हेर्दाहेर्दै कोरोना भाइरसले कडा रूप लिएर घातक रूपमा फैलिरहेको छ । पहिलेभन्दा परिमार्जित र अझै बढी र तीव्र संक्रामक रूप लिएको छ । जसको संक्रमणले थोरै समयमा संक्रमितलाई मृत्युको मुखमा धकेल्छ । सम्भवतः नेपालमा पनि तेस्रो लहर आइसकेको छ । अहिलेसम्मको अवस्था हेर्दा कोरोना भाइरसले संक्रमण बढाउने केन्द्र भनेको मानव नाक, घाँटीहुँदै शरीरको फोक्सो हो । त्यसैले कसरी हुन्छ संक्रमितले होस वा नहोस् हामीले फोक्सोलाई स्वस्थ र मजबुत बनाउन पर्छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये धेरैजसो होम आइसोलेसनमा छन् । अस्पतालहरुमा अक्सिजन र बेडको अभावबारे जताततै चर्चा चलिरहेको छ । होम आइसोलेसनमा बसेका सामान्य लक्षण देखिएका र लक्षण नदेखिएका संक्रमित मानसिक दवावमा छन् । कतै अक्सिजन आवश्यक पर्ने पो हो कि भन्ने चिन्ता स्वाभाविक रुपमा उनीहरुमा देखिरहेको छ ।
कोरोना संक्रमितमध्ये सबैलाई अक्सिजन, आइसीयू र भेन्टिलेटरको आवश्यकता नै पर्छ भन्ने त छैन । कोरोना संक्रमितमध्ये करिब तीन प्रतिशत जतिलाई मात्रै अस्पतालमा भर्ना गर्न पर्ने हुन्छ । होम आइसोलेसनमा बस्ने संक्रमितको शरीरमा अक्सिजनको अवस्था कस्तो छ भन्नेबारे घरमै बसेर सामान्य तरिकाबाट पनि थाहा पाउन सकिन्छ । घरमा पल्सअक्सिमिटर राखेर नियमित शरीरमा अक्सिजनको मात्रा आफैले नाप्न सकिन्छ । यदी पल्सअक्सिमिटर नभएको खण्डमा योग अभ्यासबाट पनि शरीरमा अक्सिजनको मात्रा थाहा पाउन सकिन सकिन्छ ।
शरीरमा ९० भन्दा तल अक्सिजनको मात्रा पुग्यो भने स्वास्थ्यमा समस्या सिर्जना हुन सक्छ । कोरोना भाइरस संक्रमणका कारण फोक्सोमा अक्सिजनको मात्रा कम भएमा फोक्सो खराब हुने त होइन भन्ने चिन्ताले धेरैलाई सताउन सक्छ । कोरोना संक्रमणले फोक्सोलाई क्षति पु¥याएको छ कि छैन र कोभिडले असर पारेको फोक्सोलाई बिस्तारै सुधार गर्न परम्परागत योगभित्रको प्राणायामको नियमित अभ्यास लाभदायक हुन्छ ।
फोक्सोलाई स्वस्थ राख्न के गर्ने ?
