धारणा (रिटेन्सन) तथा पुनःस्मरण (रिकल)मा कुनै त्रुटी भएमा पनि स्मरणशक्ति कमजोर हुन्छ । जस्तो कि याद राख्नु पर्ने विषयमा राम्रोसंग ध्यान दिइएन भने त्यो विषय मस्तिष्कमा राम्रोसंग अंकन तथा धारणा हुन सक्दैन, फलस्वरूप स्मरणशक्ति कमजोर हुन्छ । त्यसैगरी ठीक तरिकाले पुनःस्मरण गर्न नसकेको खण्डमा पनि स्मरणशक्ति कमजोर हुन्छ । यी स्मरणशक्ति घट्ने सामान्य कारणहरू हुन् । तर स्मरणशक्ति टाउकोको चोटपटक तथा अन्य शारीरिक तथा मानसिक रोगहरूका कारण पनि घट्ने गर्छ । त्यसैले सजिलोका लागि स्मरणशक्तिको कमी तथा स्मृतिलोपलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ ।
मोबाइल तथा प्रबिधीको दुष्प्रभाव
कुनै पनि चोटपटक वा स्नायुप्रणालीको समस्या नभएपनि बिस्मरण वा बिर्सनु अहिलेको ताजा समस्या हो । जस्को प्रमुख दोषी भनेको मोबाईल, ल्यापटप, कम्प्युटर, टि.भी. यसलाई आवस्यक पर्ने थ्रीजी, फोरजी, फाइभजी फाईबर ईन्टरन्ट तथा उच्च रेडियो विकिरण आदी हुन् । मानव स्वास्थ्यको लागि अन्य प्रदुषण जस्तै यो पनि अत्यन्तै हानिकारक छ र एउटा एटोमिक बमजस्ता हो । पहिलो कुरो अहिले मान्छेलाई सम्झन आवस्यक नै छैन चाँहिदा गुगलमा सर्च गरे भो । अर्को कुरा जे पनि स्टोरेज गरेर राखे भयो । तर, हामीलाई यो थाहा हुँदैन की यि प्रबिधीको प्रयोगले दिन प्रतिदिन हामी आफै रोगी भइरहेका छौँ । सम्झने प्रयासनै नगरे कसरी सम्झिन्छ ? जब हामीले आफ्नो मस्तिष्कलाई सक्रिय नै गर्दैनौ भने कसरी क्रियाशिल रहन्छ । प्रबिधीको विकाससंगै फैलिएको उच्च पराबैजनी बिकिरण, डिजीटल स्क्रिनबाट निस्किएको हानिकारक बिकिरणले मानव शरीरको सम्पुर्ण कोषिकासंगै मस्तिष्कका कोषहरू पनि दिन प्रतिदिन कमजोर भइरहेको हुन्छ । यसको प्रत्यक्ष प्रभाव मानव मस्तिष्कमा पर्छ र बिस्तारै बिस्तारै मानिसको स्मृती ह्रास हुँदै जान्छ ।

लेखक : कृष्ण कुमार सैजु
सामान्य विस्मृति
मानिस बुढ्यौलीपनमा प्रवेश गरिरहँदा मानिसको स्मरणशक्ति पनि केही न केही मात्रामा घट्दै जान्छ । यो प्रायः हरेक बृद्धबृद्धाले महसुस गरेको तथ्य हो । खासगरी ४० वर्षको उमेरपछि प्रायः मानिसहरूले आफ्नो स्मरणशक्ति घटेको गुनासो गर्छन् । यस किसिमको स्मरणशक्तिको कमीले मानिसको दैनिक जीवनमा खासै असर गर्दैन । तर, बूढेसकालमा, खासगरी ६०–६५ वर्षको उमेरपछि मानिसको दैनिक जीवनमा नै पूर्णतया असर गर्नेगरी स्मरणशक्तिमा कमी आयो भने त्यो स्नायुरोग, अल्जाइमरका कारणले हुन सक्दछ । तर, अल्जाइमरले जस्तो लक्षणहरू देखाउने ९० प्रतिशत कारणहरू अल्जाइमर नभएर अन्य रोगहरू हुने गर्छन् ।
बिर्सने रोग (एम्नेसिया)
