नवलपुर/ नवलपुर सदरमुकाम कावासोती नगरपालिकाका सबै वडाका आफ्नै कार्यालय बन्ने भएका छन् । नगरपालिकाका १७ वटा वडा छन् । स्थानीय सरकार गठनपछि कावासोतीका ४ वटा वडाले मात्रै आफ्नो भवनबाट सेवा दिएका थिए ।
कावासोती १०, १२, १४ र १७ का चार वटा वडा कार्यालय साविकका गाउँ विकास समितिको कार्यालय भवनमै बसेका थिए । त्यस्तै, कावासोती ५, ८, ९ र १५ गरी चार वटा वडा कार्यालयले भने आफ्नै भवन बनाएर सेवा सुरु गरिसकेका छन् ।
अहिले पनि कावासोती नगरपालिका १ र १६ ले वडाको पायक पर्ने स्थानमा रहेका सामुदायिक भवनबाट सेवा दिइरहेका छन् । यी दुई वडाले भवन प्रयोगवापतको भाडा तिर्नुपर्दैन ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले ७ वटा वडा भाडामा रहेको बताए । कावासोती ४ र ७ का दुईवटा भवन बनिसकेको र चाँडै आफ्नै नवनिर्मित कार्यालयवाट सेवा प्रवाह हुने उनले जानकारी दिए ।
कावासोती नगरपालिकाका आर्किटेक इन्जिनियर पवन रुपाखेतीले १, ३ र ११ गरी तीनवटा वडाका भवन निर्माणाधीन अवस्थामा रहेको जानकारी दिएका छन् । उनले वडा नं २ , ६ , १३ र १६ वडा कार्यालय यस वर्ष ठेक्कामा जाने बताए ।
सामुदायिक भवनमा बसेका कावासोती १ को भवन निर्माणका क्रममा रहेको र १६ नम्बर वडाको भवन निर्माणको प्रक्रिया यसैवर्ष पूरा हुनेनगरपालिका उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले जानकारी दिए । ‘अब कावासोती नगरपालिकाका कुनै पनि वडा कार्यालय भाडामा बस्नुपर्ने स्थितिको अन्त्य हुन्छ,’ उनले भने । साविकका गाविस भवनमा बसेका वडा कार्यालय भने अहिले नयाँ बनाइहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
उपप्रमुख मर्दनियाले नागरिकले आफ्नै वडाको पायक पर्ने ठाउँबाट सेवा पाउनुपर्छ भनेर भवन निर्माणलाई प्राथमिकतामा राखिएको सुनाए । उनले ५ वर्षे कार्यकालमा सबै वडाको कार्यालय भवन निर्माण सम्पन्न गर्ने गरी बजेट विनियोजन गरेको पनि सुनाए ।





