नवलपुर/ नवलपुरमा मात्रै ३३ हजार ६६५ वटा भूमिसम्बन्धी समस्या रहेको पाइएको छ ।
विघटित भूमिसम्बन्धी समस्या समाधान आयोग नवलपुरले सार्वजनिक गरेको तथ्याङ्कले नवलपुरमा भूमिहीन दलित २ हजार ४२३, भूमिहीन सुकुम्वासी ५ हजार ३०५ र अव्यवस्थित बसोबासी २९ हजार ९०७ रहेको जनाएको हो ।
आयोगका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रामकृष्ण ढुंगानाले गण्डकी प्रदेशमै सबैभन्दा धेरै भूमिसम्बन्धी समस्या नवलपुरमा रहेको बताए । २०६६ सालको मनशोभा आयोगलगायत यसअघिका आयोगले काम शुरु गरेका तर सम्पन्न हुन नसकेका ३ हजार ४८७ निवेदन रहेको जिकिर गरे । ढुंगानाका अनुसार प्रदेशभरि यो किसिमको समस्या ७ हजार ५०३ रहेको छ । यस्तै, भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी गण्डकीमा ९३ हजार हाराहारी रहँदा नवलपुरमा मात्रै ३३ हजार ६३५ रहेको छ ।





