नवलपुर/ आफ्ना संस्थापक अध्यक्षको मृत्यु भएको सातौं दिनमा यहाँको एक सहकारीले निवासमै पुगेर शोकसभा गरेको छ । माहाराजा बचत तथा ऋण सहकारी संस्था कावासोतीले संस्थापक अध्यक्ष बलराम थापाको स्मृतिमा निवासमै पुगेर शोकसभा गरेको हो । शोकसभाका लागि सहकारीका अध्यक्ष प्रेमबहादुर राना, संस्थाका सल्लाहकार कर्णेल धनबहादुर मास्की मगर लगायतका पदाधिकारी तथा कर्मचारी थापा निवास पुगेका थिए । जिल्लामा राजनैतिक नेताको हैसियत कायम गरेका थापाले बिभिन्न सामाजिक क्षेत्रमा नेतृत्व गरेमध्ये सहकारीको वृत्ति–विकासमा थापाले पुर्याएको योगदानको बक्ताहरुले चर्चा गरेका थिए ।
सहकारीका ब्यवस्थापक रामनाथ उप्रेतीले सञ्चालन गरेको शोकसभामा उपाध्यक्ष देबीसरा पुलामी कानुङ, सल्लाहकार कर्णेल धनबहादुर मास्की मगर र अध्यक्ष प्रेमबहादुर रानाले शोक मन्तब्य राख्ने क्रममा एक सहकारी अभियन्ताको निधनले अपुरणीय क्षति भएको बताए ।
यसैबीच, आजै राप्रपा गैंडाकोट नगर समितिले पनि थापाको स्मृतिमा शोक सभा गर्यो । राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य थापाको निधनले पार्टीले नवलपुरको खम्वा गुमाउनुपरेको नगर अध्यक्ष जितवहादुर गुरुङले बताए ।
शोकसभामा राप्रपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । राप्रपा नवलपुरले २४ गते सोमवार नवौं पुण्य दिनमा शोकसभा गर्ने जनाएको छ । सोमवारको श्रद्धाञ्जली सभामा राप्रपाका केन्द्रिीय अध्यक्ष कमल थापा उपस्थित हुने तय भएको जिल्ला अध्यक्ष दलबहादुर केसीले जानकारी दिए ।





