बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

किन देखिन्छ महिलामा धेरै यौन रोग ?

किन देखिन्छ महिलामा धेरै यौन रोग ?


  • कृष्ण कुमार सैजु
  • साउन २२ २०७८, शुक्रबार

वास्तवमै तुलनात्मक रूपमा पुरुषभन्दा महिलामा स्वास्थ्य समस्या धेरै हुन्छन् । महिलामा प्रजननसम्बन्धी स्वास्थ्य समस्या धेरै हुन्छ । विशेषगरी पाठेघर क्यान्सर तथा ट्युमर, विभिन्न यौन रोग र स्तन क्यान्सरजस्ता गम्भीर समस्या हरू हुन् ।
सेतोपानी बग्ने
सेतो पानी बग्ने समस्या पछिल्लो समयमा धेरै नेपाली महिलामा देखिदै गएको छ । यो समस्याका धेरै कारण छन् । स्वास्थ्यजाँचपछि मात्रै समस्याको कारण पहिल्याउन सकिन्छ । सेतोपानी बग्ने प्रमुख कारण योनी र पाठेघरमा हुने संक्रमण नै हो । एकभन्दा बढी व्यक्तिसँग असुरक्षित शारीरिक सम्बन्ध राख्ने महिलामा यो समस्या बढी देखिन्छ । यौनांग सरसफाइमा ध्यान नदिँदा पनि संक्रमणको खतरा रहन्छ । मधुमेह रोग लागेका महिलामा पनि सेतोपानी बग्ने समस्या हुन्छ । पाठेघरमा क्यान्सर भएको छ भने पनि यस्तो समस्या हुन्छ ।
पिल्स खाइरहेका महिला र गर्भावस्थामा सेतोपानी बग्नु भने सामान्य अवस्था हो । यो अवस्थामा उपचारको आवश्यकता पर्दैन । गर्भवती महिलामा एस्ट्रोजोन हर्मोन बढी हुने भएकाले सेतोपानी बग्छ । तर, गन्हाउने र योनांग चिलाउने भयो भने उपचार गराउनुपर्छ ।
यौनांग चिलाउने
योनीमा हुने इन्फेक्सनका कारण यौनांग चिलाउने समस्या हुन्छ । कहिलेकाहीँ पाठेघरको मुखमा क्यान्सर भयो भने पनि योनी चिलाउँछ । पाठेघरभित्र र योनीबाहिर क्यान्सर भयो भने योनी चिलाउँछ । बिषेशगरी असुरक्षित यौनसम्पर्क पनि यो समस्याको एक प्रमुख कारण हो ।
पछिल्लो समय धेरै जसो महिलामा यौनांग चिलाउने समस्या बढी रहेको छ । कहिलेकाहीं यसरी यौनांग चिलाउनुलाई सामान्य मानिएपनि लामो समयसम्म समस्या कायम रहे त्यो दीर्घरोगको कारण हुन सक्छ । महिला यौनांग धेरै कारणले चिलाउन सक्छ । तीमध्ये प्रमुख कारण योनी राम्रोसँग सफा नहुनु हो । त्यसबाहेक जथाभावी यौनसम्पर्क राख्दा पनि यस्ता समस्या देखिन्छ ।
कारण
महिलाहरुमा अनावश्यक तनावका कारणले पनि यौनांग चिलाउँछ । केही अप्राकृतिक वा प्राकृतिक तत्वको संक्रमणका कारणले पनि यौनांग चिलाउँछ । यस्तो अवस्थामा योनीको वरिपरि सेतो दहि जस्तो ढुसी जम्मा हुन्छ ।
जथाभावी यौनसम्पर्क राख्दा यौनांग रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ । यस्तो अवस्थामा अरूलाई भन्दा पनि मधुमेहबाट पीडित महिलाहरूमा संक्रमण हुने सम्भावना हुन्छ ।
यदि महिलाको यौनांग छाला सुक्खा भएको अवस्थामा पनि यौनांग चिलाउँछ । त्यसैले यौनांग वरिपरिको छालालाई सुख्खा हुन दिनुहुँदैन । संक्रमण, चोटपटक, महिनावारी बन्द हुनुजस्ता कारणले पनि यस्तो समस्या देखा पर्न सक्छ ।
समाधान
–सबैभन्दा पहिले समस्याको कारण पत्ता लगाउनुपर्छ ।
–कुनै रसायनिक पदार्थ (पफ्र्युम)को प्रयोगका कारण यो समस्या सिर्जना भएको हो भने त्यस्तो पफ्र्युमको प्रयोग बन्द गर्नुपर्छ ।
–कतिपयलाई बाथटब वा स्वीमिङ पुलमा नुहाउँदा पनि यौनांग चिलाउने समस्या देखा पर्न सक्छ । त्यसैले सकेसम्म बाथटब वास्वीमिङ पुलमा नुहाउनु हुँदैन ।
