बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कृषिले फेरिएको लालकुमारीको जीवन

कृषिले फेरिएको लालकुमारीको जीवन

लालकुमारीको उत्पादनलाई गाउँलेहरुले खाने बनाउन दश बर्ष लाग्यो । तरकारीबाट उनले पैसा कमाउन थालेपछि परिवार र छिमेकीले हेर्ने दृष्टीकोण फेरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०७८, सोमबार
?

बागलुङ, १८ साउन– काठेखोला गाउँपालिका–८ की लालकुमारी पुनलाई दश वर्ष अघिसम्म खान लाउनसमेत समस्या थियो । घरको आर्थिक अवस्था कमजोर भएकोले मेलापातबाट कमाएको पैसाले घरखर्च चलाउनुपथ्र्यो । चार छोरी हुर्काउन उनलाई धेरै समस्या भयो ।
मजदुरीबाट मात्रै जीवन चलाउन नसकेपछि उनले कृषि व्यवसाय गर्ने योजना बनाइन् । सुरुमा लगानी गर्ने पैसा थिएन । घरपरिवारले साथ दिएको थिएन । उनको एकल बलबाट घरको काम छाडेर उनी कृषि उद्यम तालिम खोज्दै सदरमुकाम आइपुगिन् । संयोगबस उनले तालिमसमेत लिन पाइन् । उक्त तालिम र खेतबारीमा गरेको मेहेनतले उनी जिल्लाकै सफल किसानमा गनिन् थालेकी छिन् ।
आफ्नो बारी र भाडाको समेत गरी अहिले ५ वटा प्लाष्टिकका टनेल बनाएर उनले तरकारी उत्पादन गरिरहेकी छिन् । सुरुमा त बिक्री गर्न नसक्दा उनको उत्पादन बारीमै कुहिन्थ्यो । अहिले भने सहजै बिक्री हुन्छ । गाउँमा पैसा तिरेर तरकारी किन्न लजाएकाहरु अहिले धमाधम किनेर खान थालेको उनले बताइन् । उनकै मेहेनतले अहिले गाउँ गाउँमा तरकारी बिक्न थालेको उनको दाबी छ ।
लालकुमारीलाई आफ्नै उत्पादनलाई गाउँलेहरुले खाने बनाउन दश बर्ष लाग्यो । सबै उत्पादन बजार पठाएर उनले पैसा कमाउन थालेपछि परिवार, श्रीमान र छिमेकीले हेर्ने दृष्टीकोण फेरिएको छ । ‘दुई बर्षदेखि मलाइ गाउँमा सम्मान गर्न थालिएको छ’ पुनले भनिन्, ‘मेरो उत्पादन बारीबाटै सजिलै बिक्री हुन्छ ।’ अहिले उनले बार्षिक ५ लाखभन्दा धेरैको तरकारी गाउँमै बिक्री गर्छिन् । गाउँका धेरै संस्थामा उनी अध्यक्ष र सचिव जस्ता पदमा बस्न थालेकी छिन् ।
‘प्रगती गरेपछि सबैले पदमा पनि लैजाने रहेछन्’ उनले भनिन् ‘कृषि पेशालाई व्यवसायिक बनाउँदा सबै पेशा जित्न सकिन्छ ।’ दश वर्षअघिसम्म खालीडाँडा भनिने लेखानीको कादेशलाई उनकै पहलमा हरियाली बनाउन सकेकी छिन् ।
‘खालीडाँडा भन्ने गाउँ अहिले तरकारीको पकेट मानिन्छ’ वडा अध्यक्ष चित्रकला छन्त्यालले भनिन्, ‘पुनले गरेको अगुवाइमा अहिले धेरै किसानले तरकारी लगाउन थालेका छन् ।’ पुनले दुई बर्षदेखि ५ रोपनी जमिनमा बेमौसमीसहित खुर्सानी, लसुन, प्याज र गोलभेडा जस्ता तरकारी उत्पादन गरिरहेकी छिन् ।
पछिल्लो समय पुनले बिभिन्न पुरस्कार र सम्मानसमेत पाएकी छिन् । टनेलभित्र अन्य तरकारी पनि लगाउन सकिन्छ भन्ने उनले प्रयोग गरेकी थिइन् । तत्कालिन कृषि विकास कार्यालयसँगै लघुउद्यम विकास कार्यक्रम, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन लगायतका संस्थाले पुनलाई नमूना र अगुवा किसानको रुपमा प्रशिक्षक समेत बनाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->