प्राणायाम गर्दा कम्तिमा २० सेकेन्डसम्म सासलाई रोकेर बस्न सकेमा त्यस व्यक्तिको फोक्सोको अवस्था सामान्य छ भनेर बुझिन्छ । होम आइसोलेसनमा बसेका व्यक्तिले प्राणायाम गर्ने र त्यस क्रममा २० सेकेन्डसम्म श्वास रोकेर बस्न सकेमा ती व्यक्तिलाई अक्सिजनको आवश्यकता नपर्न सक्छ ।
होम आइसोलेसनमा बसेको व्यक्तिले २० सेकेन्डसम्म प्राणायाम गर्दा सास रोक्न सक्दैन भने अक्सिजनको आवश्यकता छ भन्ने बुझ्नुपर्छ र स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ ।
शरीरमा अक्सिजनको मात्रा घटेको छ, तत्काल अक्सिजन लिन सक्ने अस्वस्था छैन वा अस्पताल पुग्न सकिँदैन भने केही समयका लागि बिरामीलाई सिधा घोप्टो परेर सुताउँदा फोक्सोमा जोड पर्छ । त्यसपछि अक्सिजनको मात्रा केही बढ्छ ।
अक्सिजन, आइसीयू र भेन्टिलेटरमा उपचार गरेर अस्पतालबाट फर्किनेहरुले दिनमा दुई÷दुई घण्टाको अन्तरमा कम्तीमा ५ देखि १० मिनेट प्राणायाम गर्दा झन् राम्रो हुन्छ ।
प्रणायाम गर्दा सास रोक्ने क्रमलाई २० सेकेण्डदेखि बढाउन कोसिस गर्नुपर्छ । प्राणायाम गर्दा सास रोक्ने क्रममा २० देखि ३० सेकेण्डसम्म रोक्ने प्रयास गर्दा राम्रो हुन्छ । तर, प्रणायाम गर्ने नाममा जबरजस्ती सास रोक्न भने हुँदैन ।
अक्सिजन, आइसीयू र भेन्टिलेटरमा उपचार गराएर घर फर्किएकाको फोक्सोको अवस्था पूर्ण रुपमा पहिलेको जस्तै अवस्थामा फर्किसकेको हुँदैन । उपचारबाट घरमा फर्किएकाले प्राणायाम गर्दा चाडैँ सुधार आउन सक्छ । अस्पतालकै बेडमा उपचार गराइरहेका बिरामीले समेत प्राणायाम गर्न सकिन्छ । अस्पतालबाट कोभिड निको भएर घर फर्किएकाले पिउने पानीमा १ देखि २ ग्राम दालचिनीको धुलो राखेर पिउनुपर्छ । यदि गाउँघरमा हुनुहुन्छ भने दैनिक पिउने २ देखि ३ लिटर पानीमा ५/६ वटा तुलसीका पात राखेर पिउँदा राम्रो हुन्छ ।
दैनिक रुपमा बोझो, हर्रो एक ग्राम, गुर्जो ५ ग्राम नियमित सेवन गरेमा संक्रमितको अवस्थामा सुधार हुन्छ तथा कोभिड हुन नदिनका लागि सहयोग गर्छ ।
स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिले पनि नियमित रुपमा प्राणायाम गर्नुपर्छ । किनभने फोक्सोको क्षमता अनुसार अक्सिजन लिन प्राणायाम सार्थक हुन्छ ।
वर्तमान समयमा आधुनिक प्रविधि भयो भने सबैले तत्काल मान्ने र विश्वास गर्ने तर परम्परागत प्रविधिलाई विश्वास नगर्ने प्रवृति बढेको छ । यस्तै शारीरिक अभ्यासहरू पनि परम्परागत भएमा हत्तपत्त मानिसले वास्ता गर्दैनन् । तर, यही शारीरिक अभ्यास तथा कुनै प्रकारको योगलाई आधुनिक शब्दावली दिएको खण्डमा विश्वास गर्नेको जमात ठूलो भएको उनको देखिन्छ ।
आयुर्वेद शास्त्रमा शरीरलाई चाहिने भिटामिन ‘सी’ अमला, कागती, सुन्तला, अमिला फलबाट पाइन्छ । तर, यस्तै कुनै पब्लिक हेल्थको विज्ञले भिटामिन ‘सी’ खानुपर्छ भनेको खण्डमा भिटामिन ‘सी’ को ट्याब्लेट खान तत्काल तयार हुनेको भिँड यहाँ अनगिन्ती छ ।
