बागलुङ/ गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले कोरोना रोकथाम र उपचारमा सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । उनले स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य समेत गर्ने प्रतिवद्धता जनाइन् ।
प्रेस संगठन बागलुङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले उपचार सेवा, खोप, कोरोना रोकथाम तथा व्यवस्थापनमा भैरहेका बेथिती अन्त्य गर्ने योजना सुनाइन् । ‘संभावित तेस्रो लहरको कोरोनाबिरुद्ध तयारी गरिरहेका छौं, तर खोप लगाउने काममा पनि बेथिती भएको कुरा आइरहेको छ, त्यसको व्यवस्थापनमा लागेका छौं’ अधिकारीले भनिन्, ‘जनताले खोप पाउनुपर्छ, असोज मसान्तसम्म ८० प्रतिशतले खोप लगाइसक्छन् ।’ उनले गण्डकी प्रदेश सरकारले यो तयारी गरेको बताइन् ।
उनले गठबन्धन सरकारले जनताको पक्षमा काम गरेरै देखाउने प्रतिवद्धता समेत जनाएकी थिइन् । राजनीति र पैसाको पहुँचवालाकै भरमा खोप लगाइएको प्रवृत्ति अन्त्य गरेर सरकारी मापदण्डमै खोप पाउने सुनिश्चिता हुने उनको भनाई छ । ‘बरु उपचार सेवामा शहिद, घाइते, अपांग र बेपत्ता नागरिक र उनीहरुको परिवार प्राथमिकतामा पर्छन्’ उनले भनिन्, ‘कोरोनाकै कारण कसैको मृत्यु भए ५० हजार र उनीहरुको बालबालिका भए पढाइका लागि मासिक ५ हजार रकम दिएर पढ्ने अवसर दिइनेछ ।’
सबै जनताले समान ढंगले खोप पाउनु पर्छ भनेरै सरकारले उमेर समूहमा खोप लगाएको उनले बताइन् । तर केही स्थानमा पहुँच देखाएर खोप लगाउने प्रवृत्तिले सरकारी अभियानमा अबरोध भएको उनले टिप्पणी गरिन् । उनले खोपमा भएको बेथितीलाई बेइमानीको संज्ञा समेत दिइन् ।
मन्त्री अधिकारीले हरेक अस्पतालमा कम्तिमा ४ वटा बेडसहितको बाल उपचार कक्ष बनाउन लागेको बताइन् । ‘कोरोनाको तेस्रो लहर आउँदा बालबालिका प्रभावित हुन्छन् भनेर अक्सिजनसहितको एनआइसियु तयारी भएको छ’ उनले भनिन्, ‘प्रदेशको सिमानामा हेल्थ डेक्स राखेर संक्रमण नियन्त्रण प्रयास थालिनेछ ।’
राम्दी र मुग्लिङमा परीक्षण स्थल राखेर पिसिआर गर्ने, संक्रमित देखिएमा उपचारमा पठाउने व्यवस्था गर्न लागेको उनले बताइन् । मन्त्री अधिकारीले धौलागिरी अस्पतालाई २ सय बेड बनाउन सी ब्लक बाधक रहेको देखेको भन्दै निर्माणाधिन भवनको ठेकेदारलाई ताकेता गरेर छिटै सक्न लगाउने बताइन् । पत्रकार सम्मेलन संगठनका सचिव अनिस खातीको अध्यक्षता, सज्जनकुमार सिंहको संचालन र राम थापा अविरलको स्वागतमा सम्पन्न भएको थियो ।
त्यसअघि मन्त्री अधिकारीलाई बागलुङ उद्योग बाणिज्य संघ तथा महिला उद्यमी समुहले स्वागत तथा सम्मान गरेका थिए । उक्त अवसरमा मन्त्री अधिकारीले महिला उद्यमीलाई सक्षम बनाउन पुरुषहरुले सहयोग गर्नुपर्ने बताइन् । सीपमूलक तालिमका लागि भने सरकारले साथ दिने बताइन् ।
संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता, उपमहासचिव थानेश्वर सुवेदीको संचालनमा सम्पन्न कार्यक्रममा उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा र महिला उद्यमी समूहकी अध्यक्ष भगवती केसी लगायतले उद्यमीको अबस्था र सरकारबाट उद्यमीप्रति हेर्ने दृष्टीकोण सकारात्मक बन्नुपर्ने धारणा राखेका थिए ।