बिर्सने रोग (मेमोरीलस)लाई मेडिकल भाषामा स्मृतिलोप (एम्नेसिया) भनिन्छ । यस्तो रोग लागेको व्यक्तिले आफ्नो नाम, ठेगाना, मिति–बार, गाउँ–टोल आदि जस्ता कुराहरू बिर्सन सक्दछ । वास्तवमा बिर्सिने रोग (एम्नेसिया) पुनःस्मरण गर्ने क्षमता वा पूर्वअनुभवहरूको पहिचान गर्ने आंशिक वा पुर्ण अयोग्यता हो । एम्नेस्टिक डिस्अर्डरमा पूराना कुरा मात्र होइन कि नयाँ कुराहरू पनि याद राख्न कठिन हुन्छ । स्मृति लोप विभिन्न कारणहरूले हुने गर्दछ । तर यसको प्रमुख कारण मस्तिष्कमा हुने क्षति तथा खराबी हो । कोर्सकोफको संलक्षण (सिन्ड्रोम) पनि यस्तो स्मृति लोप हो, जुन भिटामिन बी १ (थाइमिन)को कमीले हुने गर्छ । मस्तिष्कमा चोटपटक लागेर हुने स्मृति लोप प्रायः स्थायी प्रकृतिको हुन्छ, तर भिटामिन बी १ को कमीले हुने स्मृति लोप, सुरुमा नै उपचार गरेको खण्डमा निको हुन्छ । स्मृति लोप दुई किसिमका हुन्छन् । (१) एन्टरोग्रेड एम्नेसिया (२) रेट्रोग्रेड एम्नेसिया । एन्टरोग्रेड एम्नेसियामा नयाँ सूचना सम्झना राख्ने क्षमता ह्रास हुन्छ, यस प्रकारको एम्नेसिया प्रायः प्रोग्रेसिभ डिमेंसियामा देखा पर्छ भने रेट्रोग्रेड एम्नेसियामा पुरानो कुरा याद गर्न कठिन हुन्छ । सबै किसिमका मनोजन्य एम्नेसिया रेट्रोग्रेड प्रकृतिका हुन्छन् । यस्तो एम्नेसिया कुनै मनोवैज्ञानिक रूपमा गहिरो प्रभावका कारण पैदा हुन्छ । मनोजनित एम्नेसियालाई फड्ढसनल एम्नेसिया पनि भनिन्छ । यसलाई डीएसएम–फोर–टीआर तथा आईसीडी टेनलेडिस्सोसियटिभ डिसअर्डरअन्तर्गत वर्गिकृत गरेको छ ।
यस्ता समस्यासंग सम्बन्धित बिभिन्न लेख तथा चलचित्रहरू बनेका छन् । यस्तो अवस्थामा अल्पकालीन मेमोरीबाहेक अन्य संज्ञानात्मक (कग्निटिभ) क्षमता भने प्रायः सामान्य हुन्छ ।
स्नायु रोगः डिमेंसिया
बृद्धावस्थामा (६० वर्षभन्दा बढी) हुने मानसिक क्षमताको ह्रास, जसले गर्दा व्यक्तिको स्मरणशक्ति, सुझबुझ, सोंचविचार, नयाँ कुरा सिक्ने क्षमता तथा नयाँ परिस्थितिमा ढल्ने योग्यता आदि यति धेरै नै बढेर जान्छ भने त्यो डिमेंसियाको लक्षण हो । सामान्यता उमेरसंगै व्यक्तिको मानसिक तथा शारीरिक क्षमतामा कमी आउने भएता पनि यस्तो कमीले मानिसको आमजीवनमा कुनै ठूलो असर गर्दैन । तर डिमेंसियाले मानिसको दैनिक जीवनमा नै पुर्णतया असर गर्न थाल्दछ । डिमेंसिया विभिन्न किसिमका हुन्छन् । जस्तैः अल्जाइमर डिमेंसिया, हन्टिगंटन डिमेंसिया, भास्कुलर डिमेंसिया, एचआईभीको कारणबाट हुने डिमेंसिया, टाउकाको चोटपटकबाट हुने डिमेंसिया, पार्किन्सन डिमेंसिया, तथा पिक डिमेंसिया आदि । मेमोरीको कमी डिमेंसियाको एक प्रमुख लक्षण हो । तर सबै डिमेंसियामा मेमोरी कमी हुन्छ भन्ने छैन ।
स्मरणशक्ति घट्ने अन्य कारणहरू
