बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङ नगरको प्रारम्भिक पाठ्यक्रमको खाका तयार

बागलुङ नगरको प्रारम्भिक पाठ्यक्रमको खाका तयार

चालु शैक्षिक बर्षको असोज मसान्तसम्म कम्तिमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम छपाइ गरिसक्ने गरी लेखनका लागि शाखाले बिज्ञ समूह बनायो ।


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७८, शनिबार

बागलुङ, २३ साउन– संविधानमामा उल्लेख भएअनुसार बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणलाई तीब्रता दिएको छ । पाठ्यक्रमलाई उत्कृष्ट बनाएर कक्षा ८ सम्म लागू गर्ने तयारीसमेत गरेको शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले बताए ।
नगरपालिकाले पाठ्यक्रम निर्माणका लागि बिज्ञ समूहलाई जिम्मा दिएको छ । त्यस बाहेक सबै सरोकारवालालाई लिखित सुझाव दिन समेत आग्रह गरिएको छ । यसरी आउने सुझावलाई उच्च महत्वका साथ पाठ्यक्रममा समावेश गर्ने नगरप्रमुख जनकराज पौडेलले बताए ।
नगरपालिकाको शिक्षा शाखा र मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौताको सैद्धान्तिक खण्डको समीक्षा तथा सुझाव संकलन कार्यक्रममा नगरप्रमुख पौडेलले प्रविधि सहितको उत्पादनलाइृ शिक्षामा जोड्ने लक्ष राखिएको बताए । त्यसकालागि नगरपालिकाले पहिलो चरणमा पाठ्यक्रमको खाका बनाएको हो । उक्त खाका दिएपछि शिक्षकले स्थानीय बिद्यालयमै बसेर पढाउन सक्ने अबस्था बन्ने छ ।
प्रारम्भिक खाकामा कक्षा १ देखि ८ सम्मका बिद्यार्थीले हरेक कक्षामा कम्तिमा ११ वटा बिषयमा अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । त्यसमा तहगत सक्षमता, कक्षागत सिकाइ उपलब्धी तथा बिषयबस्तुको क्षेत्र र क्रम समेत राखिएको छ ।
पोखरेलको प्रस्तुती अनुसार सबै कक्षामा १ वटा तहगत सक्षमता समावेश गरिएको छ । तीमध्ये पहिलो नम्बरमा बागलुङ नगरपालिका र यसको आसपासको क्षेत्रको परिचयात्मक खण्ड हुनेछ । त्यसपछि क्रमश स्थानीय कला, संस्कृति, चाडपर्व, महोत्सवको संरक्षण र सबद्र्धन, स्थानीय पर्यटकीय स्थलको पहिचान, संरक्षण र सबद्र्धन, स्थानीय कृषि सम्बन्धी अवधारणा, ज्ञान र सीपको प्रयोग तथा स्थानीय पेशा, व्यवसाय र प्रविधिको आवस्यकता, पहिचान सम्बन्धी पाठ्यक्रम बन्नेछ ।
त्यस्तै, जडिवुटी र उपचार विधि, स्थानीय खेल, स्वास्थ्य जीवन, प्राकृतिक सम्पदा, स्थानीय बिपत र यसका प्रकार, नैनिक मूल्य मान्यता, सदाचारको दैनिक जीवनमा अनुसरण गर्ने तरिका तथा सूचना प्रविधि र जीवनमा यसको प्रयोग जस्ता बिषय समावेश छन् । ती बिषय अध्ययन गरेपछि बिद्यार्थीमा के परिवर्तन आउनु पर्छ भन्ने देखिनुपर्छ भन्छन् पोखरेल ।
‘पहिलो बिषय पढीसकेपछि कक्षा १ को बालबालिकाले आँफू बसेको ठाउँ, टोल, वडा र नगरपालिकाको नाम बताउन सक्नेछन्’ पोखरेलले भने, ‘यो उपलब्धीनै मूल्यांकनको आधार बन्नेछ ।’ मूल्यांकन गर्दा विद्यार्थी फेल हुने विधि अपनाउन पाइने छैन । कम्तिमा १ देखि ३ नम्बर पाउने व्यवस्था सहित कम्तिमा ४८ अंकदेखि ९९ अंकसम्म ल्याउन सक्ने गरी मूल्यांकन विधिको व्यवस्था हुने उनले बताए ।

सबै कक्षाका लागि बिषय खण्ड एउटै हुनेछ । तर हरेक कक्षा बढ्दै जाँदा बालबालिकाको सिकाइको क्षमता भने बढेर जानेछ । कक्षा ८ मा पुग्दा परिचय खण्ड पढेर बिद्यार्थीले बागलुङ नगरपालिकाको कार्यालयबाट प्राप्त हुने सेवा सुविधा वताउन सक्नेछन् । नगरपालिकाको जनसंख्या व्यवस्थापनका उपाय सूचिकरण समेत गर्न सक्ने बताइएको छ । पर्यटनतर्फ कक्षा एकमा घरको करेसाबारी घुम्ने देखि बिद्यालय सम्मको घुमाइ पढ्ने बालबालिकाले कक्षा ८ मा पुग्दा पर्यटन व्यवसायका लागि आवस्यक आधारभूत सीप र व्यवस्थापकीय कार्यको सूचिकरण गर्न सक्ने पाठ्यक्रममा उल्लेख छ ।
चालु शैक्षिक बर्षको असोज मसान्तसम्म कम्तिमा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम छपाइ गरिसक्ने गरी शाखाले बिज्ञ समूह बनाएर लेखनका लागि लगाउने पोखरेलले जानकारी दिए ।
प्रारम्भिक मस्यौदाका लागि भने पोखरेलको संयोजकत्वमा पूर्वप्रअ टिकाराम सापकोटा, पूर्व श्रोतव्यक्ती उमानाथ शर्मा, सिगाना माबि तित्याङका प्रअ गोपाल कुमार शर्मा, जनताधन माबिका प्रअ कुमार पौडेल, कालिका कन्या माविकी शिक्षक हुमा रिजाल र संस्थागततर्फ आदर्श आवासीय माबिका अध्यक्ष महेशचन्द्र प्रधान सदस्य रहेको समिति बनेको थियो । उक्त समितिले तयार पारेको खाकालाई पाठ्यपुस्तकमा उतार्न फेरी थप बिज्ञ समावेश गरिने बताइएको छ । एकीकृत पाठ्यपुस्तकमार्फत कम्तिमा गणित, सामाजिक, नेपाली र अंग्रेजीको ज्ञान दिने गरी पाठ्यक्रम बन्ने बताइएको छ ।
सुझाव दिने कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्यायले सैद्धान्तिक र मूल्यांकनको आधार समेत दिएकोले अब किताब नभएपछि शिक्षकले आफ्नो क्षेत्र अनुसार पढाउन सक्ने बताए ।
नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष गणेशबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धौलागिरि बहुमुखी क्यामपसका प्राध्यापक डा. डिनबहादुर थापा, प्राध्यापक संघका अध्यक्ष बिजयराज पन्त, बिद्यामन्दिर माविका प्रअ शान्तमणी ढकाल, शिक्षकहरु मधुसुधन शर्मा, छविरमण रेग्मी, रेशम श्रीष, थानेन्द्र गौतम, डिल्लीराज गौतम, अपांगता भएकाबाट कुमार पुन, धर्म आचार्य, बिमल शर्मा, नेविसंघका सचिव श्रीकृष्ण पौडेल र अखिल क्रान्तिकारीका प्रविण सापकोटाले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->