स्याङ्जा/गण्डकी प्रदेशका शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गुणस्तरीय र आत्मनिर्भर शिक्षा आफनो प्राथमिकतामा रहेको बताएका छन् । पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालय भवनको शुक्रवार शिलान्यास गर्दे मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
‘बालबालिकालाई मन्टेश्वरी कक्षादेखि नै सामुदायिक बिद्यालयमा पढ्ने बतावरण बनाउनेगरी गण्डकी प्रदेशले शिक्षा नीति बनाएको छ,’ उनले भने, ‘म रहुन्जेल शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछु ।’
शिक्षामा राज्यको लगानी धेरै भए पनि अपेक्षाकृत उपलब्धी हुन नसकेको बताउदै मन्त्री श्रेष्ठले बालबालिकालाई बिद्यालयमा टिकाउने र सिकाउनेसम्मका ब्यवस्था गर्ने प्रतिवद्धता जनाए । स्वतन्त्रता पूर्वक प्रतिस्पर्धा गर्दे सामुदायिक बिद्यालयले गुणस्तरीय शिक्षा दिनु पर्ने उनको भनाई थियो । उनले गुणस्तरीय शिक्षा बिना मुलुकको विकास संभव नभएको जनाउदै उहाले बर्तमान शैक्षिक प्रणालीमा परिवर्तन गर्दे गुणस्तरीय शिक्षाका लागि आफु तयार रहेको सुनाए ।
कार्यक्रममा नेपाली काग्रेस गण्डकी प्रदेश सचेतक भागवतप्रकाश मल्ल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार शेरचन, सदस्य शान्तिदेवी गौतम, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, शिक्षक शिवप्रसाद ढकाल लगायतले बिद्यालयका गुणस्तरीयता बारेमा सुझाव सहित आ आफना धारणा ब्यक्त गरेका थिए ।
नमूना बिद्यालय कार्यक्रम अन्र्तगतको करिब १ करोड ४४ लाखको लागतमा निर्मित भवन १४ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ । दुई बर्षमा भनव सक्ने गरी भवन निर्माणको जिम्मेवारी सीता बिल्डर्सले पाएको बिद्यालयले जनाएको छ ।