–सुतीको भित्रीकपडा प्रयोग गर्नुपर्छ । राति सुत्दा सकेसम्म भित्रीकपडा प्रयोग गर्नुहुँदैन । समस्या समाधान नभएसम्म शारीरिक सम्पर्कबाट टाढै रहनुपर्छ ।
–महिनावरी हुँदा ताजा फलफुलको सेवन गर्नुपर्छ । यसको सेवनले भिटामिन ‘सी’ र ‘ए’ ले योनीमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ । साथै, प्राकृतिक रेशाहरूले आन्द्राको चाल पनि राम्रो गर्ने भएकाले फलफुल नियमित सेवन गर्नुपर्छ ।
–दैनिक ८ देखि १० कप लगभग ४ लिटरभन्दा बढी पानी पिउने गर्दा राम्रो हुन्छ । यस्तो अवस्थामा मद्यपानले यिष्टको वृद्धि गराउने भएकाले मदिरालगायत चिया, कफी पनि कम सेवन गर्दा उत्तम हुन्छ ।
–धेरै गुलियो खानेकुरा तथा दुधबाट बनेका परिकारले योनीमार्गका जीवाणुको वृद्धिमा मद्दत गर्छन, यस्ता खानेकुरा कम खाँदा नै बुद्दीमानी हुन्छ ।
–सधै आफ्नो यौनाङ्ग सफा राख्नुहोस, तर धेरै पखाल्ने काम नगर्नुहोस ।
–सधैं अगाडिबाट (योनीमार्गतिरबाट) पछाडि (मलद्वारतिर) पखाल्नुहोस । यसले मलद्वारमा भएको जीवाणुलाई योनीमार्गमा तथा पिसाब नलीमा जानबाट रोक्छ ।
–योनीमार्ग सफा गर्न महंगो अनि बास्नादार साबुन वा सेम्पु नै चाहिँदैन । सामान्य साबुन वा कम क्षार भएका भजाइनल वासले पनि राम्रो सफाई गर्न सकिन्छ ।
–सुगन्धयुक्त प्याड तथा योनीमार्गको छेउछाउमा पाउडर प्रयोग गर्नु उपयुक्त हुँदैन ।
–पीडा कम गर्न हट रबर ब्यागको प्रयोग वा चिकित्सकको सल्लाहबमोजिम दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ ।
महिनावारी गडबडी
स्वास्थ्यमा कुनै समस्या नहुँदा पनि कहिलेकाहीँ महिनावारीमा गडबडी हुन्छ । महिनावारी गडबडी विशेषगरी १९ देखि ४९ वर्ष उमेरका महिलामा देखा पर्छ । यो उमेरमा बढी रगत जाने, महिनावारी एक्कासी बन्द हुने समस्या देखा पर्छ । पाठेघरमा क्यान्सर हुँदा, अण्डासयमा ट्युमर हुँदा पनि धेरै रगत जाने र महिनावारी रोकिने हुन्छ । पाठेघरको मुखमा क्यान्सर भएका तथा थाइराइडले सताएका महिलामा रगत बढी जाने हुन्छ । कहिलेकाहीँ थाइराइडले महिनावारी सुकाइदिने पनि गर्छ ।
पाठेघरको ट्युमर
शरीरमा हर्मोनको मात्रा बढी भयो भने पाठेघरमा ट्युमर हुन्छ । यो समस्या जेनेटिक पनि हुन्छ । आमाको पाठेघरमा ट्युमर छ भने छोरीलाई पनि हुने सम्भावना रहन्छ । परिवार नियोजनको साधन डिपो सुई लिने महिलाले यसमा विशेष ध्यान दिनुपर्छ ।
पाठेघर तल झर्ने
पाठेघर तल झर्ने प्रमुख कारण बच्चा धेरै जन्माउनु, सानो उमेरमै बच्चा जन्माउनु हो । बच्चा जन्माउने क्रममा पाठेघरको मुख नखोलिँदै आमाले धेरै बल गरे, बच्चा जन्मिएपछि साल राम्रोसँग नछुट्टिँदै ताने पनि पाठेघर खस्ने समस्या हुन्छ । यस्तो बेला पाठेघरलाई सपोर्ट गर्ने लिगामेन्ट छुट्टिन्छ र पाठेघर तल झर्छ । धेरै खोक्दा, सुत्केरी भएको ६ साताभन्दा अगाडि काम गर्दा, गह्रौँ काम गर्दा, पाठेघरमा ट्युमर हुँदा पाठेघर झर्न सक्ने सम्भावना रहन्छ ।