स्मरणशक्ति घटाउने शारीरिक रोगहरू जस्तैः ट्युमर, कलेजो तथा मिर्गौलाको रोग, थाइरायड ग्रन्थीको रोग, हाइपर–हाइपोकैल्केमिया, भिटामिन बी १ को कमी, भिटामिन बी १२ को कमी, आयोडिनको कमी, थायराइड ग्रन्थीको समस्या, रक्ताल्पता, नर्मल प्रेसरहाइड्रोसेफलस, औषधिको नकारात्मक प्रभाव, संक्रमण, मुटु र छातीको रोग, दृष्टि तथा श्रवण दोष, हाइपर–हाइपोएटेंमिया, मद्यपान तथा दुव्र्यसन, सिफलिस, मधुमेह आदि तथा मानसिक रोगहरू जस्तैः डिप्रेसन तथा आत्तिने रोग, मानसिक थकान (न्युरेस्थेनिया), आत्मविस्मृति (फ्युग), तीव्र दुविधा, मानसिक मंदता तथा मस्तिष्कीय चोटपटक, स्नायुमण्डलमा संक्रमण र अन्य स्नायुरोगहरूका कारण पनि डिमेंसिया देखा पर्छ, मानिसको स्मरणशक्ति कमजोर हुने तथा घट्ने गर्छ । यतिमात्र होइन कि गलत जीवनशैलीका कारणले पनि स्मरणशक्ति घट्ने गर्छ । स्मरणशक्ति कमजोर हुनुको लगभग २० प्रतिशत कारण त मानिसको गलत जीवनशैली नै मनिन्छ ।
उपचार र रोकथाम
कतिपय बिर्सने रोग स्थायी प्रकृतिका हुन्छन् भने अधिकांश बिर्सने रोग उपचारबाट ठीक हुन्छन् । जस्तो कि डिप्रेसिभ सिउडोडिमेंसिया, डिप्रेसनको उपचारपछि ठीक हुन्छ । त्यस्तैगरी मद्यपानका कारण भिटामिन बी १ को कमीले हुने एम्नेसिया पनि भिटामिन बी १ पूर्तिपछि निको हुन सक्दछ ।
यसैगरी डिसोसिएटिभ एम्निेसियालगायत माथि उल्लेखित अधिकांश रोगहरू उपचारपछि ठीक हुन्छन् । यस्ता रोगहरू निको भएपछि स्मरणशक्ति पनि सामान्य हुन्छ । यसका साथै स्मरणशक्ति पुर्नस्थापना कार्यक्रमले पनि बिर्सने रोगको उपचारमा ठुलो टेवा पुर्याउने गर्छ । त्यसैले आफू तथा आफ्ना परिवारका कुनै सदस्यमा यदि बिर्सिने रोगको लक्षण देखापरेको छ भने तुरुन्त मनोचिकित्सकसंग सम्पर्क गर्नु बुद्धिमानी हुन्छ । समयमै उपचार गरेको खण्डमा बिर्सने रोग ठीक हुन्छ, ठीक नभए पनि नियन्त्रण गर्न सकिन्छ । यसका साथै निम्न लिखित कुराहरूप्रति विशेष ध्यान दिने हो भने बिर्सने रोग तथा डिमेंसियाको रोकथाम गर्न सकिन्छ ।
रक्तचाप सामान्य राख्ने, कोलेष्ट्रोल नियन्त्रण गर्ने, होमोसिस्टीन सामान्य राख्ने । यदि होमोसिस्टीनको मात्रा बढ्यो भनेपनि हृदयघात, स्ट्रोक, स्मृतिलोप तथा अल्जाइमर हुने खतरा बढ्छ । शिरलाई चोटपटकबाट बचाउने, आँखा तथा कानलाई ठीक राख्ने । आवश्यक परेको खण्डमा चस्मा आदिको प्रयोग गर्ने, व्यायाम गर्ने, सधैं सन्तुलित आहार लिने, मस्तिष्कको प्रयोग गर्ने, सामाजिक रूपमा सक्रिय रहने, तनाव तथा डिप्रेसन आदिबाट बच्ने र स्वस्थ जीवनशैली अपनाउने ।
मानिसको जीवनमा जीवनशैलीको ठुलो महत्व छ । जीवनशैली ठीक राख्ने हो भने अधिकांश रोगहरू हुन पाउँदैनन्, कतिपय रोगहरू त उचित जीवनशैलीबाट नै ठीक हुन्छन् । यदि यस्ता रोगहरू ठीक भए भने स्मरणशक्तिले पनि ठीकसंग आफ्नो कार्य गर्न समर्थ हुन्छ । त्यसैले मस्तिष्कको सबैभन्दा महत्वपुर्ण कार्य स्मरणशक्तिलाई सधैं ताजा राख्न मानिसले आफ्नो जीवनशैली ठीक राख्नुपर्छ । सधैं सन्तुलित भोजन गर्ने, शारीरिक तथा मानसिक व्यायाम गर्ने, सधैं सकारात्मक सोच राख्ने तथा सकारात्मक कार्यहरू गर्ने हो भने डिप्रेसनलगायतका अनेकौं रोगहरूबाट समेत जोगिन सकिन्छ । बूढेसकालसम्म स्मरणशक्ति ठीक राख्न सकिन्छ ।
के गर्ने ?
