तस्विरः गंगा खड्काको फेसबुक वालबाट साभार ।
बागलुङ, २३ साउन– कोरोना महामारी नियन्त्रणको लागि गरिएको निशेधाज्ञाको उल्लंघन गर्दै धौलागिरी अस्पतालका व्यवस्थापन समिति, चिकित्सक तथा स्वास्थ्यकर्मी नै ‘बेबी सावर’मा सहभागि भएका छन् । अस्पतालकी नर्स शान्ति भण्डारीको ‘बेबी सावर’मा सहभागी हुन उनीहरुले निशेधाज्ञाको उल्लंघन गरेका हुन् ।
गत बुधबार साँझ बागलुङको ब्राउन आई पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा उनीहरु बिनामास्क सहभागि भएका तस्विर तथा भिडियोहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् । ‘फन्टलाईनरहरु नै ठुलो कार्यक्रम गरेर बिना मापदण्ड नाचगान गरेपछि सर्वसाधारणले कसरी विश्वास गर्ने’ अस्पतालकै एक कर्मचारीले भने ‘जोखिमको त्रासले केही साथीहरु जानुभएन् ।’
जिल्ला प्रशासन कार्यालय बागलुङले जारी गरेको निषेधाज्ञा यथावत रहेकाले सभा, सेमिनार, भेला, बैठक, पार्टी गर्न रोक लगाईएको छ । २५ जनाभन्दा माथी एकै ठाउँमा जम्मा हुन रोक लगाईएको भएपनि ६०÷७० जनाको समुहमा ‘बेबी सावर’ गरिएको हो । ‘मलाई इभेण्टको बिषयमा जानकारी भएन्, निषेधाज्ञा जारी छ, उल्लंघन गर्दा कारवाही हुन्छ’ प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले भने ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा. शैलेन्द्र बिक पोखरेलले अस्पतालमा कार्यरत सबैको कोरोना जाँच भैरहेको र सुरक्षित व्यक्तिहरु मात्रै कार्यक्रममा सहभागि भएको प्रतिक्रिया दिए । ‘कोही पनि लक्षण भएको थिएन्, सबैको जाँच भएकाले सानो समुहमा कार्यक्रम भएको हो’ डा. पोखरेलले भने ।
स्वास्थ्यकर्मीहरुकै अनुसार खोप लगाएकाबाट खोप नलगाएकाहरु थप असुरक्षित हुन्छन् । घरमा बस्दासमेत स्वास्थ्यका मापदण्ड अपनाउन स्वास्थ्यकर्मीले सल्लाह दिने गरेका छन् । कार्यक्रममा सहभागि भएकाका परिवारका बालबालिका र बयोबृद्धा समेत कार्यक्रममा थिए ।
‘बेबी सावर’ भएको रेष्ट्रोका सञ्चालक र सहभागि स्वास्थ्यकर्मीहरुलाई प्रहरीले शुक्रबार सचेत गराएको छ । सामाजिक सञ्जाल र बिभिन्न व्यक्तिहरुमार्फत जानकारी प्राप्त भएपछि उनीहरुलाई कार्यालयमा बोलाएर सचेत गराईएको प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्लीमगरले बताए ।
‘निशेधाज्ञा, कानुनी व्यवस्था लगायतका विषयमा सचेत गराएर पठायौं’ उनले भने ‘अब समस्या दोहोरीे छैन् ।’ ‘बेबी सवार’को तस्विर र भिडियोहरु गंगा खड्का नाम गरेको फेसबुक एकाउन्टबाट सार्वजनिक भएका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रहरीले बोलाएपछि त्यो पोष्ट हटाईएको छ ।





