नवलपुर, १७ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरका नेता बलराम थापाको उपचारका क्रममा निधन भएको छ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलराम थापाको उपचारका क्रममा शनिवार राती काठमाण्डौमा निधन भएको राप्रपा नवलपुरले जनाएको छ ।
५८ बर्षीय थापाको असार २० गते मध्यविन्दु जिल्ला अस्पतालमा पिसीआर परिक्षण गर्दा कोभिड पोजेटिभ पुष्टि भएको थियो । स्वास्थ्यमा थप जटिलता देखिएपछि उपचारका लागि भरतपुर पुर्याईएकोमा थापालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाण्डौ लगिएकोमा उपचारका क्रममै अस्पतालमै मृत्यु भएको राप्रपा नवलपुर जिल्ला समितिका रामनाथ उप्रेतीले बताए ।
राजनीति बाहेक बिभिन्न सामाजिक तथा बित्तीय संघसंस्थाको नेतृत्वमा समेत रहेर जिम्मेवारी निर्वाह गर्नुभएका थापाको निधनले कावासोतीमा रहेका विभिन्न संघसंस्थाले अपुरणीय क्षति भएको महसुस गरेको विभिन्न माध्यममार्फत जनाएका छन् ।
थापा २०५६ सालको आम निर्वाचनमा नवलपरासी क्षेत्र नं. १ मा राप्रपाको तर्फवाट प्रतिनिधी सभा सदस्य पदमा उम्मेदवार बनेका थिए । स्वर्गीय थापाको पार्थिव शरीरको आईतवार नै परिवार तथा ईष्टमित्रले काठमाण्डौ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्ठी गरेका छन् ।