यस्तो समस्याबाट बच्नको लागि दैनिकको कार्यतालिका बनाउन सकिन्छ । आफ्नो समयअनुसार बिहान–बेलुकी घुम्ने बानी बसाल्नुपर्छ । कुनै पनि कुरा याद राख्नका लागि रुची लिनुपर्छ । कतिपयले कामलाई बढी महत्व दिएर निद्रालाई बेवास्ता गर्छन् । यसले स्मरणशक्तिलाई कमजोर बनाउनका लागि भूमिका खेल्छ । त्यसैले पुरा निद्रा सुत्नुका साथै विगतका कुराहरुलाई क्रमबद्ध तरिकाबाट याद गर्ने बानीको पनि विकास गर्नुपर्छ । यस्ता गतिविधि प्रत्येक हप्ता दोहो¥याउँदा राम्रो हुन्छ । योग अभ्यास, ध्यान, प्राणायामजस्ता गतिविधिले स्मरणशक्ति कमजोर हुनबाट बच्न सकिन्छ ।
के नगर्ने त ?
धेरैपटक एउटै कुरा याद गर्ने प्रयास गर्नु हुँदैन । सँधै आफ्नो स्मरणशक्तिको विषयलाई लिएर चिन्तित बनिरहनु हुँदैन । रेडियो, टेलिभिजन, पत्रपत्रिकामा आउने स्मरणशक्ति बढाउने विज्ञापन हेरेर औषधी खोज्न दौडिनु हुँदैन । राती अबेरसम्म पढ्नु हुँदैन । सकारात्मकभन्दा बढी नकारात्मक सोच्ने गर्नु हुँदैन ।
खानपानमा सतर्कता
–हलुका पचाउन सजिलो, शन्तुलित र पौष्टिक खानेकुरा खानुपर्छ । खानाको समयतालिका दैनिक एउटै हुनुपर्छ ।
–मौसमअनुसारको हरियो सागपात, सलाद, बन्दा, काउली, ब्रोकाउली, गान्टेमुला, गाजर, गोलभेंडा, चुकन्दर, पालुंगो लगायतको सेवनले स्मरणशक्ति बलियो बनाउन भूमिका खेल्छ ।
–अन्डा, माछा, दुध, दही, मोही, चीज, मख्खन आदिको पनि नियमित उपभाग गर्दा फाइदा हुन्छ ।
–दैनिक कम्तिमा तीन लिटर शुद्ध पानी पिउनुपर्छ ।
–फलफुलमा आँप, स्याउ, सुन्तला, स्ट्रबेरी, जामुन, भुईकटहर, केरा आदि खानाले मानसिक स्वास्थ्यलाई निकै फाइदा पुग्छ ।
के खानु हुँदैन ?
–तारेको, भुटेको, पिरो, मसालेदार खानेकुराबाट सकभर टाढा रहने । चिया र कफीसितको संगत पनि छोड्ने । धुम्रपान त गर्नै हुँदैन ।
–तमाखु, गुट्खा, गाँजा, भाँङ, मदिरा आदिको सेवनले विभिन्न रोग त निम्त्याउँछ नै स्मरणशक्तिलाई पनि कमजोर बनाउने काम गर्छ ।