वर्तमान समयमा जडीबुटी जेठीमधुबारे अध्ययन भइरहेको छ । गाउँघरमा जेठीमधु प्रशस्त मात्रामा पाइन्छ । कोरोना संक्रमणले प्रभाव गरेको फोक्सोलाई निको पार्नका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न अध्ययनले देखाएको छ । कोभिडबाट हुन सक्ने नोक्सानलाई जेठीमधुले रोक्ने अध्ययनहरुले पुष्टि गरेको छ ।
जेठीमधु खाएपछि कोभिड निको हुन्छ भन्न खोजिएको होइन र अस्पताल जानै पर्दैन भनेको होइन तर संक्रमणबाट हुने नोक्सानलाई कम गर्छ ।
होम आइसोलेसनमा बस्ने संक्रमितले यसो गर्नुस्ः
मनलाई शान्त बताउनु पर्छ । मन शान्त बनाउनका लागि बिहान उठ्नेबित्तिकै प्रणायाम गरौं । लामो सास लिने, जतिसक्दो रोक्ने, त्यसपछि सास फाल्ने क्रम कम्तीमा १५ मिनेट गर्नुपर्छ ।
कोरोना पोजेटिभ भएकाहरुले २ घण्टाको अन्तरमा ५ देखि १० मिनेट प्राणायाम गर्नुपर्छ । शरीरमा अक्सिजनको मात्रामा बढाउन पनि प्राणायाम अभ्यासले सहयोग गर्छ । कोभिडमुक्त भएर आइसियू, भेन्टिलेटरबाट निस्किएकाहरुले पनि यो गर्दा राम्रो हुन्छ ।
प्राणायाम गर्दा म कोरोना मुक्त हुँदैछु म चाँडै ठिक हुँदैछु । मेरो छाती एकदम ठीक छ भन्दै आफैलाई मोटिभेट गर्ने । १ लिटर पानीमा ३÷४ पात पुदिना र तुलसीको पात र ३ देखि ५ ग्राम बेसार हालेर उमालेर त्यसको बाफ ५ देखि १० मिनेटसम्म दिनको दुई पटक लिने ।
झोल कुरा प्रशस्त खाने, २ लिटरमा पानीमा आधा ग्राम पिपला राख्ने, सुठो, अदुवा, तुलसीका पाँच वटा पातलाई थिचेर पानीमा उमालेपछि पिउने ।
मनतातो पानीमा नून हालेर दिनको ४ देखि ६ पटकसम्म कुल्ला गर्ने । सुख्खा खोकी वा घाँटी खसखस भएको खण्डमा १ ग्राम ल्वाङ्गको धूलोलाई मह वा मिश्रीसँग मिसाएर २ देखि ३ पटक सेवन गर्ने ।
मुगको दाल बनाएर प्रशस्त मात्रामा सेवन गर्ने । दाल, भात, तरकारी खाने तर, भातभन्दा बढी गहुँको रोटीलाई खानामा समावेस गर्ने । अहिलेको अवस्थामा कुनै पनि फलफुल प्रशस्त मात्रामा खाने, भिटाभिन सी प्राप्त गर्नका लागि अमला सेवन गर्ने, कागती निचोरेर पानी राखेर नियमित रुपमा पिउने ।
चित्रक हरितकी १ चम्चा (३ देखि ६) ग्राम बिहान बेलुका मनतातो पानी वा मनतातो दूधसँग सेवन गर्ने ।
यष्टीमुध चूर्ण १ चम्चा (२ दुई देखि ४) ग्राम मनतातो पानीसँग दिनको दुई पटक सेवन गर्ने ।
महासुदर्शन चूर्ण (३ देखि ६) ग्राम वा काढा पकाएर ४० एमएल बिहान बेलुका, बिशेष गरेर ज्वरो आएको समयमा पिउने ।
जथाभावी आयुर्वेदिक औषधि सेवन गर्दा स्वास्थ्यमा जटिल समस्या पनि हुन सक्छ । धेरै मानिसलाई आयुर्वेदिक औषधि जति सेवन गरेपनि समस्या हुँदैन भन्ने एककिसिमको भ्रम छ । धुलो औषधिबाहेक रस औषधिको जथाभावी सेवन गर्दा मिर्गौला, मुटु, कलेजो लगायतका अंगहरुलाई नोक्सान पु¥याउन सक्ने भएकाले विषेशज्ञको सल्लाहबाहेक त्यस्ता औषधि सेवन गर्नु हुँदैन ।