पौष्टिक आहारको कमी भएका महिलामा पनि पाठेघर झर्ने समस्या धेरै हुने गरेको छ । अस्थायी साधनको गलत प्रयोग, परिवार नियोजनका अस्थायी साधन धेरै प्रयोग गर्ने महिलामा पनि धेरै समस्या देखिने गरेको छ । पछिल्लो समय युवा पुस्ताले गर्भपतनका औषधिलाई परिवार नियोजनको साधनका रूपमा लिने क्रम बढ्दो छ । यस्ता महिलाको रगत धेरै जाने समस्या हुन्छ । निलोकन चक्कीको धेरै प्रयोग गर्दा पनि रगत धेरै बग्ने हुन्छ । इम्प्लान्ट प्रयोग राम्रोसँग नहुँदा समस्या आउँछन् । परिवार नियोजनका साधनको सही तरिकाले प्रयोग नगर्दा क्यान्सर भएका र रगत जाने खतरा बढ्छ र पछी यही कारण समस्याको लागि पर्याप्त हुन्छ ।
मुसा
यौनांगमा मुसाहरू भाइरस संक्रमणबाट उत्पन्न हुन्छन् । यौनांगमा पनि शरीरका अन्य भागमा देखिने जस्तै मुसाहरू हुन्छन् । चिलाउने, सानो सेतो वा खैरो नदुख्ने खालको गाँठो वा मुसा देखिने आदि यसका लक्षण हुन् । महिलाहरूमा यस्ता मुसा प्रायजसो मलद्वार वरिपरि, योनीभित्र अथवा योनीबाहिर आउँछन् । उपचारबिनै पनि यस्ता मुसा हराउँदै जान सक्छन् भने कुनै हराउन धेरै समय लाग्छ । धेरैजसो बढेर जाने भएकाले यसको राम्रो उपचार गर्नुपर्छ । यौनांगमा देखापर्ने मुसाले पाठेघरको मुखमा क्यान्सर हुने खतरासमेत निम्त्याउने भएकाले यसका लागि प्याप परीक्षण गर्न जरुरी छ ।
सिफिलिस
सिफिलिसलाई नेपालीमा भिरिंगी भनिन्छ । यो गम्भीर प्रकारको यौनरोग हो । धेरै जनासँग यौन सम्पर्क राख्दा यो रोग लाग्ने सम्भावना अधिक हुन्छ । भिरिंगी लागेको पुरुषसँग यौनसम्पर्क राख्दा महिलाको यौनांग वरपर घाउ देखिन्छ । यो समयमा उपचार नभए झन् जटिल बन्न सक्छ । यसको पहिलो लक्षण सानो नदुख्ने घाउ देखिनु हो । यो घाउ हप्ता दिनसम्म रहेर आफैं हराएर जान्छ तर रोग भने शरीरका विभिन्न अंगमा लगातार फैलिइरहेको हुन्छ । यसले शरीरका विभिन्न अंगमा नराम्रो प्रभाव पार्छ । त्यसपछि महिना दिनपछि घाँटीमा घाउ हुने, ज्वरो आउने, पैताला तथा हत्केलामा डाबर, ठेउला उठ्न सक्छ । मुखमा घाउ आउनुका साथै जोर्नीसमेत सुन्निन सक्छ । यसको समयमै उपचार गरिएन भने मुटुको रोग, पक्षाघात, मानसिक बिरामी अनि अन्त्यमा मृत्युसमेत हुन सक्छ । गर्भवती महिलामा यो रोग देखियो भने शिशुमा समेत सर्न सक्छ ।
स्यान्क्रोइड
यो किटाणुबाट हुने यौनरोग हो । यो रोग लाग्दा मलद्वारमा नरम र दुख्ने घाउ देखापर्छ । घाउबाट रगत पनि निस्किने भएकाले सफा गरिराख्नुपर्छ । त्यसबाहेक काछमा दुख्ने खालको गाँठो वा गिर्खा आउन सक्छ । यस्तो संक्रमणबाट हलुका ज्वरोसमेत आउँछ । यौनांगमा घाउ आएको बेला यौनक्रिया गर्नु हुँदैन । समयमै उपचार गरियो भने औषधिले यो रोग निको हुन्छ ।
क्याइमेडिया
यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुन सक्छ । यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ । यो एकदमै गन्हाउने हुन्छ ।
सिफिलिसमा घाउ नै देखिए पनि गोनेरियामा घाउ नदेखिने तर सेतोपानी बगिरहने हुन्छ । महिलामा यो रोगको संक्रमण अन्य अंगसम्म फैलने जोखिम रहन्छ । गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ । नवजात शिशुलाई गोनेरिया सर्यो भने आँखामा समस्या आउने हुन सक्छ ।
अन्तमाः यदी तपाई जो कोहीलाई यस्तो सम्बधित समस्या वा लक्षण देखापरेको छ भने तुरून्त कुनै लाज नमानी, हिचखिचाहट बिना सम्बन्धित यौनरोग बिशेषज्ञ डाक्टर वा नजिकैको स्वास्थ्य संस्थामा गएर चेकजाँच तथा सरसल्लाह लिनुहोला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->